logo
२०८१ बैशाख ८ शनिवार



पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’

मुख्य समाचार |
पर्यटन |


पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’
फाइल तस्बिर


विश्वास रेग्मी

काठमाडौँ, जेठ १० गते । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा टिक्ने आधार बजेटले बनाइदिनुपर्छ । अन्यथा पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था आउन सक्छ, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्नुहुन्छ ।
पर्यटन व्यवसायीहरू यतिबेला पहिले यही क्षेत्रमा टिक्नसक्ने वातावरणको आशमा छन् । सन् २०२० मा अब कुनै पनि पर्यटकीय गतिविधि नहुनेमा उनीहरू ढुक्क छन् । महामारीको शृङ्खला कति लम्बिने हो, त्यसको यकिन नहुँदाको दोधारमा पनि छन् उनीहरू । त्यसैले बजेटबाट कम्तीमा २० अर्ब रुपियाँ बराबरको राहत प्याकेज आउनुपर्ने माग पर्यटन व्यवसायीको छ । “यो क्षेत्रमा आश्रित कर्मचारीलाई पलायन हुन नदिन पनि त्यति रकम बराबरको रोजगार संरक्षण कोष बजेटबाट आउनुपर्छ,” शाह भन्नुहुन्छ ।
ब्याजदर, व्यवसाय सञ्चालनका लागि तिर्नुपर्ने भाडा र भविष्यको अनिश्चितताले पनि गाँजेको छ पर्यटन व्यवसायीलाई । ब्याज त अहिलेभन्दा घटाउनैपर्छ अनि किस्ता तिर्ने समय पनि कम्तीमा दुई वर्ष बजेटमा बढाउनुपर्छ, टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भन्नुहुन्छ । महिनाको १५ हजार भाडा पनि तिर्न नसक्ने अवस्थाका साना तथा मझौला पर्यटन व्यवसायीसमेत भएकाले त्यस्ता व्यवसायीका लागि कम्तीमा २० लाख रुपियाँको प्याकेज बजेटले छुट्याउनुपर्ने उहाँको भनाइ छ ।
समस्याका बीच पर्यटन व्यवसायीलाई सरकारले अघि सारेको पर्यटन बिदाको प्रस्तावले पनि थोरै पनि उत्साही बनाएको छ । बजेटले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न जसरी पनि पर्यटन बिदामा जोड दिनैपर्छ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
(नाट्टा)का पूर्वअध्यक्ष सीएन पाण्डे भन्नुहुन्छ । त्यसरी आन्तरिक घुमघाममा निस्कने व्यक्ति पर्यटन बिदाका लागि अनुमति पाएको ट्राभल एजेन्सीमार्फत नै जानुपर्ने व्यवस्था गरिनुपर्ने उहाँको माग छ । पर्यटन बिदालाई प्रभावकारी बनाउन सरकार र यसअन्तर्गतका सबै कर्मचारी, ठूला कर्पोरेट कम्पनीका कर्मचारी र रोटरी तथा लायन्सजस्ता संस्थामा आबद्ध व्यक्तिलाई घुमघाममा बजेटबाट प्रोत्साहन अथवा अनिवार्य नै गर्नुपर्ने हानमा प्रथम उपाध्यक्ष शाहको भनाइ छ ।
पर्यटन क्षेत्रमा संलग्न कर्मचारी निश्चित क्षमतासहितको हुने भएकाले त्यस्ता व्यक्तिलाई पलायन हुन नदिन तत्काल रोजगारीका अन्य विकल्प पनि सरकारले खोज्नुपर्ने सुझाव पर्यटन व्यवसायीको छ । त्यस्तै बजेटमा पर्यटन दशक उल्लेख हुनुपर्ने विषयलाई पनि पर्यटन व्यवसायीले आफ्नो सुझावका रूपमा प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?