logo
२०८१ बैशाख १६ आईतवार

  पुस्तक समीक्षा  



साहसिक यात्रीको लागि स्पष्ट नक्सा दामोदर कुण्ड

कला |


साहसिक यात्रीको लागि स्पष्ट नक्सा दामोदर कुण्ड


दशैंको विदामा दामोदर कुण्ड नामको पुस्तक हात प-यो । नेपालका प्रमुख र रमणीय तीर्थस्थल मध्यको एक दामोदर कुण्ड पनि हो भन्ने सम्म सुनेकी थिएँ । त्यसको बारेमा खासै गहिरो ज्ञान थिएन मलाई । लक्ष्मण गोदार थापाद्वारा लिखित यो पुस्तक फूलपाति दिनको साँझमा कार्यालयबाट फर्केपछि समाएर बसेँ । शुरुदेखि अन्त्यसम्म नपढेसम्म छोड्न मन नै लागेन ।
पुस्तक पढेँपछि मलाई लाग्यो त्यो पबित्र तीर्थस्थलका बारेमा स्वदेश तथा विदेशमा बसेका हिन्दू तथा बौद्ध धर्माम्बलीले जानकारी पाउनुपर्छ । पदयात्रामा रमाउन चाहने स्वदेशी विदेशीका साहसिक पर्यटकका लागि त्यस क्षेत्रको पदयात्रा अत्यन्तै रोमाञ्चक बन्न सक्ने रहेछ भन्ने पनि लाग्यो । त्यस स्थानमा बारेमा थप प्रचारप्रसार भएमा समग्रगण्डकी प्रदेशको पर्यकीय क्षेत्रमा थप योगदान पुग्नेनै छ ।
भौगोलिक, वातावरणीय, धार्मिक खोज, अन्वेषण र अनुसन्धानकर्ताको लागि पनि त्यस स्थानको उत्तिकै महत्व रहेको पुस्तक पढ्दा अनुभूति भयो ।
गण्डकी प्रदेशको धौलागिरि अञ्चलमा पर्ने हिमाल पारीको जिल्ला भनेर चिनिदैं आएको मुस्ताङको मुक्तिनाथ गाउँपालिका उत्तर पूर्वमा बराबुँङ पर्ने रहेछ । जहाँ दामोदर कुण्ड, नरसिंह कुण्ड लगायत अन्य कतिपय धार्मिक कुण्ड रहेको तीर्थयात्री गौतमले पुस्तकमा बर्णन गर्नु भएको छ । दामोदर कुण्ड र नरसिंह कुण्ड पवित्र कालिनदिको मुहान हुन् । शालिकग्राम पाइने पवित्र क्षेत्र हुन् ।
समुन्द्र सहतबाट चार हजार आठ सय मिटरको उचाइमा गौमुखी हिमाल, दामोदर हिमाल र भृकुटी हिमालको काखमा रहेको यो स्थलसम्म पुग्दो स्वर्गीय आनन्द र विजयी भावको वर्णन जसरी पुस्तकमा गरिएको छ पुस्तक पढ्नेलाई स्वयं आफू नै हिड्दै गरेको अनुभूति हुन्छ ।
तीस अध्याय बनाएर तयार गरिएको पुस्तकमा तीर्थयात्री गौतमले ललितपुरको महालक्ष्मीस्थानबाट सुरु भएको तीर्थयात्राका हरेक दिनलाई दैनिकीको रुपमा प्रस्तुत गर्नुभएको छ ।
पुस्तकमा पढ्दै जाँदा त्यस्तो स्थानमा पुग्दासम्म बाटाहरुमा जहाँतही खानेकुराहरु सहजै नपाइने हुँदा तागतिला नुनिला गुलिया खानेकुरा बोक्नु पर्ने , सजिला बलिया जुत्ता, न्याना कपडा ओढ्ने र ओछ्याउने स्लीपीङ ब्याग, प्लाष्टिक, वर्षदि, बाटैमा बास बस्नु पर्दाको अवस्थामा टेन्ट, आवश्यक औषधि, सन्सक्रिम, घाममा लगाउने चश्माहरु बोक्नु पनि सुझाउनु भएको छ ।
लेखकका अनुभूतिमा स्थानीय पदप्रदर्शक नहुँदा तीर्थयात्री टोली झण्डै साता घण्टाको गलत बाटो हिडाइको कारण अत्यन्तै दुख पाएको बर्णनबाट बाटामा उपलब्ध हुने घोडा ब्यवसायीहरुको साथ सहयोग लिनु पर्ने पनि बुझिन्छ । यतिमात्र पनि होइन त्यस क्षेत्रमा जानेहरुले केही थान जस्ता पातामा बाटाका दिशा संकेत हुने साइन बोर्ड बनाएर राखिदिँदै हिड्ने हो भने पनि त्यसपछि जाने यात्रीलाई निकै सहज हुने रहेछ भन्ने पनि पुस्तक पढ्दा लाग्यो ।
जेठको अन्तिम दिन र असारको पहिलो साता गरिएको उक्त तीर्थयात्राको वर्णनमा अनकण्टर, निर्जन जंगल, खोलाकोे बगर, उच्च हिमाली चौर, भिर पाखाको घिस्राई,निष्पट्ट अन्ध्यारो रातमा घोडचढीको अनुभूतिको जसरी बर्णन गरिएको त्यो पढ्दा आङ सिरङ नै हुन्छ । कुनै थ्रिलर फिल्म हेरे जस्तो लाग्छ । अन्य समयमा अत्यन्तै हिँउ पर्ने उक्त स्थानको भ्रमण चैतदेखि कात्तिक अगावै गर्नु लेखकले सुझाउनुभएको छ । त्यहाँ जाँदा बाटामा पर्ने गलेश्वर, म्याग्दीको तातोपानी, मुक्तिनाथ दर्शनलाई पनि एकै साथ गर्न सकिने छ ।
तीर्थस्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको मूल्य १५० रुपियाँ तोकिएको छ । दामोदर कुण्डको यात्रामा जान चाहने जो कोहीले जानु पूर्व यस पुस्तकको अध्ययन गरेमा यात्रा निकै सहज हुनेछ । बाटाघाटाका स्पष्ट नक्सा हेरेजस्तै हुने छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?