logo
२०८१ बैशाख ८ शनिवार



मैत्रीपूर्ण खेलमा तनावपूर्ण ब्यवहार

फिचर |
फुटबल |
खेलकुद |


मैत्रीपूर्ण खेलमा तनावपूर्ण ब्यवहार


काठमाडौँ, माघ १८ गते । नेपालले अफ्रिकी देश मोरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् ।

दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मोरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले १–० गोलले जित्यो । १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नेपालको जितमा प्रयाप्त भयो । डिबक्सभित्र घम्साघम्सीबीच पुजन नगरकोटीले उपलब्ध गराएको बलमा सुजलले पोस्ट नजिकबाट जाली चुमाउनुभएको थियो । नेपालका लागि सुजलको यो अन्तर्राष्ट्रिय तेस्रो गोल हो ।

नेपालको अग्रतापछि जोसिएको मोरिससले लगत्यै पेनाल्टी पाएको थियो । मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहारलाई नेपालका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले सजिलै विफल पार्नुभयो । ११औँ मिनेटमा नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेजलाई डिबक्सभित्र लडाएपछि मोरिससले पेनाल्टी पाएको थियो ।

पहिलो खेलको तुलनामा दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको मोरिससको थप शसक्त प्रहारमा नेपालका गोलरक्षक किरण बाधक बन्नुभयो । किरण ‘म्यान अफ दि म्याच’ बन्नुभयो । उहाँले ७५ हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो ।

थप तनावपूर्ण दोस्रो हाफ

दोस्रो हाफमा खेल थप तनावपूर्ण बन्यो । दोस्रो खेलमा मोरिससले अघिल्लो खेलमा कोरोनाका कारण नखेलेका चार खेलाडी खेलाएको थियो । मोरिससले दोस्रो हाफमा नेपाललाई कडा चुनौती दिएको थियो ।

८०औँ मिनेटमा दुवै तर्फका खेलाडी एक आपसमा हात हालाहालको अवस्थामा पुगे । कार्डको बर्षा भएको खेलमा मोरिससले नौ र नेपालले १० खेलाडीमा खेल सकाए । रेफ्री नविन्द्र महर्जनलाई खेल कन्ट्रोल गर्न हम्मेहम्मे परेको थियो ।

खेलाडी टसलमा उत्रिएपछि मोरिससका एडरिन बोटबर र इमानुल फुलचन्ड तथा नेपालका पुजन उपरकोटीले दोहोरो पहेँलो (रातो) कार्ड पाउनुभयो । पुजनले विपक्षी खेलाडीको मुखमा बलले हानेपछि झगडाले चर्को रुप लिएको थियो ।

मैदानभित्र खेलाडीबीच चलेको द्वन्द्वमा सामेल हुन पुगेपछि नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाउनुभयो । कार्डको बर्षा भएको खेलमा नेपालले चार र मोरिससले सात वटा पहेँलो कार्ड पाएको थियो ।

तनावकै बीच खेलको अन्तिममा रंगशालाको फ्लड लाईट पूर्ण रुपमा नबलेपछि खेल १० मिनेट रोकिएको थियो । विजुली बत्ती गएर स्कोर बोर्ड समेत पूर्णब न्द भएपछि रेफ्री नवीन्द्रले १० मिनेट खेल रोकेर पुनः सञ्चालन गर्नुभएको थियो ।

मोरिसससँगको खेलसँगै रक्षक नवीन गुरुङले डेब्यु गर्नुभएको छ । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा मोरिससलाई १–० गोलले नै हराएको थियो । पहिलो खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।

फुटबलमा तनाव स्वभाविक : अल्मुताइरी

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबल खेलको क्रममा मैदानमा तनाव हुनु स्वभाविक भएको बताउनुभयो । ‘फुटबलमा कहिले काँही यस्तो हुन्छ । मैदानमा हार वा जितले तनाव पैदा हुन्छ । नियन्त्रण गर्न र सम्हालिन नसक्दा त्यस्तो हुन्छ,’ अल्मुताइरीले भन्नुभयो ।

उहाँले आफुले दुवै खेलमा जितको आशा नगरेको पनि बताउनुभयो । ‘मलाई दुवै खेलमा जित निस्किन्छ भन्ने लागेको थिएन । एक जित र एक हार वा एक जित र एक बराबरी होला भन्ने लागेको थियो । तर दुवैमा जित निस्कँदा खुशी छु । यसले नेपालको फिफा वरीयतामा सुधार गर्नेछ । आजको खेलले शारिरिक रुपले बलियो खेलाडीसँग पनि नेपालले खेल्न सक्छ भन्ने प्रमाणित भएको छ । टोलीमा डेब्यु गरेका नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन्,’ अल्मुताइरीले भन्नुभयो । कोरोनाको संक्रमण हुने डरले पनि आफुले यस खेलका लागि दुई टोली तयार पारेको उहाँको भनाई थियो ।

यसैगरी मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली खेलाडीले अनावश्यक रुपमा उत्तेजित बनाउँदा खेलमा तनाव उत्पन्न भएको बताउनुभयो । ‘पहिलो खेलको तुलनामा खेलाडीले धेरै राम्रो खेले । मौका लगातार पाएको हो । पेनाल्टी मिस हुनु हारको अर्को कारण बन्यो । खेलमा तनाव हुनुको दोष रेफ्रीलाई दिएर हुँदैन । दशरथ रंगशालाको पिच पनि त्यति राम्रो थिएन । हामीले साँढे दुई बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौँ । अब सुधार गर्दै जानेछौँ, टोनीले भन्नुभयो, ‘नेपालको आतिथ्य र अनुभव राम्रोसँग सँगालेर राख्नेछौँ ।’

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?