logo
२०८१ मंसिर ८ शनिवार



कोरोनाविरुद्ध उच्च सतर्कता

मुख्य समाचार |


कोरोनाविरुद्ध उच्च सतर्कता



नगेन्द्र सापकोटा

ललितपुर, वैशाख ६ गते । ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै हेटौँडा र तराईका विभिन्न जिल्ला प्रवेश गर्ने छोटो मार्ग हो ।
सचेत हुने क्रममा गाउँपालिकामा प्रवेश गर्ने प्रमुख नाका बन्द गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सचेतनामूलक ‘ब्रोसर’ घर–घरमा वितरण गर्ने गरिएको छ । पालिकाभन्दा बाहिरबाट कोही नयाँ व्यक्ति प्रवेश गरेमा आवश्यक सोधखोज गरेर मात्र प्रवेश गर्न दिइएको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।

सबै वडामा समन्वय समिति
बाग्मती गाउँपालिकाले कोरोनाको सङ्क्रमण फैलिन नदिन गाउँपालिकाको सातवटै वडामा कोरोना रोकथामा समन्वय समिति गठन गरेको छ । उक्त समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सचेतना अभिवृद्धि गर्ने, बन्दाबन्दी कार्यान्वयन गराउने, प्रत्येक घर परिवारमा कोरोना भाइरसको सचेतनामूलक ब्रोसर वितरण गर्ने र असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामग्री वितरण गर्ने कार्य गरिरहेको छ । कामको अनुगमन पालिकाले गरिरहेको गाउँपालिकाका अध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।
डेढ महिना अघिदेखि विदेशबाट पालिकामा १२ जना आएको र उनीहरूको शनिबारसम्मा द्रुत स्वास्थ्य परीक्षण (आरडीटी) परीक्षण गर्ने तयारी गरिएको छ । विदेशबाट आएकाहरू घरमै क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकामा खडा गरेको राहत कोषमा करिब २८ लाख रुपियाँ जम्मा भएको अध्यक्ष लोप्चनले बताउनुभयो ।

महाँकालमा परीक्षण सकियो
महाँकाल गाउँपालिकामा दुई महिना अघिदेखि विदेशबाट आउनेको सङ्ख्या १० जनाको आरडीटी परीक्षण गर्दा सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । विदेशबाट आएदेखि नै गाउँपालिकाले उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखेको थियो । बिहीबार भएको
आरडीटी परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले गाउँपालिकाले पालिका प्रवेश गर्ने मुख्य नाका बन्द गरेको छ ।
वडा नं. ६ को बाग्मती गाउँपालिकाको गिम्दीबाट आउने ठाँटीभञ्ज्याङ नाका, वडा नं. ४ काभ्रेबाट आउने घुसघारी नाका र काभ्रेबाट नै आउने वडा नं. ५ को फेदी दुरलुुङखोला करिडोर नाका र कोज्योसोमको शङ्खुबाट छिर्ने बुखेल नाका बन्द गरिएको छ ।

निश्चित समय पसल खुला
यसैगरी कोन्ज्योसोम गाउँपालिकामा दुई महिना अघिदेखि नौ जना विदेशबाट आएका र उनीहरूको शुक्रबार आरडीटी परीक्षण गराउँदा सबैको नतिजा नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दी कार्यान्वयन गराउन निश्चित समयावधि मात्र अत्यावश्यक पसल खोल्न निर्देशन गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?