logo
२०८० चैत्र १५ बिहीवार



विमानस्थलमा यात्रु कुरुवा शुल्कको विरोध, बाध्यकारी छैन : प्रवक्ता

पढ्नै पर्ने |
पर्यटन |


विमानस्थलमा यात्रु कुरुवा शुल्कको विरोध, बाध्यकारी छैन : प्रवक्ता


काठमाडौं, चैत १० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुको पर्खाइमा बस्ने कुरुवाले रकम तिर्नुपर्ने बाध्यता नभएको विमानस्थलले जनाएको छ । ५० र एक सय रुपियाँ शुल्क यात्रु कुरुवासित लिने गरेको गुनासो आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ सिटौलाले रकम तिर्न बाध्यकारी नभएको बताउनुभयो ।

यात्रु कुरुवाका लागि बस्ने स्थल नि:शुल्क भएको र थप व्यवस्थित बनाउन विमानस्थलले काम अघि बढाएको सिटौलाले जानकारी दिनुभयो । कुर्सीहरुको थप व्यवस्थापनसँगै जहाजको अवस्था बारे जानकारीका लागि डिस्प्ले समेत राख्ने गरी काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । विमानस्थलले ५१ रोपनी क्षेत्रफल जग्गा निजी संस्था आइएमएस कम्पनीलाई ३० वर्षका लागि लिजमा दिएको छ । कम्पनीले आफ्नो व्यापारिक दृष्टिले रकम तोकेर व्यवस्थित र सुविधासम्पन्न विश्रामस्थल निर्माण गरी रकम असुल गरेको तर त्यो यात्रु कुरुवालाई बाध्यकारी नभएको उहाँले बताउनुभयो ।

यता कुरुवाहरुले भने रकम असुल गरेको भन्दै तत्काल बन्द गर्न माग गरेका छन् । पैसा तिरेर सुविधासम्पन्न कोठामा बस्दा पनि भीड हुने र यसले सबैलाई असर पु-याउने यात्रु कुरुवा आङतेन्जि शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटक लिनका लागि दिनमा १० पटकसम्म विमानस्थल पुग्नुपर्ने हुन्छ । बाहिर उभिएर बस्न सकिन्न भित्र गएर बस्दा महँगो भयो, यसलाई नि:शुल्क र सहज बनाउन उहाँले माग गर्नुभयो ।

अन्य देशका विमानस्थलमा सुविधा दिने गरेको तर हामीले पानीसमेत पिउन नपाउने अवस्था छ, तर पैसा तिरेर मात्र सुविधा लिन पाउने व्यवस्थाले सरकारमाथि प्रश्न गर्नुपर्ने देखिएको शेर्पाको भनाइ छ ।

बस्नलाई पैसा दिनुपर्ने, एक सय रुपियाँ तिरेमात्र भित्र जान पाउने यो परिपाटीले विमानस्थलमा आउनेहरु दुई स्तरका मानिस हुने गरेको आरोप कुरुवाहरुको छ । तर विमानस्थलले भने कुरुवाका लागि घामपानीबाट बच्न सक्ने व्यवस्था गरेको छ ।
आइएमएस कम्पनीले डिलक्स हलका लागि एक सय र सुपेरियर हलका लागि ५० रुपैयाँ तोकेर असुल गर्दै आएको छ । पूर्वाधार निर्माण गरेर व्यवस्थित गरी सहुलियत दरमा शुल्क लिन पाउने गरी सरकारले कम्पनीलाई लिजमा दिएको विमानस्थलले जनाएको छ । भन्सार क्षेत्र, पार्किङ शुल्क, कोठा बहाललगायतका सेवाबाट शुल्क लिन पाउने व्यवस्थता रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?