logo
२०८१ जेष्ठ ३ बिहीवार



ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै

मुख्य समाचार |


ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै


चाँदनी हमाल

काठमाडौँ, माघ १२ गते । राजधानी काठमाडौँका सडकको धूलो सफा गर्न हरेक रात पाँच वटा ब्रुमर परिचालन गरिन्छन् । साँझ ८ बजेबाट सुरु हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बालुवा, गिटी, ढुङ्गा सहितका निर्माण सामग्री बोक्ने टिपर र ब्रुमरको सफाइको प्रतिस्पर्धा रातमा चल्ने गर्छ । एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि आइरहेको अर्को टिपरले धूलो झार्दै आउँछ भन्नुहुन्छ । मुख्य नाकाका सडकबाट सुरु हुने यो प्रतिस्पर्धा राजधानीको मुटुसम्म रातमा रहनेगर्छ, जसका कारण काठमाडौँ महानगरपालिकाले धूलो सफा गर्न लिएको जिम्मेवारीमाथि नागरिकको आलोचना र टिप्पणी बढेको उहाँ बताउनुहुन्छ । काठमाडाँैं महानगर भएर गुड्ने टिपरको सङ्ख्या तीनदेखि चार सय छ ।
हामीले रातभरि धूलो बढार्छौं तर टिपर लगायत भित्र चउरमा पार्क हुने सवारीले हिलो र धूलो सडकमा ल्याउने क्रम घटेको छैन डङ्गोल भन्नुहुन्छ । उहाँका अनुसार नागढुङ्गा सडकबाट उपत्यका छिर्ने टिपर, भक्तपुर र ललितपुरबाट काठमाडौँ आउने टिपरले बढी बालुवा सडकमा थुपारेका छन् । टुँडिखेल लगायतका खुला स्थानमा हुने विभिन्न कार्यक्रमका क्रममा भित्र चउरमा पार्किङ गरिएका सवारी साधनका चक्काले माटो, हिलो बोकेर मुख्य सडकमा खसाल्दा पनि सडकको धूलो निखार्न ब्रुमरलाई गाह्रो परेको छ ।
राजधानीभित्रै पिच नभएका कच्ची सडक, सडकमा जथाभावी थुपारिने निर्माण सामग्रीको बोझका कारण पनि बु्रमरको सफाइले जस पाउन सकेको छैन । ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पर्यटकीय क्षेत्रमा बु्रमरको सक्रियता बढाइएको छ । मुख्य सडकमै हुने टिपरले खसाल्ने फोहोरका कारण भित्री सौन्दर्यमा समेत ह्रास आइरहेको छ । जब ब्रुमर सडक सफा गर्न थाल्छ त्यही बेला नै तीव्र गतिमा सडकमा गुड्ने टिपरको प्रतिस्पर्धा जारी रहन्छ । टिपरको गति र धूलो ल्याउने कामको रोकथामका लागि महानगरले पहल गरिरहे पनि त्यो सफल हुन नसकेको प्रवक्ता डङ्गोल स्वीकार गर्नुहुन्छ ।
सवारीसाधन व्यवस्थित तुल्याउन भूमिका खेल्ने ट्राफिक प्रहरीको जाँच रातमा कमजोर रहँदा टिपरले जथाभावी ढुवानी गरिरहेको आरोप स्थानीयवासी लगाउँछन् । पछिल्लो समय रातमा चेक, जाँचसमेत त्यति नहुँदा टिपर चालकको मनोबल बढेको दाबी स्थानीयवासी गर्छन् ।
दिउँसो टिपर चलाउन दिँदा अत्यधिक गतिका कारण धेरै दुर्घटना हुन्छन् । सवारी व्यवस्थापनमा असर पर्छ । यस्ता विभिन्न घटनालाई ध्यान दिँदै रातमा मात्र निर्माण सामग्री ओसारपसार गर्ने टिपर चलाउन अनुमति दिइएको ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार राति ८ बजे उपत्यकाभित्र प्रवेश गर्ने र उहाँले बिहान ७ बजे टिपर थन्क्याउने नियम लगाइएको छ । दिउँसो काम गर्न नपाउँदा धेरै ढुवानी गर्न नसकिएको र आम्दानी कम भएको झोँकमा केहीले मापदण्ड विपरीत टिपर चलाएका हुन सक्छन् । त्यस्ता चालक फेलापरेको खण्डमा कारबाही पनि गरिरहेका छौँ भन्नुभयो ।
रातमै टिपर चलाए पनि दिउँसोसरह लेन मिच्न नपाउने, हेड लाइट बाल्नैपर्ने, स्पिड नियन्त्रित हुनुपर्ने, ढुवानीको भार मापदण्ड अनुसार हुनुपर्ने, आवश्यक कागजपत्र बोक्नैपर्ने, मादक पदार्थ सेवन (मापसे) गर्न नपाइने जस्ता अनिवार्य नियम छन् । रातमा ढुवानी गर्ने टिपरले त्यो मापदण्ड पालना नगरेकै कारण सडक प्रदूषित हुने क्रम जारी रहेको महानगर दाबी गर्छ ।
प्रवक्ता डङ्गोलले ट्राफिक नियम र सवारी मापदण्डका विषयमा निर्माण सामग्री ढुवानी गर्ने सवारीमा केही समस्या कायमै रहेको उल्लेख गर्नुहुन्छ । महानगरले गत वर्षको चैत १२ गतेबाट पाँचवटा बु्रमर धूलो सङ्कलन गर्न परिचालन गरेको छ । चीनबाट ल्याइएका थप दुई ब्रुमरसमेत गरी सात वटा ब्रुमर राजधानीका सडकमा छन् । थप दुई वटा ब्रुमर कलकत्ता भन्सार आइपुगेको महानगरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?