logo
२०८१ बैशाख १६ आईतवार



दुर्लभ चीरसँग जम्काभेट

विचार/दृष्टिकोण |


दुर्लभ चीरसँग जम्काभेट


कृष्णप्रसाद भुसाल

कालिज प्रजातिका चरा समूहमा पर्ने सुन्दर पन्छी चीर विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित चरा हो । नेपालमा कालीगण्डकी नदी पश्चिमको मध्य पहाडमा १५ सयदेखि तीनहजार ५० मिटरसम्मको उचाइमा अभिलेख गरिएको यो चरा नेपालबाहेक भारत र पाकिस्तानमा मात्र पाइन्छ । मध्यपहाडका भिराला घाँसे तथा छरिएका रुख भएका चट्टानी पहराहरूमा बस्ने चीर मुख्यतया चोरीशिकार र बासस्थान विनाशले लोप हुने अवस्थामा छ । मासुका लागि यसको अवैध शिकार
हुने गरेको छ ।
गत मङ्सिरको अन्तिम साता म, मेरा साथीहरू मित्र पाण्डे र टेक घर्ती मगरको टोली अर्घा महìवपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा चरा अनुसन्धानको लागि निस्कियौ । नेपालमा चराको अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्ने संस्था नेपाल पन्छी संरक्षण सङ्घ र चरा संरक्षणमा विश्वव्यापी काम गर्ने छाता संस्था बर्डलाइफ इन्टरनेसनलले चरा र जैविक विविधताले उत्कृष्ट ३७ वटा यस प्रकारका क्षेत्र नेपालमा घोषणा गरेको छ । अर्घाखाँची जिल्लाको उत्तरी भेग पनि लोपोन्मुख डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल, लोभिपापी गरुड र घेघरी घाँसेफिस्टो जस्ता चराको बासस्थान भएकोले महìवपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषित भएको हो । हाम्रो उद्देश्य यस क्षेत्रमा पाइने चराका प्रजातिको अभिलेख गर्ने र पछिल्लो अवस्था पत्ता लगाउनु थियो । पहिलो दिन, बिहान सात बजे सन्धिखर्कबाट सुरुवात गरिएको चरा अवलोकन १२ सय मिटरबाट करिब २३ सय मिटर उचाइमा रहेको घोर्लासी डाँडाको टुप्पोसम्म पुग्दा दिउँसोको एक बजिसकेको थियो । उक्त अवधिमा हामीले ९६ प्रजातिका चराको अभिलेख गरिसकेका थियौँ जसमध्ये १९ प्रजाति त्यस क्षेत्रमा पहिलोपटक अभिलेख भएका थिए । एकछिन घोर्लासीको चुचुरोबाट मनोरम दृश्य र आकाशमा कावा खाँदै उडिरहेका हाडफोर गिद्ध, हिमाली गिद्ध, गोमायु महाचील र मोरङ्गी चील अवलोकन गरी घोर्लासीको दक्षिण पश्चिमको पाखोबाट तल ओर्लने निधो ग¥यौँ ।
सन्धीखर्क र भुमिकास्थान नगरपालिकाका थुपै्र गाउँमा खानेपानीको उपलब्धता घोर्लासी पहाडका मूलहरूबाट हुन्छ । यिनै पानीका मुहानहरूको आसपासमा चराहरूको विविधता पनि बढी हुने हँुदा हामी पानीका मुहानक्षेत्रहरूलाई अलि बढी ध्यान दिइरहेका थियौ । यस्तै एउटा पानीको मुहानतर्पm तल झर्दै गर्दा बुट्टयानको झाडीभित्रबाट कोक–कोक गरेको आवाज आयो । चरा अवलोकनमा आँखा जत्तिकै चनाखो कान पनि राख्नुपर्दछ किनकि अधिकांस चरा आँखाले देख्न कठीन हुन्छ जसको पहिचान तिनको आवाजबाट गर्नुपर्ने हुन्छ । उक्त आवाज आएतिर चियाउदै थियौं, टेकले भनिहाल्नुभयो – अहो चिर ! कौतुहल र उत्साहको पारो ह्वात्तै बढ्यो । ए हो र, शंकामिश्रित प्रश्न गर्न नपाउँदै एउटा चीर फुर्र गर्दै झाडी बाहिर निस्कियो र घाँसे चट्टानी पहरामा छेलिंदै नेटो काट्यो । हेर्दा हेर्दै ओझेल प¥यो, फोटो खिच्न सकिएन । करीव १० वर्ष अघि मेरो स्नाकोत्तरको शोधकार्य अध्ययनको बेला घोर्लासी नजिकैको पहाड घेराभिरमा चीर यसै गरी देखेको त थिएँ तर त्यतिबेला पनि मैले फोटो खिच्न सकिनं । हुन त यस दुर्लभ र अत्यन्तै लजालु चराको नेपालमा बढीमा १० जनाले मात्र फोटो खिचेका छन् होला । दुर्लभ चरा, त्यो पनि सम्भावित ठाउँ भन्दा बाहिर भेटिएको प्रमाणित गर्न निश्चय नै फोटो, आवाज वा कुनै अखेटोपाहार सहयोगी हुन्छ । त्यसैले मैले त्यति बेला देखेको चीरको अभिलेखलाई मेरो शोधपत्रमा त राखेँ तर धेरै चरा
विज्ञहरूले प्रश्न गरिरहे ।
प्रायः जोडीमा रहने चीरको अर्को साथी पक्कै पनि झाडीमै लुकेको हुनुपर्छ भन्ने अनुमानले दुई क्यामेरा फोटो खिच्न र एक मोबाईल भिडियोको लागि तयारी अवस्थामा राखी आवाज आएको ठाउँतिर पछ्याउन थाल्यौं । नभन्दै त्यहाँबाट अर्को चीर पनि निस्कियो जुन सम्भवतः माऊ हुनुपर्छ किनकि उसले बच्चा बोलाउँदै पहारातिर उक्लियो र उसलाई पछ्याउदै बच्चा पनि पछि पछि लागे । दुई माऊ र दुई गत वर्षको बच्चासहित चीरको एक पूर्ण परिवारसँग दर्शनभेट भयो । यस वर्षको प्रजनन समय अभैm सुरु भैनसकेकोले बच्चाहरू पनि माऊसँगै थिए । नजिकैबाट धित् मरुञ्जेल चीर हेर्न र सौभाग्यवस फोटो पनि खिच्न भ्याइयो । दशौं वर्ष अघिबाट अर्घाखाँचीमा चीर पाइन्छ भनिरहे पनि फोटोसहित प्रमाणित गर्न पाउँदाको त्यो जम्काभेटको खुशी शब्दमा वर्णन नै गर्न सकिंदैन ।
चीरसँग जम्काभेट भएको स्थान समुन्द्री सतहबाट १८ सय ७२ मीटर उचाइमा छ जुन सन्धीखर्क नगरपालिका वडा नं. ९ मा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पश्चिम भाग, ढोरपाटन शिकार आरक्ष र मदाने संरक्षित वनको आसपासमा मात्र अभिलेख गरिएको चीरको यो अभिलेख यसको वितरण क्षेत्रमा सबभन्दा दक्षीणी अवस्थिति हो । करीव २० मिनेटको त्यो रोमाञ्चक क्षणपछि त्यहाँको बासस्थान विश्लेषण र अन्य चराको अवलोकनमा लाग्यौं । उक्त स्थानबाट करीव एक सय मिटर तल झर्दा बाटोको छेउमै कालिज लगायतका चराहरू लक्षित पासोहरू थापेको भेटियो । केही समय अघि चीर भेट्दाको खुशी र उत्साह एकाएक चिन्ता र निराशामा परीवर्तन भयो । त्यस्ता पासोहरू भत्काउँदै बस्तीतिर झ¥यौं र भेटे जतिलाई चराको महत्व र अवैध चोरीशिकार रोक्न अनुरोध ग¥यौं । त्यसपछि तीन दिनसम्म घेराभिर, नरपानी र बागी खोला क्षेत्रमा गरिएको अध्ययनले अर्घा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा दुई सय ३९ प्रजातिका चरा अभिलेख भएको छ जसमध्ये सात प्रजातिका चरा विश्वमै दुर्लभ छन् ।
चराहरूको प्रजातिगत विविधता उच्च भए पनि चोरीशिकार र बासस्थान बिनास चुनौती विद्यमान छन् । चोरीशिकार नियन्त्रणको लागि समुदाय सचेतना र अपराधीलाई कानुनी दायारामा ल्याउनु प्राथमिक आवश्यकता छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षीत पन्छीलाई मार्ने, अण्डा नष्ट गर्ने अथवा व्यापार गर्नेलाई पाँच सयदेखि एकलाखसम्म जरिवाना अथवा तीन महिनादेखि दुई वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानुनी प्रावधान छ ।
देशको बदलिंदो संरचनामा स्थानीय सरकार स्वायत्त र शक्ति सम्पन्न भएको वर्तमान अवस्थामा आफ्नो क्षेत्रको प्राकृतिक स्रोत र साधनको पहिचान, संरक्षण, दिगो उपयोग र प्रवद्र्धनमा पनि जोड दिनुपर्दछ । स्थानीय सरकारले यस्ता महत्वपूर्ण क्षेत्र र दुर्लभ पन्छीको संरक्षणलाई समुदायको सहभागितामुलक संरक्षण अभियान र पर्यापर्यटन प्रवद्र्धन सँगसँगै अघि बढाउन समन्वयकारी तथा अभिभावकीय भूमिका खेल्नु पर्दछ । डिभिजन वन कार्यालय अर्घाखाँचीले सुरुवात गरेको वन्यजन्तु संरक्षणको लागि समुदाय सचेतना अभियान सराहनीय छ । बहुपक्षीय सरोकारवाला निकायको समन्वय र हातेमालोबाट नै यस्ता दुर्लभ चराहरूको दिगो संरक्षण र भावी पुस्तालाई सुरक्षित हस्तान्तरण सम्भव छ ।
(लेखक पन्छी विज्ञ हुनुहुन्छ )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?