logo
२०८१ बैशाख १३ बिहीवार



अतिरिक्त समूहमा २० जना सहसचिव

राष्ट्रिय |


अतिरिक्त समूहमा २० जना सहसचिव


काठमाडौँ, चैत १ गते । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् ।लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ । सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् ।

अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ जनाजति सहसचिव बढुवा भई आउने क्रममा छन् ।
मन्त्रालयकै विभिन्न शाखा, महाशाखा र सिंहदरबार घुमेर ती कर्मचारीले समय बिताउने गरेका छन् । मन्त्रालयका सहसचिव रघुराम विष्टले लोकसेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार कर्मचारी बढुवा गरेको भए पनि सहसचिव पदको दरबन्दी खाली नहुँदा अतिरिक्त समूहमा थन्काउनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अतिरक्त समूहका सहसचिवलाई आवश्यक परेका ठाउँमा खटाउने गरी जगेडा राखिएको हो तर अहिले खटाउने ठाउँ नहुँदा डेढ दर्जन सहसचिवलाई व्यवस्थापन गर्न सकिएको छैन ।”
सहसचिव पदको दरबन्दी रहेका केही उपमहानगरपालिकामा पद खाली छन् । तर, स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले कर्मचारी जान मान्दैनन् । केही जान चाहने कर्मचारीलाई पनि स्थानीय तहका जनप्रतिनिधिले हाजिर नगराउने अवस्था छ ।

त्यस्तै, सबैभन्दा बढी सहसचिवको दरबन्दी रहेको अर्को निकाय गृह मन्त्रालय हो । तर, गृह मन्त्रालय र अन्तर्गतका कतिपय जिल्ला प्रशासन कार्यालयमा पनि सहसचिव दरबन्दी रहेका प्रमुख जिल्ला अधिकारीको पदमा निमित्त भएर उपसचिवले ठाउँ ओगटेका छन् ।

उहाँले भन्नुभयो, “अहिले मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर गृह मन्त्रालय र अन्तर्गतका खाली रहेका कार्यालयमा सहसचिवलाई पठाउनेगरी आवश्यक समन्वय गरिरहेको छ ।”लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको व्यवस्थापन गर्न नसक्नु मन्त्रालयको कमजोरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयले रिक्त पदमा माग गरेअनुसारकै पद र दरबन्दीमा लोकसेवा आयोगले कर्मचारी पदपूर्ति गर्ने हो । पदपूर्ति भएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा व्यवस्थापन गर्ने जिम्मेवारी पनि सम्बन्धित मन्त्रालयकै हो ।”

उहाँका अनुसार लोकसेवा आयोगको नियम अनुसार सहसचिवको पदपूर्तिका लागि असोजको अन्तिम बुधबार विज्ञापन गर्ने र चैत, वैशाखभित्रमा सिफारिस गर्ने कार्यतालिका हुन्छ ।
सोही कार्यतालिका अनुसार अहिले सहसचिवको पदपूर्ति भइरहेको छ । यस वर्षभित्रमा करिब एक सय जना सहसचिवको पद पूर्ति हुने लोकसेवा आयोगले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?