logo
२०८१ बैशाख १३ बिहीवार



असिना अतिवृष्टि अनुसन्धानको विषय

प्रदेश |


असिना अतिवृष्टि अनुसन्धानको विषय


काठमाडौँ, फागुन १५ गते । हिउँदमा असिना किन पर्छ ? केही दिनअघि पोखरामा अकस्मात् असिनाको अतिवृष्टि भएपछि सबैका लागि यो जिज्ञासाको विषय बनेको छ । मौसमविद्का लागिसमेत यति बेला यो चासोको विषय बनेको छ । असिनाको अतिवृष्टिका विषयमा मौसम पूर्वानुमान महाशाखाको आधिकारिक धारणा अझै आइसकेको छैन । मौसमविद् प्रतिभा मानन्धरले हिउँदमा एक्कासि यति धेरै असिना पर्नुमा दुईवटा प्रणालीको मिश्रणले बनेको शक्तिशाली न्यूनचापीय प्रणाली कारक रहेको बताउँदै भन्नुभयो, “यसले अब छिट्टै प्री–मनसुन भित्रिँदै छ भन्ने सन्देश दिएको छ । ”

पोखराको असिना अतिवृष्टिका विषयमा महाशाखाले स्याटेलाइट अध्ययन पनि गरेको छ; जसअनुसार पोखराको आकाशमा त्यो बेला पश्चिमी न्यूनचापीय प्रणालीको वायु सक्रिय थियो । दुई÷चार दिनयता घाम चर्किएकाले स्थानीय जलवाष्प निर्माण भइरहेको थियो । उहाँले भन्नुभयो, “आइतबार दिउँसो दुवै प्रणाली एक ठाउँमा मिसिएर आकाशको निकै उचाइतर्फ लागे । धेरै माथि पुगेपछि बादलभित्र असिनाका कडा सेल निर्माण भए र असिनाको अतिवृष्टि भयो । ”

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाकी मौसमविद् इन्दिरा कँडेलले पोखरामा देखिएको असिनाको अतिवृष्टिले प्री–मनसुनजन्य गतिविधि देखाए पनि यसको थप अध्ययन हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण मौसममा आइरहेको परिवर्तनले हिउँद नसकिँदै प्री–मनसुनको गतिविधि देखाउनु भविष्यको मौसम पूर्वानुमानका लागि नयाँ दृष्टिकोण हुन सक्ने दाबी गर्नुभयो ।

नेपालमा हालसम्म कति पटक असिनाको अतिवृष्टि भयो भन्ने यकिन तथ्याङ्क विभागसँग छैन तर यस्ता घटना दोहोरिने क्रम बढ्दै गएको छ । असिनाको अतिवृष्टि हुनुमा बादलको घनत्वको मुख्य भूमिका रहन्छ । प्रायः प्री–मनसुनको समयमा चर्को घाम लागेपछि जमिनबाट तातो हावासहितको जलवाष्प माथि सर्न थाल्छ ।

वायुमण्डलको माथिल्लो भागमा पुगेपछि त्यो न्यूनचापीय प्रणालीमा परिणत हुन्छ । पोखरामा यो प्रक्रिया भइरहँदा आकाशमा पश्चिमी न्यूनचापीय प्रणाली पहिल्यै थियो । पछि स्थानीय न्यूनचापीय प्रणाली मिसिएको अनुमान उहाँले गर्नुभयो । यसरी बनेको प्रणाली जतिमाथि गयो, उति असिना पर्ने सम्भावना बढी हुन्छ । मौसमविद् कँडेलले थप्नुभयो, “शून्य डिग्रीभन्दा तल माइनसमा तापक्रम झरेपछि असिना बन्छ । ” आद्र्रता बढी रहेमा बाक्ला र ठूला असिना झर्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?