logo
२०८१ बैशाख १४ शुक्रवार

  दृश्य समाचार  



क्षयरोगले वार्षिक १६ हजारको मृत्यु हुने अनुमान

भिडियो |


क्षयरोगले वार्षिक १६ हजारको मृत्यु हुने अनुमान


भिडियो मनोजरत्न शाही र केशव गुरुङ्ग
काठमाडौं, चैत १० गते। चिकित्सका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो। क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने वरिष्ठ छातिरोग विशेषज्ञ डा. नवीन प्रकाश शाह बताउनुहुन्छ।

अस्वस्थ्य जीवनशैली तथा खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ। शाहका अनुसार दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हुन्। एक अध्ययनका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ। बर्डन अफ टिबी इन नेपालका अनुसार उक्त तथ्यांकमा नेपालकाे आधा जनसंख्या क्षयरोगबाट पीडित छन्।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको छ। जसमध्ये ६७ प्रतिशत पुरुष ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका रहेका छन्।

राष्ट्रिय क्षयरोग केन्द्रले सार्वजनिक गरेको आर्थिक वर्षका २०७७/७८को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना क्षयरोगका बिरामी उपचारमा छन्। क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा अझै प्रति वर्ष झन्डै ४१ हजार भन्दा बढी मानिसको रोग पत्तालगाई उपचारको दायरामा ल्याउन आवश्यक रहेको केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले जानकारी दिनुभयो। सर्वेक्षणले नेपालमा वार्षिक नयाँ तथा पुराना गरेर एक लाख १७ हजार क्षयरोगका बिरामी थपिन्छन् । १६ हजार बिरामीको मुत्यु हुने अनुमान उक्त सर्वेक्षणले गरेको छ।

केन्द्रको तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत क्षयरोगीको सफल उपचार हुने गरेको छ। नेपाल भरका स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको अति प्रभावकारी औषधि निःशुल्क उपलब्ध छन्।

२४ मार्च अर्थात् आजको दिन विश्वभर क्षयरोग दिवस विभिन्न कार्यक्रम गर्दै मनाइन्छ। नेपाल सरकारले यो वर्ष पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाएको छ। यो वर्षको नारा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने रहेको छ। दिवसको अवसर पारेर राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छातिरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहसँग  गरिएकाे भिडियो कुराकानी :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?