चाँदनी हमाल
काठमाडौँ, फागुन १७ गते । भारतसँग सीमा विवाद रहेको दार्चुलाको पश्चिमी क्षेत्रमा त्यस बेला जनगणना गराउनुभएका ९५ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसालसँग विगतका प्रशस्त अनुभव छन् । उहाँसहितका अगुवाहरूले नेपाली भूभागका बारेमा निरन्तर खबरदारी गरिरहनुभएको छ । रिसालसँगैै राष्ट्रकवि माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, हिमालयशमशेर जबरा, गौरीशङ्कर लाल, ज्ञानमणि नेपाल, हिरण्यलाल श्रेष्ठलगायत २५ जनाको विज्ञ समूहले नेपालका सबै मिचिएका सिमाना व्यवस्थित हुनुपर्ने माग गरिरहनुभएको छ । “हामीले लिम्पियाधुरासम्मको नेपालको नक्सा निकालेर सरकारलाई दिएका छौँ, सार्वजनिक गरेका छौँ । जनतामा त्यो भूमि हाम्रो हो भन्ने चेतना बाँडिरहेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले यस विषयमा ध्यान दिनुपर्छ, अहिले नगरे कहिले गर्ने समाधान ?”
वि.सं. २०१८ मा काठमाडौँबाट त्रिभुवन राजपथ हुँदै दार्चुला पुगेर जनगणना गराएको स्मरण अझै उहाँसँग ताजै छ । काठमाडौँबाट गएको दसौँ दिनमा मात्र उहाँ दार्चुला पुग्नुभएको थियो । “पृथ्वी राजमार्ग र पूर्वपश्चिम राजमार्ग पनि बनेको थिएन । त्रिभुवन राजपथ मात्र बनेको थियो । टिस्टुङ, पालुङ हुँदै पश्चिम लागेका थियौँ”, रिसालले त्यस बेलाको सम्झना गर्नुभयो । वर्षात्को बेला बाघझोरामा पुल भाँचिएपछि बाढीको खोलो तरेर टोली जनगणना गराउन हिँडेको थियो । बस्ने, खाने, बन्दोबस्तीको ट्याङ्का, डस्ना, सिरकको गुन्टा बाढीबाटै तारियो ।
मकवानपुरका वामपन्थी धारका रूपचन्द्र विष्ट त्यो बेला ट्रक हाँक्नुहुन्थ्यो । रिसालका साथी रहेकाले उहाँले सबै मानिस र सामान पारि पु¥याइदिनुभएको थियो । रिसालका अनुसार पहिलो दिन भीमफेदीमा टोलीको बास परेको थियो ।
“डाँक गाडीमा अमलेखगन्ज गइयो । त्यहाँबाट नेपाली रेल चढियो र रक्सौल पुगियो”, रिसालले सुनाउनुभयो, “रक्सौलबाट धनगढीनेरको नानपारा गयौँ । त्यहाँबाट धनगढी पुग्यो टोली । ” सवारीसाधन र सडकको अभाव रहेको त्यस बेलाको जनगणना निकै कठिन तरिकाले सम्पन्न गरेको उहाँको भनाइ छ ।
बडा हाकिम ताराप्रसादले अलि परसम्मका लागि टोलीलाई मोटर दिनुभयो । वनको छेउसम्म मोटरमा पुग्यौँ । टोलीको बास वनमै प¥यो । बाघ आउने ठाउँमा डरले काम्दै रात बितायौँ । पाँच दिनका दिन बल्ल टोली सिलगढी पुगेको थियो । काठमाडौँबाट हिँडेको १० दिन भएको थियो । सिलगढीमै जनगणनाको कार्यालय खोलेर टोलीले काम थाल्यो । नौ जना खरदार र अन्य तीन जनासहित रिसाल र उहाँकी पत्नी सुशीला गरी टोलीमा १४ जना थिए ।
बझाङ, दार्चुला, बैतडी, डडेलधुराका जनगणना गर्ने स्थानको फिल्ड भ्रमण रिसालले गर्नुभयो । त्यति बेला ३२ वर्षका लक्का जवान रिसाल सबै कर्मचारीलाई जनगणना गर्न खुब हौस्याउनुहुन्थ्यो । “हिँड्ने हो त्यो बेला, अरू उपाय नै थिएन । डडेलधुरा, डोटी, बैतडी, झुलाघाट भएर पिलबोटसम्म हिँडेरै जानु पथ्र्यो”, उहाँले भन्नुभयो ।
धार्चुलाका अफिसर रिसाल वारिका धेरै भेग हेर्न बस्नुभयो । खरदार ऋषिराज द्विवेदीसहितको टोली भने पारिपट्टिको क्षेत्रको जनगणना गर्न गयो । खरदारको नेतृत्वमुनि मुखिया र गणक हुन्थे । गणकले एक जनाको जनगणना गर्दा चार पैसा पाउँथ्यो । नावी, गुञ्जी, बुँदी गाउँ लिम्पियाधुराको फेदमा थियो । त्यहाँका बासिन्दा हिउँ पर्दा तल औलमा झर्थे । गर्मीमा माथि बस्थे । जेठ असारको महिना भएकाले मानिसको बस्ती माथि नै थियो ।
कालापानी र लिपुलेकमा भने उति बेला पनि बस्ती थिएन । उहाँको अनुमानमा तीन चार गाउँमा गर्दा करिब तीनदेखि साढे तीन सय घरधुरी थियो । त्यसअनुसार अन्दाजी पन्ध्रदेखि सत्र सय हाराहारी जनसङ्ख्या थियो भन्ने अनुमान उहाँ गर्नुहुन्छ ।
“यस्तो हुन्छ भनेर थाहा पाएको भए सबै लगत छुट्टै राख्थेँ, आफूसँग पनि राख्थेँ । सबै अड्डामा बुझाइयो”, रिसाल दुःखेसो पोख्नुहुन्छ । जनगणनाको लगतसँगै तिरो तिरेको लगत, ब्रिटिस सरकारको पत्र, विभिन्न समयमा निकालिएको
नक्सा नेपालको मुख्य प्रमाण हुन् । वि.सं. २०५५ मा सीमा अतिक्रमण प्रतिरोध समितिले धेरै मेहनत गरेर प्रमाण सङ्कलन गरेको थियो । त्यो समितिको अध्यक्ष पद्मरत्न तुलाधर हुनुहुन्थ्यो ।