logo
२०८० चैत्र १६ शुक्रवार



सडक नबन्दा थुप्रियो फोहोर

खुला |


सडक नबन्दा थुप्रियो फोहोर


काठमाडौँ, चैत २५ गते । पासाङ ल्हामुु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण सुरु भएको आठ वर्ष बित्दासमेत अलपत्र छ । सम्बन्धित निकायको बेवास्ता र निर्माण कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण अलपत्र परेको हो । सडक नबन्दा राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा फोहोरको थुप्रो बढ्दै गएको छ ।

सडक निर्माणको माग गर्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरी सो सडक खण्डको मुड्खु भञ्ज्याङदेखि तीन पिप्ले खण्डमा फागुन १ गतेदेखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँको फोहोर सिसडोल पु-याउनुपर्ने हो । तर पासाङ ल्हामु राजमार्ग सुधार सङ्घर्ष समितिका अध्यक्ष भवनाथ गजुरेलले सो सडक निर्माण हुन नसक्दा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएको गुनासो गर्नुभयो । सडक निर्माण कार्य सुरु नभएसम्म आफूहरूले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने उहाँको दाबी छ ।

कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सडकको विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा काम पनि पूरा भएको छैन । सातौँ पटकको म्याद सकिन अब एक हप्ता पनि छैन तर काम भने ४० प्रतिशत मात्रै भएको छ । सडक विस्तार योजनाका प्रमुख गौतम श्रेष्ठले भन्नुभयो, “दबाब परेपछि ठेकेदारले निर्माण स्थलमा केही निर्माण सामग्री र उपकरण ल्याएर राख्छ । काम गरेजस्तो देखाउँछ तर केही दिनपछि ठेकेदार त्यहाँ देखा नै पर्दैन । यो क्रम आठ वर्षदेखि चल्दै आएको छ ।”

यस वर्षको असारदेखि सडकमा निर्माण कम्पनी देखिएका छैनन् । अहिले ‘सिङ्गल लेन’ रहेको सो सडक खण्डलाई ‘डबल लेन’ मा विस्तार गर्न ठेक्का सम्झौता भएको हो । निर्माण भएको संरचनासमेत भत्किँदै र बिग्रिँदै गएको छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकोमा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ । योजना प्रमुख श्रेष्ठका अनुसार ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले निर्माण कम्पनीलाई तीन करोड ६५ लाख रुपियाँ जरिवाना गरेकोमा अहिलेसम्म दुई करोड रुपियाँ असुली भइसकेको छ ।

सो सडक पर्ने ककनी गाउँपालिकाका उपप्रमुख सीता लामाले आफूहरू निर्वाचित भएर आएदेखि नै सो सडक निर्माण सम्पन्न गर्न सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र सम्बन्धित निर्माण कम्पनीसँग ठेकेदारले काम गर्ने लिखित प्रतिबद्धता गर्ने तर अहिलेसम्म काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणका लागि सङ्घर्ष चर्किंदा एक–दुई दिन काम गरेजस्तो हुन्छ तर सहमतिपछि फोहोर लैजान बाटो खुला गरेपछि फेरि ठेकेदार हराउँछ । निर्माण कम्पनीले राजनीतिक पहुँचका आडमा कसैलाई नटेरेको र काम नगरे पनि उनीमाथि कारबाही हुनुको सट्टा विभिन्न बहानामा पटक–पटक म्याद थपिएको छ ।”

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?