logo
२०८१ मंसिर ८ शनिवार



दस लाख परिवारलाई राहत

मुख्य समाचार |


दस लाख परिवारलाई राहत


नगेन्द्र सापकोटा

काठमाडौँ, वैशाख २० गते । बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
शुक्रबारसम्म सातवटै प्रदेशमा १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले एक महिनाअघि बन्दाबन्दीबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक र मजदुरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा मन्त्रालयले राहत वितरणका लागि नमुना मापदण्ड जारी गरी ७५३ वटै स्थानीय तहलाई पठाएको थियो ।
असङ्गठित क्षेत्रमा कार्यरत विभिन्न श्रमिक र दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई एकद्वार प्रणालीबाट स्थानीय तहले राहत सामग्री वितरण गरेको हो । कतिपय स्थानीय तहमा अझै पनि राहत सामग्री वितरण कार्य जारी रहेको र कतिपय स्थानीय तहले राहत सामग्रीको विवरण मन्त्रालयमा पठाउन ढिलो गरेकाले उक्त सङ्ख्याभन्दा थप धेरै घरपरिवारलाई राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहमा राहत पाउने लाभग्राहीको यकिन तथ्याङ्क राख्न सातवटै प्रदेशमा एक÷एक जना उपसचिव परिचालन गरी सोको तथ्याङ्क अद्यावधिक गर्दै आएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार स्थानीय तहले वितरण गरेका राहत सामग्रीमा चामल १० देखि ३० किलोसम्म, नुन दुईदेखि चार पाकेट, दाल दुईदेखि तीन किलो, तेल दुईदेखि चार लिटर र साबुनलगायत छन् । प्रतिघरपरिवारलाई प्रदान गरिएको राहत सामग्रीको मूल्य एक हजार दुुई सयदेखि एक हजार सात सय रुपियाँसम्म रहेका छन् । सबै स्थानीय तहमा एउटै परिमाणमा राहत सामग्री वितरण नभएकाले सबैको छुट्टाछुट्टै विवरण सङ्कलन नभएको उहाँले बताउनुभयो ।
मन्त्रालयले पठाएकै मापदण्ड अनुसार स्थानीय तहका जनप्रतिनिधिले असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामग्री वितरण गरेका हुन् तर कतिपय स्थानीय तहमा भने असङ्गठित क्षेत्रभन्दा बाहिरका व्यक्तिले पनि राहत सामग्री वितरण गरेका र राहत सामग्री गुणस्तरहीन भएको गुनासो मन्त्रालयमा आएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?