logo
२०८१ बैशाख ८ शनिवार



नर्स बेलायत लैजाने विषयमा अझै सम्झौता भएन

पढ्नै पर्ने |
खुला |


नर्स बेलायत  लैजाने विषयमा अझै सम्झौता भएन


काठमाडौं, चैत २० गते । केही समयदेखि चर्चामा भए पनि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएको छैन । केही महिना अघि मात्रै नेपाली नर्सलाई बेलायतले रोजगारीका लागि लाने बताएको सरकारले अहिलेसम्म औपचारिक प्रक्रिया अगाडि बढाउन नसकेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अब एक महिनाभित्र नेपाल र बेलायत सरकारबीच नर्स लैजाने विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो । घिमिरेका अनुसार अहिले सहमतिपत्र तयार भएको छ । केही दिनपछि उक्त पत्रमा दुवै देशले हस्ताक्षर गर्ने उहाँको भनाइ छ । त्यसपछि मात्र नेपाली नर्स रोजगारीको लागि बेलायत जाने बाटो खुल्नेछ ।

पहिले दुई हजार नर्सलाई बेलायत पठाउने तयारी भइरहको मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’मा नर्सलाई बेलायत पठाउने तयारी गरेको छ । यसमा निजी क्षेत्रको संलग्नता नरहेको घिमिरे बताउनुहुन्छ । वैदेशिक रोजगारका लागि सिधै सरकार–सरकार ९जिटुजी० संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लगिएको यो पहिलो पटक हो ।

मुख्यसचिव सोमलाल सुवेदीले नेपालबाट विदेशमा नर्स पठाउँदा विदेशी ज्ञान र सीपको विकास हुने भए पनि नेपालमा नर्सको वर्तमान अवस्था बुझेर मात्र निर्णय लिनुपर्ने बताउनुभयो । ‘विदेशमा गएर नेपाली ज्ञान प्रदर्शन गरेर रकम आर्जन हुन्छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर यसरी नर्स पठाउँदा नेपालमा नै जनशक्ति अभाव हुने अवस्था आयो भने यो राम्रो हुँदैन,’ उहाँले भन्नुभयो ।

सरकारले नेपालमा रहेका नर्सको वास्तविक तथ्याङ्क पहिचान गरेर मात्र विदेशमा नर्स पठाउने वा नपठाउने तय गर्नुपर्ने उहाँको भनाइ छ । ‘नेपालमा नर्सको सङ्ख्या कति छ रु कस्ता कस्ता नर्सले सेवा दिइराखेका छन् ? हामीले विदेश पठाउँदा कसलाई पठाउने हो ? भन्ने कुराको पहिचान गरेर मात्र नर्सलाई पठाउने कुराको निक्र्यौल गर्नुपर्छ,’ सुवेदीले भन्नु्भयो, ‘नेपालमा अध्ययन गरेर पासआउट भएका नर्स नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक छ । अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्स विदेश पलायन हुने क्रम बढ्छ । यसले नेपालमा नर्सको अभाव सिर्जना हुन्छ ।’

नेपालमा नर्सको सङ्ख्या ६७ हजार
नेपाल नर्सिङ परिषद्का अनुसार हाल नेपालमा नर्सको सङ्ख्या ६७ हजार  छ । जसमध्ये लगभग २५ हजार विदेशमै छन् । नौ हजारजति सरकारी सेवामा कार्यरत छन् भने लगभग २० हजार निजी क्षेत्रमा आबद्ध छन् । बाँकी सबै बेरोजगारमा रहेको तथ्याङ्कले देखाएको छ । परिषद्का रजिस्ट्रार बिन्दा घिमिरे नेपालमा नर्सको उत्पादन भएअनुसार व्यववस्थापन हुन नसकेको बताउनुहुन्छ । सरकारले नर्सको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

‘नेपालमा पछिल्लो समय नर्सको सङ्ख्या बढ्दै गएको छ । सरकारले उनीहरुलाई देशमै टिकाएर राख्न विभिन्न अवसरको सिर्जना गर्नु जरुरी छ । अन्यथा नर्सहरु व्यक्तिगत रुपमा पनि बाहिरिने सम्भावना बढ्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।

नेपालका अस्पतालमा अहिले पनि आवश्यक मात्रामा नर्स नै नरहेको घिमिरेको भनाइ छ । ‘सामान्यतया एक डाक्टरले जनरल बेडमा पाँच जनालाई मात्र हेर्नसक्छ भने आइसीयूमा एक नर्स बराबर एक बिरामी भनिन्छ । तर, अहिले नेपालमा एक नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो । सरकारले नर्सलाई देशमै टिकाइराख्नका लागि विभिन्न अवसर दिनुपर्छ । सरकारले बेलाबेलामा लोकसेवा आयोगमा परीक्षामार्फत नर्सलाई देशमै टिकाइराख्ने वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ । नर्सको पेसा संवेदनशील भएका कारण नेपालले तयार गरेको जनशक्ति लान बेलायत तयार रहेको उहाँले बताउनुभयो । यसले नेपालको ज्ञान सीप पलायन हुने सम्भावना रहेको घिमिरेको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?