logo
२०८१ श्रावण १२ शनिवार



फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली

४९ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या बढ्दै

मुख्य समाचार |


फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली


चाँदनी हमाल

काठमाडौँ, वैशाख १६ गते । रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कन चाहन्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता अनुसार यस्तो महामारी चलेका बेला जो जहाँ छन्, त्यहीँको सुविधा लिएर
बस्नुपर्छ । यही मापदण्ड पछ्याउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई विदेशमै रहन भनेको छ ।
महामारीका बेला विदेशमा कुनै विपत्तिमा नेपाली नागरिक नपरून् भनेर सरकार प्रमुख र सम्बन्धित मन्त्रालयका उच्चाधिकारीसँग त्यहाँ रहेका नेपालीका लागि सहज वातावरण बनाइदिन कूटनीतिक आग्रह गरिएको छ । विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । उहाँले विदेशमा विभिन्न थरीका नेपाली छन्, सबैलाई त्यसरी फिर्ता ल्याउन तत्काल सकिने अवस्था हुन्न भन्नुभयो ।
गैरआवासीय नेपाली सङ्घलाई विदेशका विभिन्न भूमिमा यतिबेला परराष्ट्र मन्त्रालयले सक्रिय बनाएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली सङ्घमा आबद्ध पदाधिकारीसँग छलफल गरेर विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
सबैभन्दा बढी श्रम मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रायः सबै श्रम मुलुकका नेपालीले फर्कन चाहेका छन् ।
कतिपय नेपाली कोभिडका कारण लकडाउनमा कम्पनी बन्द भएपछि कामविहीन भएर बसेका छन्, कम्पनीले यस्तो बेला उत्पादन गर्न नसक्ने भन्दै धेरै नेपाली श्रमिकलाई बिदा दिएको मन्त्रालयको मध्यपूर्व, पश्चिम एसिया र अफ्रिका विभागका प्रमुख हरिश्चन्द्र घिमिरेले भन्नुभयो । ती मुलुकमा कम्पनीको उत्पादन मात्र होइन, सेवा व्यवसायअन्तर्गत रहेको होटलसमेत बन्द छन् ।
मन्त्रालयले यतिबेला कुन देशका कति नेपाली फर्कन चाहन्छन् र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ । फर्कन चाहनेको लर्को ठूलो भएकाले पनि मन्त्रालयले ठूलै व्यवस्थापन गर्नुपर्ने हुुन्छ । सबैलाई फर्काउन नसकिए पनि अवस्था हेरी केही नेपालीलाई फर्काउन सकिन्छ कि भन्ने अवधारणामा काम भइरहेको मन्त्रालयले जनाएको छ ।
थुप्रै देशबाट स्वदेश फर्कन चाहनेको सन्देश आइरहेको छ तर त्यो गर्न सक्ने अवस्था छैन्, जहाँ जे जस्तो अवस्थामा बसेका छन्, त्यहीँको स्थानीय सुविधा प्रयोग गर्नु भनेर भनिरहेका छौँ, परराष्ट्र मन्त्रालयस्थित युरोप हेर्ने शाखाका प्रमुख निर्मल काफ्लेले भन्नुभयो । उहाँका अनुसार मन्त्रालयले विभिन्न दूतावाससँग निरन्तर सम्पर्क गरेर नेपालीको स्थिति बुझिरहेको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार हटलाइनमा फोन गर्नेमध्ये फर्कन चाहने ७७ प्रतिशत छन् । अन्य ११ प्रतिशतले विदेश जान आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत विदेशमा अध्ययन गर्न गएका विद्यार्थी छन् ।
यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युके लगायत अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीले विभिन्न माध्यमबाट समस्या बताउने गरेका छन् ।

सङ्क्रमित बढ्दै
परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घको संयुक्त जानकारी अनुसार विभिन्न २२ देशमा रहेका नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । विभिन्न देशमा ४९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।
सङ्घका अनुसार बेलायतमा ३३, अमेरिकामा १०, यूएईमा दुई, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्यान्डमा एक जना नेपालीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । विभिन्न मुलुकमा झन्डै दुई हजार नेपाली कोरोनाबाट सङ्क्रमित छन् ।
सबैभन्दा बढी अमेरिकामा एक हजार नेपाली सङ्क्रमित छन् । त्यसपछि बेलायतमा सात सय, यूएईमा ८१, बहराइनमा ४९ नेपाली सङ्क्रमित छन् । त्यस्तै कतारमा १८, पोर्चुगलमा २२, आयरल्यान्डमा २२, कुवेतमा ४२, अस्ट्रेलियामा ११, स्पेनमा १२, बेल्जियममा छ, स्विजरल्यान्डमा पाँच, साउदी अरेबिया र जर्मनी चार÷चार जना नेपालीमा सङ्क्रमण छन् । त्यसैगरी मलेसिया र क्यानडामा तीन÷तीन, जापान, माल्टा र हङकङमा दुई÷दुई जना, इजरायल, म्यानमार, र फ्रान्समा एक÷एक जना नेपालीमा सङ्क्रमण देखिएको छ ।
सङ्घका अनुसार विदेशमा सङ्क्रमित भएका, मृत्युवरण गरेका र अप्ठ्यारोमा परेका नेपालीका लागि आवश्यक सहयोग, उद्धार तथा राहत लगायतको काममा नेपाल सरकार र विदेशस्थित कूूटनीतिक नियोग तथा सरोकारवालासँग सहकार्य र समन्वय गरेर काम अघि बढाइएको सङ्घले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?