logo
२०८१ बैशाख ७ शुक्रवार



नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन

मुख्य समाचार |


नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन


काठमाडौँ, चैत १० गते । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार (चितवन) र सुनमाई–राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ । त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोट/जुम्ला, प्रवाश–जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ । प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचास/पचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ ।

अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने छ । छनोट भएको कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन सडक विभागलाई बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाइने छ । विस्तृत अध्ययनपछि निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अगाडि बढाइने छ ।सुरुङ मार्गहरूको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा गरिने निर्देशक श्रेष्ठले बताउनुभयो । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?