logo
२०८१ मंसिर ६ बिहीवार

  रूस-युक्रेन युद्धकाे त्रासदी  



राति आकाशमा रकेट उडेको देखेँ, त्यसपछि युक्रेन छाडेँ

विदेश |


राति आकाशमा रकेट उडेको देखेँ, त्यसपछि युक्रेन छाडेँ
सुरक्षित शिविरमा रहेका नेपाली



काठमाडौं, फागुन २१ गते । बाराका मुजाहिद्धिन सलमान उच्चशिक्षाका लागि एक वर्षअघि युक्रेन उड्नुभएको थियो । युक्रेनमा उच्चशिक्षा सकेर नेपालमा आएर केही गर्ने सोच थियो,उहाँमा । तर, रुस–युक्रेनबीच जारी युद्धले उहाँको सपनामा तुषारापात ल्याइदिएको छ ।

उच्चशिक्षा सकेर नेपाल फर्कने योजना बुनेर बस्नुभएका उहाँलाई कसरी ज्यान जोगाएर नेपाल फर्किने भन्ने चिन्ताले सताउन थाल्यो । युक्रेनको पोल्तावा सहरमा बसेर उच्च शिक्षा हासिल गरी रहनुभएका उहाँलाई रुस–युक्रेनबीचको आक्रमणले थप चिन्ता दियो । बुबा–आमालाई फोनमा सकुशल रहेको जानकारी गराए पनि बुबा आमाले युक्रेन छाडेर नेपाल फर्कन आग्रह गरेको उहाँ सुनाउनुहुन्छ ।

पोल्तावा छाडेको तीन दिनमा उहाँ अहिले हंगेरी पुग्नुभएको छ । उहाँसँगै सहपाठी झापाका कविराज राई पनि हुनुहुन्छ । हंगेरी पुग्दासम्म उहाँहरुले झेल्नुपरेको मानसिक तनाव र सास्तीको भने कुनै मापन छैन । भारतीय विद्यार्थीहरुसँगै उहाँहरुले पनि युक्रेन छाड्ने आँट गर्नुभएको हो । ‘पोल्तावा क्षेत्रमा हामी दुईजना मात्र नेपाली थयौँ ।

त्यसैले के गर्ने होला भनेर अलमलमा परेका थियौँ ।तर,भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्ने भन्ने थाहा पाएर हामी पनि उनिहरुसँगै युक्रेन छाड्ने निधो गर्यौ’उहाँले भन्नुभयो ‘उक्त क्षेत्रमा बाहिर ननिस्कन आग्रह गरिएको थियो । तर,मर्न लेखेको रहेछ भने जसरी पनि मरिन्छ भन्ने सोच बनाएर हिँडेका हौँ ।’

घरमा आमा–बुबालाई सकुशल रहेको फोनमा बताए पनि रोएको सुन्दा मन थाम्न नै गाह्रो भएको उहाँ सुनाउनुहुन्छ । युक्रेनबाट हंगेरीको यात्रा गर्दा बोर्डरसम्म आइपुग्न निकै समस्या झेल्नुपरेको उहाँ बताउनुहुन्छ । ‘बाटोमा आउँदा प्रहरीले पासपोर्ट चेक गर्दा धेरैबेर रोकेर फर्काउन थाल्यो । पोल्ताओ छाड्दा बमबारीका आवाजहरु आइरहन्थे । कतै हामी भएको ठाउँमा पनि बम खस्ने हो कि भन्ने कुराले मन पिरोलिरहन्थ्यो’उहाँले भन्नुभयो ‘एटिएमबाट पैसा पनि निकाल्न नपाएकाले बाटोमा भारतीय नागरिकले दिएको खाना खाएर बाच्यौँ । अब त हंगेरी आइयाे । यहाँ त हामीलाई धेरै ख्याल गर्नेहरु हुुनुहुन्छ ,बाँचियो भन्ने लागेको छ । घरमा फोन गर्दा पनि आमा–बुबा खुसी हुनुभयो । ’

भैरहवाका उत्तम श्रेष्ठ पनि पढाइको लागि चार वर्ष अघि युक्रेन जानुभएको थियो । पढाइ सँगै उहाँले काम पनि गरिहनुभएको थियो । युक्रेनको ओडेसामा रहँदा रातीको समयमा काम गर्ने शिलशिलामा रकेटहरु आकाशमाथि उडेको देखेको उहाँले सुनाउनुभयो । ‘मेरो काम नाइटमा थियो । दुई–तीन दिन नै राती आकाशमाथि रकेट उडेको देखेँ, त्यसपछि लाग्यो अब त म बसेको क्षेत्रमा पनि यसरी रकेट बम खस्छ । त्यसपछि उक्त क्षेत्र जसरी पनि छाड्नपुर्छ भन्ने लाग्यो’उहाँले भन्नुभयो ‘ओडेसा समुन्द्र नजिक रहेकाले कुन दिन समुन्द्रबाट रुसी सेनाहरु यो क्षेत्रमा आउँछन् र आक्रमण गर्छन् भन्ने मात्र सोच आउँथ्यो ।’

अहिले उहाँ  युक्रेन छाडेर पोल्याण्ड पुग्नुभएको छ । २४ घण्टाको बस यात्रापछि पोल्याण्ड पुगेको श्रेष्ठले बताउनुभयो । युक्रेन र पोल्याण्डको सिमामा समस्या रहेको सुनेको भए पनि आफूले भने त्यो सास्ती खेप्नु नपरेको उहाँले सुनाउनुभयो । ‘पहिले पोल्याण्ड छिरेका व्यक्ति ट्याक्सीमा सीमासम्म आउने गरेको र ट्याक्सीले सीमासम्म नै नल्याई छाडिदिने भएकाले पनि मानिस अलपत्र परेका रहेछन्’उहाँले भन्नुभयो ‘धेरै मानिस रातको समयमा बाहिर नै बस्नुपरेको रहेछ । यहाँ धेरै चिसो छ । धेरै समय बाहिर नै बस्नुपर्यो भने मानिसको ज्यान नै जान सक्छ ।’

भक्तपुरका विवेक श्रेष्ठ पनि अहिले खार्खिभ छाडेर लुभिगमा पुग्नुभएको छ ।अव रेल चढेर हंगेरी जाने तयारीमा रहेको उहाँको भनाइ छ । खार्खिभ क्षेत्रामा रुसी सेना आक्रमण गरिसेको छ । ‘म रहेको खार्खिभ क्षेत्रमा रुसी सेनाले आक्रमण गरेको छ । आक्रमण गर्नुभन्दा केही घण्टा अघिमात्र उक्त क्षेत्र छाडेकाले म बाँच्न सफल भएँ’ उहाँले भन्नुभयो ‘हंगेरी पुग्न पाए त ढुक्कले सास फेर्ने थिएँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?