logo
२०८१ जेष्ठ ७ सोमवार



चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो

मुख्य समाचार |


चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो


चाँदनी हमाल

काठमाडौँ, चैत ३० गते । नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ । सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन् ।
मौसमविद्का अनुसार प्रि–मनसुनको तीन महिनाभित्र, मनसुन सुरु नभएसम्म र हिउँदे वर्षा जाने बेलामा चट्याङ बढी पर्छ । प्रि–मनसुन सुरु हुँदाको करिब एक महिनाको अवधिमा २१ वटा चट्याङका घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङबाट २०७५ सालमा मात्र ६८ जनाले ज्यान गुमाए । यस अवधिमा सबैभन्दा बढी २०६९ सालमा १३१ को मृत्यु भएको थियो ।
मानिसको ज्यान लिनेमध्ये आगलागी र पहिरोपछि तेस्रो डरलाग्दो प्राकृतिक विपत्तिमा चट्याङ रहेको विपत्को प्रतिवेदन सन् २०१७–२०१८ ले बताउँछ । जस अनुसार त्यस अवधिमा १६० जनाको ज्यान गएको थियो । यसवर्ष पनि गत वैशाखदेखि हालसम्म ४८ जनाको चट्याङले ज्यान लिएको गृह मन्त्रालयले जनाएको छ ।
के हो ? चट्याङ
मौसमविद् मीनकुमार अर्यालका अनुसार बादल ठोक्किएर मेघगर्जनको आवाज आउँछ । त्यसको विद्युतीय प्रवाह जमिनमा पर्छ, त्यही नै चट्याङ हो । जुन प्रक्रियामा विद्युत्को उच्च भोल्टको प्रवाह हुन्छ, जसमा पर्छ, नष्ट हुने अत्यधिक सम्भावना हुन्छ ।
अर्यालले बादलको तल्लो भागमा माइनस र जमिनको तल्लो सतहमा प्लस भइदियो भने त्यो दुई दूरी बीचमा विद्युत् प्रवाह हुन्छ, त्यसबेला तल ठोक्किँदा आवाज आएर चट्याङ पर्छ भनेर प्रस्ट्याउनुभयो । त्यस क्रममा लाखौँ किलोवाटसम्म विद्युत् प्रवाह हुन्छ । कालो मडारिएको बादल, हावाहुरी सहितको मौसम हुँदा चट्याङ बढी पर्छ । प्रारम्भिक चरण, वयष्क चरण र अन्तिम चरण गरी तीन चरणमा चट्याङ विकसित हुने जानकारी अर्यालले दिनुभयो । मौसमविद् समीर श्रेष्ठ भने बादल घर्षण हुँदा चार्ज धेरै भइसकेपछि त्यो फाल्ने प्रक्रियामै कहिले जमिनमा खस्छ भने कहिले अर्को बादलमा जान्छ ।
श्रेष्ठले त्यो बादल अर्को बादलमा गएको खण्डमा बिजुली चम्कन्छ भने बादलबाट जमिनमा आयो भने चट्याङ पर्छ भन्नुभयो । उहाँका अनुसार अन्यत्रभन्दा पहाडी भेगमा चट्याङ बढी पर्छ ।
पहाडतिर एक त उचाइ हुन्छ । बादल जति उचाइमा हुन्छ, बादल १० हजार फिटमा बन्छ भने पहाड आफैँ ५–६ हजार फिटसम्म हुन्छ । बिजुली तल आउन थोरै दूरी मात्र पार गर्नुपर्छ । रुख चट्याङका लागि बढी सहयोगी हुन्छ किनकि त्यसभित्र पानी, खनिजको मात्रा बढी हुन्छ । त्यस्तै धातुका सामान, अग्ला घरमा जता उँचो हुन्छ, त्यता चट्याङ पर्छ ।
पूर्वानुमान आधा घण्टा
मौसम पूर्वानुमान महाशाखाका अनुसार चट्याङको पूर्वानुमान समय आधा घण्टा मात्र हो । छोटो समयमा पूर्वानुमान गर्नुपर्दा अप्ठेरो हुन्छ । बिजुली चम्केपछि मात्र जानकारी दिन सकिन्छ । जसले बृहत् सूचना प्रसारण गर्न समय छैन, मौसमविद् श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार प्राप्त समयमा जानकारी दिन लाइटिङ डिटेक्टिङ सिस्टम देशैभरि स्थापना गरिएको छ । जसले नेपालको कुनै पनि ठाउँमा बिजुली चम्केको वा चट्याङ परेको तत्कालै थाहा पाउँछ ।
कसरी जोगिने ?
विद्युत्का पूर्ण सुचालक र अर्ध सुचालक वस्तु चट्याङका मुख्य आकर्षण हुन् । धातु, हरियो रूख पूर्ण सुचालक हुन् । मानिस भने अर्ध सुचालक हो । त्यसैले मानिस रूख, धातुका अग्ला टावर र घर जस्ता विद्युतीय सुचालकको नजिक नबस्न मौसमविद् मीनकुमार अर्यालको सुझाव छ । विद्युत् प्रवाह बन्द गर्नुपर्छ । गाडीमा सवार छन् भने गाडीभित्रै सुरक्षित हुन्छ ।
घरमा अर्थिङ अर्थात् लाइटनिङ रड राखेर सुरक्षित रहन सकिन्छ । सकभर त्यस्तो बेलामा घरबाहिर ननिस्कने र घर भित्रैका बिजुलीका सुचालक वस्तु बन्द गर्न महाशाखाले सुझाएको छ । अन्य सावधानीमा पहाडी भेगमा रहँदा सतर्क रहने, घर बाहिर भए दुई कुहिनाले टाउको छोपेर टुक्रुक्क बस्नुपर्छ । मानिसको टाउको र खुट्टाबाट चट्याङको बिजुली पार हुनेगर्छ । चट्याङ लागेमा तत्काल चिकित्सक बोलाएर उपचार गर्नुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?