नगेन्द्र सापकोटा
काठमाडौँ, वैशाख १८ गते । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दीले विद्यालय र कलेज ठप्प छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि विकल्पका रूपमा अनलाइन अध्यापन गर्न थालिएको छ तर दुर्गममा अनलाइन प्रविधिबाट पठनपाठन प्रायः असम्भव नै देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
दुर्गम गाउँपालिकाको सबै वडामा इन्टरनेट सुविधा नपुगेकाले बालबालिका, शिक्षक र अभिभावक इन्टरनेट साक्षरतामा अभ्यस्त नहुँदा बालबालिकालाई अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य असम्भवजस्तै बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।
संविधानले माध्यमिक र आधारभूत तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । देशभर गरी कुल ३५ हजार ५२० विद्यालयमा २८ हजार ८३० सामुदायिक विद्यालय र छ हजार ६८७ निजी विद्यालय रहेको शिक्षा तथा
मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
अहिले स्थानीय तहका जनप्रतिनिधिले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन असम्भव हुने भन्दै विकल्पको खोजी गर्न थालेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अनुसार कुल ४६० गाउँपालिकाका २५ प्रतिशत वडामा अझै पनि इन्टरनेटको पहुँच छैन । पुगेका वडा र बस्तीमा राम्रोसँग इन्टरनेट टिप्दैन, चल्दैन ।
महासङ्घका महासचिव एवं सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले अनलाइन प्रविधिबाट अध्यापन गराउने कार्य कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रविधि सहरकेन्द्रित हुनेखाने वर्गका बालबालिकाका लागि त हुनसक्छ तर गाउँमा अनलाइन प्रविधिबाट पठनपाठन गर्न सहज छैन । ”
ग्रामीण बस्तीका अभिभावकलाई मेलापात, घाँसदाउँरा र गोठालो जानुपर्ने बाध्यता हुन्छ । बालबालिकालाई अनलाइनमै अध्यापन गराउने र सँगै बस्ने फुर्सद अभिभावकसँग नहुने भएकाले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन सहज नहुने तर्क स्थानीय तहका जनप्रतिनिधिहरूको छ ।
विकल्पको खोजी
गाउँमा अनलाइनभन्दा रेडियो र टेलिभिजनको बढी पहुँच पुगेकाले रेडियोबाट बालबालिकालाई पढाउने विषयमा छलफल सुरु हुन थालेको छ । कर्णाली प्रदेश सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले अनलाइन प्रविधिबाट गाउँमा पठनपाठन असम्भव हुने भएकाले रेडियो वा टेलिभिजनबाट पढाउने विकल्पको खोजी गर्न लागिएको बताउनुभयो ।
घरमै शिक्षा
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले घरमा नै अभिभावकलाई संस्कारयुक्त शिक्षा सिकाउन आग्रह गरेको छ । केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले बन्दाबन्दीले गर्दा अन्य क्षेत्रमा जस्तो शिक्षा क्षेत्रमा खासै क्षति भएको छैन । फुर्सदको समयमा घरमा नै बसेर संस्कारयुक्त शिक्षा सिकाउन सबै अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा संस्कृति, मूल्य, मान्यता, आदर, सत्कार, मान, सम्मान र समाजीकरण गर्ने कार्य हाम्रा जीवनका लागि उत्तिकै महìवपूर्ण छ, सो कुरा अभिभावकले आफ्ना बालबालिकालाई घरैमा बसेर सिकाउन सक्नुहुन्छ । ”
घुम्ती शिक्षक
रेडियो र टीभीबाट प्रभावकारी पठनपाठन गर्न नसकिने दुर्गम स्थानीय तहमा टोलटोलमा घुम्ती शिक्षक खटाउने तयारी कतिपय जनप्रतिनिधिले गरेका छन् । अभिभावकले घरैमा बालबालिकालाई पठनपाठनको वातावरण बनाउने र पठनपाठनमा आवश्यक सहजीकरण गाउँमै भएका शिक्षकले घुम्ती रूपमा घरमा पुगेर सिकाउने गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।
नेपालको भूगोल हिमाल, पहाड र तराई भएकाले ठाउँ अनुसारको पठनपाठन विकल्प खोज्नुपर्छ, सोही विकल्पमा हामी जुटेका छौँ, अध्यक्ष सेनले बताउनुभयो ।