logo
२०८१ श्रावण ११ शुक्रवार



सुरक्षाको अभिभावकत्व सरकारको : ज्ञवाली

मुख्य समाचार |


सुरक्षाको अभिभावकत्व सरकारको :  ज्ञवाली


चाँदनी हमाल

काठमाडौँ, चैत ११ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण र जोखिमबाट बचाउन हरेक प्रकारले सुरक्षा दिन सरकार पूर्ण रूपमा तत्पर रहेको बताउनुभएको छ । यसनिम्ति उहाँले विदेशस्थित कामदारका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
उहाँले नेपालबाट श्रम मुलुकमा कामका लागि गएका नेपालीको सुरक्षाको अभिभावकत्व नेपाल सरकारको रहेकाले त्यसको प्रत्याभूति दिलाउन त्यहाँस्थित राजदूतलाई निर्देशन दिनुभएको हो ।
सोमबार विभिन्न मुलुकमा रहनुभएका नेपालका राजदूतसँग भिडियो सम्मेलन गर्दै मन्त्री ज्ञवालीले विदेशस्थित नेपालीलाई नेपाल सरकारको अभिभावकत्वको प्रत्याभूति दिलाउनुभएको हो । “अहिलेको अवस्थामा एकदमै उच्च सतर्क रहनु, कुनै नेपालीले विदेशमा दुःख पाएको भेटिएमा तुरुन्त उद्धार गरेर राख्ने व्यवस्था मिलाउनू”, मन्त्री ज्ञवालीले निर्देशन दिँदै भन्नुभयो ।
त्यसअघि मन्त्री ज्ञवालीसमक्ष राजदूतहरूले आफू रहेको देशमा कोरोना भाइरस र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । राजदूतहरूले भिडियो सम्मेलनमा कामदार मुलुकमा रहेका नेपाली र त्यहाँका नागरिकबीच कुनै पनि भेदभाव नरहेको जानकारी मन्त्री ज्ञवालीलाई गराउनुभएको थियो । राजदूतहरूका अनुसार नेपाली श्रमिकले त्यहाँ गरेको श्रमको परिणाम र कुल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदान त्यहाँका नागरिकको भन्दा कम नरहेको महसुस गर्दै हरेक श्रम मुलुक र कम्पनीले नेपाली नागरिकलाई कोरोना भाइरसबाट बचाउन भेदभाव नगरी समान पहल गरिएको छ ।
हिँडडुल गर्न नपाउने वर्तमान अवस्थामा विदेशमा रहेका नेपाली जहाँ छन्, त्यहीँ सुरक्षित रहनसमेत मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको छ ।
मन्त्री ज्ञवालीसँगै श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, परराष्ट्रसचिव शङ्करदास बैरागीलगायत नेपालका तर्फबाट भिडियो सम्मेलनमा सहभागी हुनुुहुन्थ्यो । भिडियो सम्मेनलमा विभिन्न मुलुकका सरकारले कोरोना भाइरस नियन्त्रण गर्न कस्तो पहल गरिरहेका छन् र त्यहाँस्थित नेपाली नागरिकको अवस्था के छ भन्नेबारेमा जानकारी लिन यसरी भिडियो सम्मेलन आयोजना गरिएको परराष्ट्र सचिव बैरागीले बताउनुभयो ।
विदेशस्थित नियोगलाई थप सक्रिय बनाउन मन्त्री ज्ञवालीले सरकारका तर्फबाट निर्देशन दिनुभएको उहाँले बताउनुभयो । विदेशस्थित केही नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । “तर यसबारे हामी थप बुझ्दैछौँ”, उहाँले भन्नुभयो ।
सात मुलुकका राजदूत र एक महावाणिज्य दूत भिडियो सम्मेलनमा सहभागी हुनुभएको थियो । यसमा साउदी अरब, कतार, बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स, इजिप्ट, जोर्डन, सिरिया, कुवेत, लेबनानका राजदूत सहभागी हुनुुहुन्थ्यो ।
कतिपय राजदूतले दुई वा तीन मुलुकको समेत जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । यो क्रमलाई फेरि निरन्तरता दिँदै बुधबार जापान, मलेसिया लगायतका देशका राजदूतसँग अर्को भिडियो सम्मेलन आयोजना गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?