logo
२०८१ बैशाख ६ बिहीवार

  दृश्य समाचार  



‘सार्वजनिकस्थल अपाङ्गता मैत्री छैनन्’

भिडियो |


‘सार्वजनिकस्थल अपाङ्गता मैत्री छैनन्’


भिडियो : मनोजरत्न शाही र केशव गुरुङ्ग

काठमाडौं, चैत ९ गते। यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना सबैका लागि अपरिहार्य छ। त्यसमा पनि फरक क्षमता भएका अर्थात् अपाङ्गता भएका महिलालाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा बढी जानकारी दिनुपर्ने दृष्टिबिहीन मोडल सञ्जिया श्रेष्ठ बताउनु हुन्छ। त्रिभुवन विश्वविद्यालयबाट सोसल वर्कमा मास्र्टर्स पढ्दै गर्नुभएकी सञ्जिया केही वर्षदेखि प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

यो क्षेत्रमा काम गर्ने क्रममा अन्य महिलालाई भन्दा अंपागता भएका महिलालाई यौन तथा प्रजनन स्वास्थ्य सचेतनाको खाँचो मसहुस भएको उहाँको भनाइ छ। ‘अन्य महिलाले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा लुकेर भए पनि जानकारी लिनुहुन्छ। तर, अंपागता भएकाले त्यसरी जानकारी लिन सक्दैनन्’, उहाँ भन्नुहुन्छ, ‘उनीहरुलाई परिवारका सदस्य वा साथीभाइले नै जानकारी दिनुपर्छ।’

महिनावारी भएको बेलामा कसरी सरसफाइ गर्ने भन्ने विषयमा थाहा नहुँदा धेरैले विभिन्न स्वास्थ्य समस्या भोग्नु परेको उहाँले बताउनुभयो। ‘अंपागता भएका महिलालाई सानैबाट यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी परिवारले नै दिनुपर्छ’, उहाँले भन्नुभयो।

अपांगता भएका व्यक्तिलाई समाजमा राम्रो व्यवहार नगर्ने गरेको उहाँको अनुभव छ। त्यसमा पनि बौद्धिक क्षेत्र भनिएको स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्थामा पनि अपाङ्गता भएकै कारण विभेद भोग्नुपरेको पीडा श्रेष्ठले साट्नुभयो। ‘हाम्रो समाज पुरातन सोचको छ। स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीको प्रवृत्तिगत सोचको अवरोधका कारण अपाङ्गता भएका महिलालाई सधैँ पीडित भएको महसुस गरेको छु’, उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य संस्थामा अपागंता भएकालाई कुनै सुविधा आवश्यक पर्दैन जस्तै गरेर उहाँहरुले व्यवहार गर्नुहुन्छ।’ अपाङ्गता भएका महिलाको यौन तथा प्रजनन् अधिकारको सुनिश्चितता स्वास्थ्य नीतिमै राख्नुपर्नेमा उहाँको जोड छ।

अपागंता भएका मानिसले राज्यले दिएका सेवा सुविधा लिन पनि समस्या भोग्नु परेको उल्लेख गर्दै श्रेष्ठले सरकारलाई सेवा प्रवाहमा सहजीकरण गर्न सुझाव दिनुभएको छ। ‘सार्वजनिकस्थल अपागंमैत्री छैनन्। अस्पतालको प्रवेशद्वार, टिकट काउण्टर, औषधि लिने ठाउँ, जाँच गर्ने कक्ष, उसलाई परीक्षण गर्नका लागि सुताइने बेड, उसले प्रयोग गर्नुपर्ने शौचालय आदि) पहुँचयुक्त बनाइनुपर्छ’, उहाँले भन्नुभयो।

श्रेष्ठलाई अपांगता भएका महिलाले भोगेका पीडा कम गर्न र सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच स्थापना गर्न आगामी दिनमा काम गर्ने इच्छा छ। ‘त्यसमा पनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा महिलाले भोगिरहेका समस्यालाई प्राथमिकता दिन्छु’, उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि भविष्यमा काम गर्छु।’ अपांगता भएका महिलाले भोगेका समस्या, समाधानका उपायका साथै यौन तथा प्रजनन स्वास्थ्यमा केन्द्रित भएर गोरखापत्र अनालाइको लागि सञ्जिया श्रेष्ठसँग गरिएको भिडियो कुराकानी :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?