logo
२०८१ बैशाख ७ शुक्रवार



न्यून गुणस्तरको दूरसञ्चार सेवा

अर्थ |


न्यून गुणस्तरको दूरसञ्चार सेवा


काठमाडौँ, फागुन ५ गते । राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा फरकफरक समयमा गरेको ‘ड्राइभ टेस्ट’ले तोकिएको सेवाको गुणस्तर पूरा गर्न सेवा प्रदायक असफल भएको देखाएको हो ।

गत पुस १६ देखि २७ गतेसम्म उपत्यकाका फरक स्थानमा गरिएको उक्त परीक्षणले भ्वाइस कलका लागि तोकिएको मापदण्ड नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले पूरा नगरेको देखाएको छ । परीक्षणअनुसार कल सम्पर्क सफल हुने दरमा तीनै सेवा प्रदायक असफल भएका छन् । प्राधिकरणले कल सम्पर्क हुने दर ९९.९९ प्रतिशत तोकेकामा परीक्षणबाट टेलिकमको औसत दर ८९ प्रतिशत मात्र पाइएको छ । एनसेलको यस्तो दर ९२ प्रतिशत छ भने स्मार्ट टेलिकमको ७२ प्रतिशत मात्र छ ।

कल सम्पर्क हुने समय पूरा गर्न पनि तीनवटै सेवा प्रदायक असफल छन् । पाँच सेकेन्डभन्दा कम समयमै कल सम्पर्क हुनुपर्ने मापदण्ड रहेकामा टेलिकमको कल सम्पर्क दर औसतमा ९.३२ सेकेन्ड रहेको छ । एनसेलको ६.२४ सेकेन्ड र स्मार्ट टेलिकमको ११.५४ सेकेन्ड रहेको छ । त्यस्तै कल ब्लक दर २ प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ ।

नेपाल टेलिकमको कल ब्लक दर औसतमा ११ प्रतिशत, एनसेलको ८ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ । कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) २ प्रतिशतभन्दा कम हुनुपर्नेमा टेलिकमको ४.३८ प्रतिशत रहेको छ । एनसेलले भने यो मापदण्ड पूरा गरेको छ । परीक्षणमा एनसेलको कल ड्रप दर औसतमा १.१८ प्रतिशत रहेको छ । स्मार्ट टेलिकमको यस्तो दर १० प्रतिशत रहेको परीक्षणले देखाएको छ ।

समग्रमा भ्वाइस कलका लागि प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू पूर्ण रूपमा सफल नदेखिएको परीक्षणले देखाएको छ । सेवा प्रदायकहरूमध्ये उपत्यकाभित्र एनसेलको भ्वाइस कल गुणस्तर तुलनात्मक रूपमा राम्रो देखिएको छ । त्यसपछि टेलिकम र स्मार्ट टेलिकम रहेका छन् । प्राधिकरणले परीक्षणका क्रममा सेवा प्रदायकको आफ्नै नेटवर्कभित्रमा कल गरेर यस्तो तथ्याङ्क सङ्कलन गरेको जनाएको छ । यो विधिमा चलिरहेको सवारीसाधनमा जोडिएको उपकरणद्वारा परीक्षण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?