भउचप्रसाद यादव
काठमाडौँ, पुस २० गते । मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।
त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ । जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन ।
समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । अहिले त्यहाँ काम भइरहेको छ ।
पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ ।
इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) कम्पनीले सम्भाव्यता अध्ययन गरेको हो । सुरुङमार्गहरूको पूर्वसम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्यान्ड–नर्थ स्टारबीच सम्झौता भएको थियो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मुलुकको सडक यातायात सुरुङमार्ग युगोन्मुख भएको बताउँदै मुलुकको सडक सञ्जाललाई छोटो, सहज र जोखिममुक्त बनाउने प्रयास स्वरूप सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखी यसको निर्माण प्रक्रियालाई अगाडि बढाइएको बताउनुभयो ।
अहिले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म र थानकोटदेखि मकवानपुरको चिल्लाङसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य सुरु भइसकेको जानकारीसमेत उहाँले दिनुभयो । चालू अर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा चालू १३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको छ । चालू आवमा सुरुङमार्गको अध्ययनका लागि ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
सूर्यविनायक–धुलिखेल सुरुङमार्ग
त्यसैगरी सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक स्रोतमा एक वर्षअघि नै सम्भाव्यता अध्ययन गरी प्रतिवेदनसमेत तयार भइसकेको छ । अध्ययनले सो सुरुङमार्ग निर्माण सम्भव देखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भक्तपुरको पलाँसेदेखि धुलिखेलसम्म करिब डेढ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ‘जाइका’ले एक वर्षअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । सो सुरुङमार्ग निर्माणका लागि सरकारले अहिले निर्णय गर्न नसकेका कारण थप प्रक्रिया अगाडि बढाउन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
पाल्पाको सिद्धबाबा सुरुङमार्ग
‘मृत्यु मार्ग’का रूपमा चिनिने बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ‘ग्लोबल टेन्डर’ आह्वानको तयारी भइरहेको र अबको एक महिनाभित्र टेन्डर आह्वान हुने जानकारी महानिर्देशक शर्माले दिनुभयो । यो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी)ले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको हो । मुलुकभरिका सुरुङमार्गहरूमध्ये पाल्पाको सिद्धबाबा पहिलो प्राथमिकतामा रहेको सडक विभागले जनाएको छ । चालू आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा यो सुरुङमार्ग प्राथमिकतामा छ ।
कुल एक दशमलव १२६ किलोमिटर लम्बाइ र साढे आठ मिटर चौडाइ हुने सो सुरुङमार्गको निर्माण कार्य निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ । अर्थ मन्त्रालयले सो सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपियाँको स्रोत सुनिश्चितता सहितको पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएपछि सो सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको हो ।
अर्थ मन्त्रालयले मङ्सिर २ गते भौतिक मन्त्रालयलाई सो सहमतिपत्र पठाएको थियो । भौतिक मन्त्रालयले सो सुरुङमार्ग निर्माण गर्न आर्थिक स्रोत सुनिश्चितताको सहमति अर्थ मन्त्रालयसँग माग गरेको थियो । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम ‘डिजाइन एन्ड विल्ड मोडालिटी’मा सो सुरुङमार्गको निर्माण प्रक्रिया अगाडि बढाउने स्वीकृतिपत्रमा उल्लेख गरिएको छ ।
थानकोट–चित्लाङ सुरुङमार्ग
काठमाडौँको थानकोटदेखि मकवानपुरको चित्लाङसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य सुरु भइसकेको जानकारी सडक विभागका महानिर्देशक शर्माले दिनुभयो । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो सुरुङमार्गको अध्ययन भइरहेको छ । त्यसैगरी सेती राजमार्ग अन्तर्गतको बीपीनगर–खुटिया–दिपायल खण्ड, सिन्धुलीको खुर्कोट–चियाबारी, गोदावरी कुण्ड–मानेचौरमा समेत सुरुङ निर्माणका लागि सडक विभागको तìवावधानमा पूर्वसम्भाव्यता अध्ययन कार्य अगाडि बढाइएको छ ।
टोखा–छहरे सुरुङमार्ग
काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन कार्य सुरु भइसकेको छ । चिनियाँ प्राविधिक टोलीद्वारा अध्ययन कार्य भइरहेको छ ।
सो सुरुङमार्ग अध्ययनका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । टोली तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउने तयारी छ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपियाँ लाग्न सक्ने अनुमान गरिएको छ ।
सुरुङमार्गको निर्माणपछि अढाइ घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिं फाँटसम्म पुग्न सकिनेछ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिं फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ ।
चालू बजेटमा सुरुङमार्ग
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उत्तर र दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो रसुवागढी–गल्छी–ठोरी मार्गको वेत्रावती–स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गर्न र टोखा–छहरे–गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।