logo
२०८० चैत्र १५ बिहीवार



‘अर्थतन्त्रमा सङ्कट आएको छैन’

अर्थ |


‘अर्थतन्त्रमा सङ्कट आएको छैन’


काठमाडौँ, चैत २९ गते । अत्यधिक आयात वृद्धि र कर्जा विस्तारका कारण अर्थतन्त्र दबाबमा परेको चर्चाबीच अर्थमन्त्री जनार्दन शर्माले सङ्कट भने नआइसकेको स्पष्ट पार्नुभएको छ । वर्तमान अर्थतन्त्रबारे जानकारी दिन अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा उहाँले बाहिर हल्ला भएजस्तो अर्थतन्त्र समस्यामा नरहेको बताउनुभएको हो । “कतिपयले हल्ला गरेजस्तो अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन,” उहाँले भन्नुभयो । अर्थतन्त्रको विद्यमान अवस्थाका सम्बन्धमा राजनीति भएको अर्थमन्त्रीको भनाइ थियो । “अर्थतन्त्रलाई स्वाभाविक गतिमा जान दिनुपर्छ, यसमा राजनीति गर्नु राम्रो होइन,” उहाँले भन्नुभयो, “बाहिरतिर जुन प्रचार गरिएको छ, त्यो उपयुक्त छैन ।”

अर्थतन्त्रबारे सत्यभन्दा पनि भ्रम फैलाउने काम भइरहेकोमा अर्थमन्त्रीको गुनासो थियो । “चुनाव खर्च पनि दिन नसक्ने, वृद्धभत्ता पनि दिन नसक्ने अवस्था आयो भनेर भ्रममात्र फैलाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “चाहिएको समयमा रकम निकासा हुन्छ, अपुग भए थप्न पनि सकिन्छ । बाहिर भएका हल्ला अफवाहमात्र हुन् ।”

नेपालको वर्तमान अर्थतन्त्रको अवस्थालाई श्रीलङ्कासँग दाँजेर भएको चर्चालाई उहाँले ‘राष्ट्रघात’को संज्ञा दिनुभयो । कतिपयलाई श्रीलङ्काजस्तो बनाउने रहर भए पनि मुलुकलाई त्यसतर्फ जान नदिइने उहाँको भनाइ थियो । आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घटेको र लक्ष्यभन्दा धेरै कर्जा विस्तार भएका कारण अर्थतन्त्र दबाबमा परे पनि त्यसको समाधानतर्फ प्रयास भइरहेको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।

यसका लागि विपे्रषण आप्रवाह बैङ्कमार्फत गराउने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुँजीगत खर्च बढाउनेजस्ता काममा मन्त्रालय अग्रसर भइसकेको उहाँले बताउनुभयो ।

त्यस्तै, सार्वजनिक बिदाको दिन अनुमतिविना सरकारी सवारीसाधन प्रयोगमा रोक लगाउने, सरकारी निकायको पेट्रोलियम इन्धन खपत २० प्रतिशतले घटाउने, गैरआवासीय नेपालीलाई प्रारम्भिक सेयर निष्कासनमा विशेष आरक्षण प्रदान गर्नेजस्ता काम अघि बढाइसकेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, आन्तरिक उत्पादन वृद्धि र कृषि क्षेत्रको प्रवद्र्धनका लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो ।

कर्जा विस्तार तथा आयात वृद्धिका कारण अर्थतन्त्रमा समस्या आउन सक्नेतर्फ मन्त्रालयले बारम्बार सचेत गराए पनि राष्ट्र बैङ्कले त्यसतर्फ समयमा भने ध्यान दिन नसकेको उहाँले बताउनुभयो । “चालू आर्थिक वर्षमा १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य ३२ प्रतिशतसम्म पुग्यो,” उहाँले भन्नुभयो, “त्यति धेरै कर्जा जाँदा उत्पादन क्षेत्रमा सकारात्मक प्रभाव हुनुपर्ने भए पनि त्यो देखिएन ।” त्यस्तै, सहुलियतपूर्ण कर्जाको प्रवाह भए पनि कहाँ खर्च भयो, त्यसको जानकारी नभएको उहाँले बताउनुभयो । अहिले अनुत्पादक क्षेत्रमा जाने कर्जा नियन्त्रणको प्रयास भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्र दबाबमा भए पनि सकारात्मक सङ्केत पनि देखापरिरहेको जानकारी दिनुभयो । “पर्यटक आउनेक्रम बढिरहेको छ, राजस्व पनि लक्ष्यअनुसार उठिरहेको छ र विपे्रषण पनि भइरहेकाले अर्थतन्त्र चलायमान हुन थालेको छ,” उहाँले भन्नुभयो । अर्थतन्त्र खत्तम भयो भनेर हुने हल्लाले राष्ट्रका लागि फाइदा नहुने उहाँको भनाइ थियो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आयातमा गरिएको कडाइ अल्पकालीनमात्र भएको जानकारी दिनुभयो । बढ्दो आयात घटाउन तत्कालका लागि उपयुक्त उपायका रूपमा आयातमा कडाइ गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?