logo
२०८१ मंसिर ८ शनिवार



वडा वडामा क्वारेन्टाइन आवश्यक

मुख्य समाचार |


वडा वडामा क्वारेन्टाइन आवश्यक


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ १२ गते । कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहे पनि त्यस अनुरूप स्थानीय तहमा क्वारेन्टाइन बन्न सकेका छैनन् । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा थपिएको चुनौतीसँगै वडा वडामा क्वारेन्टाइन आवश्यक भएको छ ।
विदेशबाट तत्काल ल्याउन लागेका झन्डै चार लाखभन्दा बढी नेपालीलाई अझै धेरै क्वारेन्टाइन आवश्यक पर्ने भए पनि त्यस अनुरूपको तयारी भएको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक स्थानीय तहका वडामा क्वारेन्टाइनको सङ्ख्या अत्यावश्यक भएको स्पष्ट पारेको छ । सरकारले क्वारेन्टाइन निर्माणको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा स्थानीय तहका वडामा क्वारेन्टाइन निर्माण गर्नुको विकल्प नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तहका वडामा निर्माण हुने क्वारेन्टाइनमा आवश्यक समन्वय प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिले गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले यही गतिमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने केही समयपछि स्थिति अझै जटिल हुन सक्छ, त्यसको पूर्व तयारी गर्न अहिलेदेखि नै वडा तहमा क्वारेन्टाइन निर्माण गर्नुपर्छ भन्नुभयो ।
उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको कोषमा पर्याप्त बजेट छ । उक्त बजेट खर्च हुन सकेको छैन । सोही बजेट र स्थानीय तहको पनि लागत साझेदारीमा स्थानीय तहको वडामा क्वारेन्टाइन निर्माण गर्न सकिन्छ ।

बजेटको अभाव छ : जनप्रतिनिधि
स्थानीय तहका जनप्रतिनिधिले वडा तहमा क्वारेन्टाइन निर्माण गर्न बजेटको अभाव भएको बताएका छन् । स्थानीय तहले खडा गरेको राहत कोषको रकम राहत वितरणमै सकिएकाले वडा तहमा क्वारेन्टाइन निर्माण गर्न बजेट अभाव भएको जनप्रतिनिधिको भनाइ छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कोषाध्यक्ष एवं सल्यान जिल्लाको कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगरले अहिलेसम्म स्थानीय सरकारले कोरोना महाविपत्तिको भार थामिरहेकाले थप भार थाम्न बजेट अभाव भएको बताउनुभयो ।
उहाँले बजेट हुने हो भने प्रत्येक वडा तहमा क्वारेन्टाइन बनाउन सकिन्छ, स्थानीय सरकारसँग भएको बजेट विकास निर्माणको काममा सकियो, थप कामका लागि सङ्घीय वा प्रदेश सरकारले बजेट दिनुपर्छ भन्नुभयो ।
स्थानीय तहमा सक्षम जनशक्ति भएकाले काम गर्न बजेट उपलब्ध गराउनसमेत उहाँले सङ्घीय सरकारलाई आग्रह गर्नुभयो ।

बजेटको अभाव हुँदैन
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडा तहमा क्वारेन्टाइन निर्माण गर्न सकिने र त्यसका लागि कुनै स्रोतको अभाव नहुने बताउनुहुन्छ । उहाँका अनुसार अहिले जिल्ला विपत् व्यवस्थापन कोष, स्थानीय तहसँग पनि रकम छ । सो रकम उचित तरिकाले परिचालन गर्ने हो भने वडा तहमा क्वारेन्टाइन निर्माण गर्न कुनै समस्या हुँदैन ।
यसैगरी उहाँले सङ्घीय सरकारले निर्माण गरेको क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार नै वडा तहमा निर्माण गर्न सकिन्छ । काम गर्ने योजना बनाएपछि पैसाको अभाव हुँदैन । विभिन्न निकायसँग भएको रकम परिचालन गर्ने हो भन्नुभयो ।
ललितपुरमा अहिले जिल्लाभित्र भएका पार्टी प्यालेस, होटल, सामुदायिक भवन, स्कुल, कलेज लगायतका ठाउँमा सम्भावित क्वारेन्टाइन निर्माण गर्न विवरण तयार हुँदैछ ।

क्वारेन्टाइनको मापदण्ड
सङ्घीय सरकारले निर्माण गरेको क्वारेन्टाइन निर्माणको मापदण्डमा घरबस्तीबाट टाढा रहेको स्थानमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने, क्वारेन्टाइन स्थलमा सञ्चार, स्वास्थ्य, सडक र पानीको व्यवस्था हुुनुपर्ने छ । यसैगरी सम्भव भएसम्म एक सयभन्दा बढी व्यक्ति राख्न पुग्नेगरी क्वारेन्टाइन निर्माण गर्नुपर्ने, क्वारेन्टाइनका लागि सरकारी वा सार्वजनिक संस्थाका भवन, होटल, विद्यालय, तालिम केन्द्रलाई क्वारेन्टाइनका रूपमा निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
सार्वजनिक भवनलाई क्वारेन्टाइनका रूपमा बनाउन सम्भव नभएमा खुला चौरमा अस्थायी पाल वा अन्य संरचना निर्माण गरी क्वारेन्टाइन निर्माण गर्न सकिन्छ । गर्भवती र बालबालिकालाई लक्षित गरी छुट्टै क्वारेन्टाइन निर्माण गर्नुपर्ने उक्त मापदण्डमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?