logo
२०८१ बैशाख १४ शुक्रवार



बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी

खुला |


बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी


काठमाडौँ, फागुन २५ गते । नेपाली सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन तथा बसोबासलाई व्यवस्थित तुल्याउन अगाडि सारिएको ‘बङ्करबाट ब्यारेक’ कार्यक्रम प्रभावकारी बनेको छ ।
यस कार्यक्रमअन्तर्गत ६० प्रतिशत संरचना निर्माण सम्पन्न भइसकेको छ भने बाँकी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बसोबासका लागि स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरेको संरचना सुरुङलाई ‘बङ्कर’को नाम दिइएको थियो । अझै पनि ती संरचना विस्थापित नहुँदा सैनिकहरू बङ्करमै बस्न बाध्य छन् । बङ्करमा बस्न बाध्य सैनिक जनशक्ति वर्षामा बाढीपहिरो, गर्मीमा सर्प र लामखुट्टेको टोकाइको जोखिम भोग्दै आएका छन् ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार ‘बङ्कर टु ब्यारेक’ कार्यक्रमअन्तर्गत मुलुकभरि पाँच हजार ८५० नयाँ संरचना निर्माण गर्नुपर्नेमा आर्थिक वर्ष २०७७/७८ सम्म तीन हजार ३६६ संरचना निर्माण सम्पन्न भइसकेका छन् भने चालू आर्थिक वर्षमा थप एक सय नयाँ संरचना निर्माण सम्पन्न हुनेछ ।

उहाँले भन्नुभयो, “निर्माण हुन बाँकी रहेका दुई हजार ३८४ संरचना निर्माण प्रक्रिया सुरु भइसकेको छ । अहिले नेपाली सेनामा ‘मल्टिस्टोरी’ भवन निर्माण भरहेको हुँदा चाँडै ‘बङ्कर’को सङ्ख्यामा उल्लेखनीय कमी आउनेछन् ।’’
२०६७ सालमा व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले देशभर रहेका सैनिक ब्यारेकको निरीक्षणपछि बङ्कर विस्थापित गर्न निर्देशन दिएपछि ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम सुरु गरिएको थियो । बासस्थानको भरपर्दो व्यवस्था २०६९ सालमा डोल्पाको समतपुर गुल्ममा कार्यरत जवान मित्रलाल गुरुङको बङ्करमा पुरिएर मृत्यु भएको थियो ।

आधुनिक भवन निर्माण हुने
नेपाली सेनाको ‘बङ्करबाट ब्यारेक’ कार्यक्रमअन्तर्गत सिंहदरबार परिसरभित्र दुई आधुनिक भवन निर्माण हुने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ती दुईवटै भवनको मङ्गलबार शिलान्यास गर्नुभयो । निर्धारित समयमै काम सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई निर्देशन दिँदै उहाँले सिंहदरबारभित्रको आयोजना पनि तोकिएको समयमै सम्पन्न नभए सरकारको क्षमतामाथि नै प्रश्न
उठ्ने बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाली सेनाको ‘बङ्करबाट ब्यारेक’ र ‘भिजन २०३०’ कार्यक्रमअन्तर्गत यी भवनको निर्माण भइरहेको बताउँदै निर्धारित समयमा गुणस्तरीय ढङ्गले निर्माण सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

कुल २२ हजार ६६ वर्ग मिटर निर्माण क्षेत्र (साइट एरिया) मध्ये नौ हजार ९८८ वर्ग मिटरमा मुख्य संरचना निर्माण गरिनेछ । सहरी मन्त्रालयका सचिव गेलालका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गएको पुस २६ गते भवन विभाग र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । कुल ६६ करोड पाँच लाख ४९ हजार रुपियाँको लागतमा निर्माण भइरहेको यस भवनको निर्माण ठेक्का तुण्डी रसुवा÷बीकेओआई (संयुक्त)ले पाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?