logo
२०८० चैत्र १६ शुक्रवार



एकल लगानीको कारोबार डेढ खर्ब

मुख्य समाचार |


एकल लगानीको कारोबार डेढ खर्ब


विश्वास रेग्मी

काठमाडौँ, जेठ ७ गते । एक जना मात्र व्यक्तिले सञ्चालन गरेको व्यवसायले वार्षिक एक खर्ब ५१ अर्ब रुपियाँ आम्दानी गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को दोस्रो संस्करणको प्रतिवेदनले यस्ता व्यवसायको कुल वार्षिक खर्च ९६ अर्ब १९ करोड रुपियाँ हुने र बाँकी ५५ अर्ब ६८ करोड रुपियाँ नाफा आर्जन गर्ने देखाएको छ ।
आर्थिक गणनाको पहिलो प्रतिवेदनले देशभर नौ लाख ९२४ उद्योग व्यवसाय सञ्चालनले वार्षिक २९ खर्ब १६ अर्ब रुपियाँ आम्दानी गर्ने उल्लेख गरेको थियो । यी सबै व्यवसायमा गरेर ३१ लाख १५ हजार व्यक्ति संलग्न थिए ।
दोस्रो संस्करणको उक्त प्रतिवेदनअनुसार एक व्यक्ति संलग्न त्यस्ता व्यवसायको प्रतिव्यवसाय नाफा भने वार्षिक एक लाख ६२ हजार रुपियाँ छ । प्रतिव्यवसाय वार्षिक आम्दानी चार लाख ४१ हजार रुपियाँ छ । एक व्यक्ति संलग्न त्यस्ता व्यवसायमध्ये क्षेत्रगत रूपमा धेरै आम्दानी गर्नेमा थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मतसँग सम्बन्धित व्यवसाय छ । यो क्षेत्रले वार्षिक ८३ अर्ब ५८ करोड रुपियाँ आम्दानी गरेको देखिन्छ । त्यसपछि एक व्यक्ति संलग्न आवास व्यवस्थापन तथा खाना व्यवस्थापनसम्बन्धी व्यवसायले २२ अर्ब ६६ करोड रुपियाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम भने घरजग्गा कारोबार गर्ने व्यवसाय छ, जसको आम्दानी छ करोड ५० लाख रुपियाँ छ ।
सङ्ख्यात्मक रूपमा दुई व्यक्ति संलग्न व्यवसायले वार्षिक दुई खर्ब ५२ अर्ब रुपियाँ आम्दानी गरेको देखिन्छ । तीन व्यक्ति संलग्न व्यवसायले एक खर्ब ३३ अर्ब, चार व्यक्ति संलग्न व्यवसायले एक खर्ब तीन अर्ब, पाँच व्यक्ति संलग्न व्यवसायले ८६ अर्ब १७ करोड वार्षिक रूपमा आम्दानी गरेको प्रतिवेदनले जनाएको छ । १० देखि १९ व्यक्ति संलग्न व्यवसायले दुई खर्ब ६४ अर्ब, २० देखि ४९ व्यक्ति संलग्न व्यवसायले तीन खर्ब ३८ अर्ब, ५० देखि ९९ व्यक्ति संलग्न व्यवसायले दुई खर्ब ७५ अर्ब रुपियाँ आर्जन गरेको आर्थिक गणनाले देखाएको छ । एक सयदेखि ४९९ जनासम्म संलग्न व्यवसायले छ खर्ब ४० अर्ब, पाँच सयदेखि ९९९ सम्म संलग्नले तीन खर्ब ३१ अर्ब र हजारभन्दा बढी व्यक्ति संलग्न व्यवसायले वार्षिक एक खर्ब २९ अर्ब रुपियाँ आम्दानी गरेको पाइएको छ ।
तथ्याङ्क विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा गत वर्ष वैशाख १ देखि जेठ ३१ सम्म पहिलो पटक आर्थिक गणना गरेको थियो । आर्थिक गणनाका क्रममा विभिन्न १७ वटा क्षेत्रगत विवरण सङ्कलन गरिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?