logo
२०८१ बैशाख ७ शुक्रवार



गाैतमबुद्धसँगै देशका प्रमुख विमानस्थलमा क्यालिब्रेसन उडान गरिने

पर्यटन |


गाैतमबुद्धसँगै देशका प्रमुख विमानस्थलमा क्यालिब्रेसन उडान गरिने


काठमाडौं, मङसिर ४ गते । एरो थाई कम्पनीले मंसिर ६ गते देखि नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएसँगै नेपाल नागरिक उडड्यन प्राधिकरणले देशैभरका मुख्य मुख्य विमानस्थलमा समेत क्यालिब्रेसन उडान गर्ने भएको छ ।

भैरहवाको नवनिर्मित विमानस्थलमा अनिवार्य उडान गर्नु पर्ने भएपछि प्राधिकरणले विराटनगर, नेपालगञ्ज, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा, धनगडी, सिमरा लगायतका मुख्यमुख्य विमानस्थलमा उडान गर्ने प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उडानसम्बन्धी सामाग्रीको जाँच गर्न सञ्चालनमा भएका विमानस्थलहरुको समेत प्रत्येक वर्ष क्यालिब्रेसन उडान गरी जाँच गर्नु अनिवार्य भएको क्षेत्रीले जानकारी दिनुभयो ।

प्राधिकरणले प्रति घण्टा ३६ सय अमेरिकी डलरका दरले उडान गर्ने जनाएको छ । भैरहवा सहित देशैभरका मुख्यमुख्य विमानस्थलमा गरी करिव ५० घण्टा भन्दा बढी उडान गर्नु पर्ने प्राधिकरणले जनाएको छ । यसका लागि करीव दुई करोड १६ लाख भन्दा बढी लागत लाग्ने प्रारम्भिक अनुमान छ । विमानस्थलमा जडान गरिएका बत्ति, प्राविधिक रुपमा जडान भएका सामाग्रीको अवस्था जाँच गर्ने, ग्राउण्ड अवस्था मिलाउन र जहाज अवतरणका लागि सहज बनाउन क्यालिब्रेसन उडान गर्नु पर्ने हुन्छ । जहाजको आविस्कारसँगै नयाँनयाँ प्रविधि जडानसँगै निस्चित भएपछि अवतरण र टेकअप रुटको सबै फ्रिक्वेन्सी तय गरी नियमित उडान गर्ने प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणका प्राविधिक, विमानस्थल निर्माण कम्पनीका प्राविधिक र एरो थाईका प्राविधिकहरु बीच छलफल शुरु भएको क्षेत्रीले जानकारी दिनुभयो ।

इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएसएल) जडित विमानस्थलमा प्रत्येक छ महिनामा र यो सिष्टम जडान नभएको विमानस्थलमा प्रत्येक वर्ष क्यालिब्रेसन उडान गर्नु पर्ने हुन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्राधिकरणले नेपालमै पहिलो पटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएसएल) जडान गरेको छ । प्राधिकरणले हालसम्म एरो थाई, भारत र अमेरिकी कम्पनीहरुसँग मिलेर क्यालिब्रेसन उडान गर्दे आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?