logo
२०८१ बैशाख २० बिहीवार



सहज बन्दै सङ्क्रमण, पर्यटन क्षेत्रको 'रिकभरी प्लान' अझै अन्याेलमा

पर्यटन |


सहज बन्दै सङ्क्रमण, पर्यटन क्षेत्रको 'रिकभरी प्लान' अझै अन्याेलमा


काठमाडौं, फागुन २२ गते । कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ सङ्क्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डसमेत खुकुलो भएको छ । तर पर्यटन रिकभरीका नयाँ योजनाहरु बन्न नसक्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन अझै समय लाग्ने देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र निजी क्षेत्रबाट सञ्चालित नेपाल पर्यटन बोर्ड लगायतका निकायले पर्यटन प्रवर्धन र रिकभरी योजना अझै बनाउन नसकेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले बताउनुभयो । यसअघि नै विश्वभर नै खुला भइसकेको जानकारी भए पनि तत्कालीन र दीर्घकालीन योजना बनाउन नसक्दा पर्यटन क्षेत्र अझै एक वर्ष पर धकेलिने उहाँको भनाइ छ ।

पर्यटन मन्त्रालयले भने यसअघि पर्यटन व्यवसायी राजाराम गिरीको संयोजकत्वमा मन्त्रालका प्रतिनिधिसहित गठित प्राविधिक समिति गठन गरेको थियो । सो समितिले प्रतिवेदन तयारी गरी मन्त्रालयलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनको आधारमा विभिन्न मन्त्रालयका प्रतिनिधिसहित पर्यटनमन्त्रीको अध्यक्षतामा गठित समितिले थप निर्णय गरेर मात्र योजना तय गर्ने पर्यटन महाशाखाका प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । तत्काल पुनरूत्थानका कार्यक्रमहरु नभए पनि नियममित गतिविधिलाई थप प्रभावकारी बनाउँदै लगिएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

यता निजी क्षेत्रबाट पर्यटन क्षेत्रको प्रवर्धनको जिम्मा पाएको नेपाल पर्यटन बोर्डले भने रिकभरी योजना र प्रवर्धनका विशेष कार्यक्रम तय भई नसकेको सहप्रवक्ता मणिराज लामिछाने बताउनुभयो । तर विदेशमा बजार विस्तार, पर्यटन प्रवर्धनात्मक गतिविधि र विश्वभर डिजिटल प्रमोसनका गतिविधि भने निरन्तर गर्दै आएको लामिछाने बताउनुभयो । बोर्डले यसैसाता मात्र बङ्गलादेश टुरिजम बोर्डसँग मिलेर बिजनेस एक्सचेन्ज कार्यक्रम, बङ्गाली ट्राभल मार्ट, निजी व्यवसायीहरुसँग सहकार्य गरेर नेपालगञ्जमा वेष्ट ट्राभल मार्ट आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

अनराइवल भिसा नदिदाँ पर्यटक बुकिङ रद्द
पीसीआर जाँच, सीसीएमसी फारम अनिवार्य गरे पनि कोरोना खोप नलगाएकाहरुले सम्बन्धित देशबाटै भिसा लगाएर आउनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले नेपालको कूटनीतिक नियोग नभएका देशका पर्यटकले भिसा लगाउन अन्यत्र जानुपर्ने र धेरै समय लाग्ने भन्दै यस अघि भएका बुकिङहरु रद्द गर्ने गरेको व्यवसायीहरुले जनाएको छ । एक देशको दूतावासले चार वटा देशसम्म हेर्नुपर्ने र नेपाल प्रवेशमा भिसा लिन दूतावास नभएका देशले अन्यत्र गएर लिनुपर्ने व्यवस्थाले गर्दा बुकिङ रद्द गरी अन्य देशको भ्रमणमा जाने गरेको पर्यटन व्यवसायी लाक्पा शेर्पाले जानकारी दिनुभयो । तत्काल सरकारले यो व्यवस्थालाई सुधार गरेर अनअराइभल भिसाको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ , होइन भने नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी हुने उहाँको भनाइ छ ।

सरकारले नेपाल आगमनलाई सहज बनाएर पर्यटन क्षेत्रको प्रवद्र्धनात्मक योजनाहरु ल्याउनुपर्ने पर्यटन व्यवसायी तथा होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो । आउने हिउँददेखि पुरानै गतिमा पर्यटनक्षेत्र फर्कने विश्वास व्यवसायीहरुले राखे पनि सरकारले आगमनलाई सहज बनाउन नसक्दा अझै अन्याेल नै भएको उहाँले बताउनुभयो । कोरोना महामारीकै बीचमा पनि पर्वतीय पर्यटकको सङ्ख्या उच्च थियो भने पदयात्री पर्यटकको सङ्ख्यामा भने कोरोना महामारीअघिको तुलनामा कमी आएको छ ।


पर्यटक आगमनमा सरकारी नियम नै बाधक
कोरोना भाईरस(कोभिड–१९) संक्रमणदर कम हुँदै गए पनि सरकारले नेपाल प्रवेश गर्ने नियमहरु खुकुलो नबनाउँदा पर्यटक आगमनमा बाधा पुग्दै आएको छ । अधिकांश राष्ट्रले विमानस्थलमा आवागमनलाई सहज बनाए पनि नेपाल प्रवेशमा भने अझै कडाइ गर्दै आएको छ ।

नियम परिमार्जन नहुदाँ पर्यटकको आगमन र बुकिङमा बाधा पुगेको व्यवसायीहरुले बताएका छन् । अझै पनि नेपाल प्रवेशमा अनिवार्य पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट, सीसीएमसी फारम अनिवार्य भर्नुपर्ने र खोप नलगाएका पर्यटकले सम्बन्धित क्षेत्रबाटै भिसा लगाएर आउनुपर्ने जस्ता व्यवस्थाले पर्यटकलाई झन्झट हुने गरेकाले आगमनमा बाधा पुगेको छ ।

अन्य देशको तुलनामङ् नेपाल प्रवेशमा निकै झन्झट हुने गरेको र कर्मचारीले सहज बनाइदिनभन्दा पनि उल्टो दुर्व्यवहार गर्ने गरेको अमेरिकाबाट नेपाल आउनुभएका स्याङमु शेर्पाले गुनासो गर्नुभयो । कोरोना संक्रमण विश्वभर कम भएको छ, बेलायतले पूर्णरुपमा आवतजावतलाई सहज बनाएको छ, तर नेपाल आउन निकै झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएको छ । यो व्यवस्थालाई परिमार्जन नगरे तत्काल नेपालमा पर्यटकको सङ्ख्या बृद्धि हुने सम्भावना छैन तर सहज व्यवस्था भए आउने हिउँदसम्ममा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कने पर्यटन व्यवसायी एवं टानका पूर्व अध्यक्ष सीताराम सापकोटा बताउनुहुन्छ । पर्यटकको बुकिङको धमाधम भएकाले तत्काल नयाँ व्यवस्था लागगर्नु पर्ने उहाँले माग गर्नुभयो ।
नयाँ व्यवस्था ल्याउने बारे सिसिएमसीले निर्णय नगरेको र पुरानै व्यवस्थालाई अनुसरण गरेर काम गर्दै आएको अध्यागमन विभाग, पर्यटक भिसा साखाका अधिकृत जनार्दन रिजालले बताउनुभयो । सङ्क्रमणदर कम भएपछि कार्यन्वयनको अवस्था फितलो भएको छ, यसै अवस्थालाई हेर्दा नयाँ व्यवस्था ल्याए पर्यटकका लागि सहज हुने उहाँको भनाई छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् १९१९ मा एक लाख दुई हजार ४२३ जना नेपाल भित्रिए पनि नेपाल भ्रमण वर्ष २०२० मा भने ९८ हजार १९० जना मात्र भित्रिएका थिए भने सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटक भित्रिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?