logo
२०८१ बैशाख १४ शुक्रवार

   रुस–युक्रेन युद्ध   



पाँच सय नेपाली सुरक्षित गन्तव्यमा

मुख्य समाचार |


पाँच सय नेपाली सुरक्षित गन्तव्यमा


काठमाडौँ, फागुन २१ गते । रुस–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।

युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ । युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाउनुभयो । समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताउनुभयो ।

समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले भने युक्रेन छाड्न नसकेको जानकारी दिनुभयो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या अब कम हुँदै गएको बताउनुभयो । उहाँले अझै केही नेपाली नागरिक युक्रेन युद्धमा हराइरहेको आशङ्का रहेको जनाउनुभयो ।
स्लोभाकियाका सङ्घ प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेस्टुरेन्टमा सेल्टर बनाएर नेपाली, भारतीय, बङ्गलादेशी र सेनेगलका नागरिकलाई राख्नुभएको सङ्घले जनाएको छ । कतिपय देशमा पुग्नुभएका नेपाली नागरिकका लागि आर्थिक सहयोग जुटाउन सङ्घले पहल गरिरहेको छ ।

आणविक केन्द्र कब्जा
रुसले लगतार युक्रेनका विभिन्न सहरमा आक्रमण जारी राखेको नवौँ दिन बितेको छ । यस अवधिमा झण्डै १० लाख मानिस युक्रेनबाट विस्थापित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यस अवधिमा युक्रेनले आफ्नो नैतिकताको बल अझ बलियो बनाउँदै गएको र रुसले आक्रमणलाई तीव्र बनाउँदै गएको टिप्पणी विश्वजगत्मा भइरहेको छ ।पछिल्लो समय रुसले युक्रेनस्थित परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेर आफ्नो कब्जामा लिएको छ । यो केन्द्र युरोपकै ठूलो मध्येको एक ऊर्जा केन्द्र मानिन्छ । आणविक ऊर्जा केन्द्रमा आक्रमणपछि त्यहाँ आगो लागेको छ । जसका कारण विकिरण फैलिएर थप हानि हुनसक्ने आशङ्का बढेको छ । तथापि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले त्यहाँ कुनै प्रकारको विकिरण फैलिनसकेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

मानवीय आवश्यकतामा सहमत
रुस–युक्रेनबीच दोस्रो चरणको शान्ति वार्तामा युद्ध विरामको विषयमा कुनै ठोस निष्कर्ष निस्कन सकेन । बिहीबार बिहानैदेखि झन्डै २४ घण्टा चलेको दोस्रो चरणको वार्ताले युद्ध विरामका सन्दर्भमा कुनै निष्कर्ष दिन नसकेको हो । तर दुवै पक्षले युक्रेनका आम नागरिकको मानवीय आवश्यकता पूर्ति र त्यसको निकासका सम्बन्धमा भने पहल गर्ने सहमति जनाएका छन् ।मानवीय आवश्यकताको पूर्तिका विषयमा मात्र यस वार्ताले समाधान निकाल्न सकेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले जानकारी दिनुभएको छ । युद्धरत रहेकै बखत दुई देशबीच विगत चार दिनयता दुई पटक वार्ता भएको हो । छिमेकी मुलुक बेलारुसको मध्यस्थतामा बेलारुसकै ब्रेस्ट क्षेत्रमा दोस्रो चरणको वार्ता भएको हो ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार पोडोल्याकले वार्तापछि भन्नुभएको छ– “वार्ता सकियो तर द्र्भाग्यवश, युक्रेनले चाहेको नतिजा अझै प्राप्त भएको छैन ।”रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले वार्तापछि शान्ति सम्झौतामा युक्रेनले आफूहरूको माग सम्बोधन गर्न नखोजेको आरोप लगाउनुभयो । रुसले युक्रेनसँगको कुनै पनि शान्ति सम्झौतामा युक्रेनले असैनिकीकरण गर्ने वाचा समावेश गर्नुपर्छ भन्ने कुरामा जोड दिन छाड्नेछैन । शान्ति वार्ताको क्रममा रुसले युक्रेनलाई तटस्थ स्थितिमा रहन जोड दिइरहेको थियो । युक्रेनी राष्ट्रपतिका सल्लाहकारका अनुसार युक्रेनले भने तत्काल युद्धबिराम र नागरिकहरूका लागि मानवीय आवश्यकताको पूर्तिको निकासा जस्ता विषयलाई शान्ति वार्ताको प्राथमिकताका रूपमा अघि सारेको थियो । वार्ताअघि रुसले सेना फिर्ता गर्नुपर्ने माग पनि युक्रेनले राखेको थियो । यसेबीच युक्रेनमा मानवीय सङ्कट बढ्दै गएपछि आमने सामने रहेर आफू वार्तामा बस्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले प्रतिक्रिया दिनुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने वार्ताभन्दा पनि युक्रेनमा भएको बाह्य अतिक्रमणको रुसले सशक्त प्रतिकार गरिरहने बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू पुटिनसँग भेट्न र वार्ता गर्न तयार रहेको बताउनुभएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?