logo
२०७९ जेष्ठ १२ बिहीवार



माघ महिनामा स्वस्थानी महिमा

विचार/दृष्टिकोण |


माघ महिनामा स्वस्थानी महिमा


विश्वनाथ खरेल
यो बेला नेपाली घरआँगनमा श्रीस्वस्थानी व्रत कथाको अवसर हो । यतिबेला नेपाली श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्याह्न र साँझ बढो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्छन् । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दु धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने, सुनाउने चलन छ । मूलतः सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकाङ्क्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।

व्रतालुले पौष शुक्ल पूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर व्रत सुरु हुन्छ । माघ शुक्लपूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितछोरालाई, मितछोरा पनि नभए मेरो फलानो इच्छा, आकाङ्क्षा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । यसरी विधिपूर्वक महिना दिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकाङ्क्षा सिद्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई परलोकमा समेत मोक्ष प्राप्त हुने कुराको उल्लेख स्कन्दपुराणको केदारखण्ड र माघमाहात्म्य, पद्मपुराण आदि ग्रन्थले गरेका छन् । यसर्थ यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । काठमाडौँको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अङ्गपतन भएको मानिने धार्मिक स्थलहरू हुन् । यसै समयमा यी पवित्र स्थानमा श्रद्धालुजनको घुइँचो लाग्ने गर्दछ । ती स्थानमा एक महिनाभर मेला पनि लाग्ने गर्दछ ।

स्वस्थानी शब्द स्वस्थानमा ई प्रत्यय लागेर बनेको हो । स्वस्थान भन्नाले आफैँमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ आफ्नै वरपर रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका हिन्दुले मात्र मनाउने र स्वस्थानी व्रत कथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किराँतेश्वर, बागमती नदीलगायतका क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वका रूपमा स्वस्थानी व्रतलाई लिइन्छ । यसरी महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महìव धार्मिक एवं आध्यात्मिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ ।

हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनका निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । यसमा अहङ्कारले विनाश गराउँछ भन्ने उपमाका लागि महादेवको बाहिरी स्वरूपलाई मात्र हेरेर आफ्नी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसङ्ग स्वस्थानीमा छ । यसमा महादेवलाई नाना प्रकारले गाली एवं निन्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कुण्डमा हाम्फाली प्राण त्याग गरेको एकातिर छ भने अर्कोतिर नवराजकी स्त्री चन्द्रावती आफ्ना पति राजा भएको खबर सुनी चाँडोभन्दा चाँडो भेट्न लालयित भएकी उनले स्वस्थानीको प्रसाद अहङ्कार गरेको कारणले गर्दा ठूलो दुःख र कष्ट पाउनु प¥यो । त्यसरी नै यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नीबीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाङ, धतुरोको हिफाजतसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पति प्रेम दर्शाउँछ । यसर्थ देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अङ्ग पतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम एकपक्षीय मात्र होइन भन्ने सन्देश पाइन्छ ।

त्यस्तैगरी यस कथामा परस्त्रीलाई आँखा गाड्नु हुँदैन भन्ने कुराको बोध पनि यहाँ स्पष्ट हुन जान्छ । जब कि जालन्धरले पार्वतीलाई छल गर्न गएको प्रसङ्गबाट छर्लङ्ग हुन्छ । यस कथामा पितृभक्तिको राम्रो किसिमको सन्देश पनि दिएको पाइन्छ । नवराज गर्भमा रहेको बेला उनका पिता शिव शर्मा सुत्केरी खर्च जुटाउन विदेशिएकाले नवराजले आफ्ना बाबुको खोजखबर गरी मरेको पत्ता लगाई पितृको उद्धार गर्ने कार्य गरे । अपितु धर्मशास्त्रमा भनिएको पनि छ, कुनै पनि पुत्रले पितृको उद्धार नगरी आफ्नो सुखभोगमा मात्र लाग्छ भने त्यो मनुष्य जहाँसम्म चन्द्रसूर्य रहन्छन्, जहाँसम्म पृथ्वी रहन्छिन्, तहाँसम्म घोर नरकमा पर्छ । यसैगरी स्वस्थानी कथाले पनि कसैमाथि पनि पूर्ण विश्वास गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको पाइन्छ । जबकि पार्वतीलाई छकाउन महादेव किराँत रूप भई जङ्गलमा बसेको थाहा पाई पार्वती पनि किराँतिनी रूप भई महादेवलाई आकर्षित गर्दा महादेव ती किराँतिनी पार्वतीसँग विवाह गर्न तयार भए तर किराँतिनी रूप धारण गरेको पार्वतीले आफ्नो घरमा जाऔँ भनेर आफ्नो पिताको (हिमालय पर्वतको) घरमा लग्दा महादेव लज्जित भएका जस्ता कुरा स्वस्थानीको कथामा पाइन्छ ।

हाम्रो समाजमा स्वस्थानीको महिमा ठूलो र महìवपूर्ण छ । जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छ भन्ने प्रसङ्गले पनि हिन्दु धर्मावलम्बीलाई गहकिलो सन्देश दिन खोजेको बुझिन्छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी माहात्म्यको पूर्व भागमा दक्ष प्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसङ्ग छ भने मध्य भागतिर हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिका रूपमा प्राप्त गरेको प्रसङ्ग आएको छ ।

स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसङ्गबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैँ मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुने कुरामा कसैको दुईमत नहोला । अतः हाम्रो समाजमा चलिआएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृति तथा विसङ्गति हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशका रूपमा
लिन सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?