logo
२०८१ बैशाख ८ शनिवार



बजेट यथार्थपरक, कार्यान्वयन चुनौतीपूर्ण

मुख्य समाचार |


बजेट यथार्थपरक, कार्यान्वयन चुनौतीपूर्ण


विश्वास रेग्मी

काठमाडौँ, जेठ १९ गते । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट आकार र समावेश भएका कार्यक्रमका हिसाबले यथार्थपरक रहे पनि कार्यान्वयन उत्तिकै चुनौतीपूर्ण रहेको सांसदहरूले बताउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण बजेट खर्च र आम्दानी मिलाउन कठिन हुन सक्ने सांसदहरूको भनाइ छ ।
छलफलको सुरुवातमा अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाको सङ्क्रमण जोखिमबाट जीवनरक्षा गर्दै जीवन सहज तुल्याउने र जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापमा निरन्तरता दिने मुख्य दुई उद्देश्यमा बजेट केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
मुलुकमा निर्माण भएको पुँजी क्षय हुन नदिई आर्थिक पुनरुत्थान गर्न सुरक्षा अपनाएर गतिविधि अगाडि बढाउने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्ने, राहत उपलब्ध गराउने, आत्मनिर्भर अर्थतन्त्र बनाउन व्यावसायिक कृषि कार्यक्रम र रोजगारी सिर्जना गर्न तत्काल लाभ प्राप्त हुने कार्यक्रमलाई बजेटले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।
नेकपाका सांसद विष्णु पौडेलले कोरोना भाइरस रोग (कोभिड–१९) को सामना गर्ने, आर्थिक पुुनरुत्थान गर्ने र सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने किसिमले बजेट आएको बताउनुभयो । उहाँले बजेट स्रोत व्यवस्थापन र विनियोजनका हिसाबले पनि यथ(ार्थपरक छ, अधिकतम प्रतिफल दिनेछ भन्ने मेरो ठम्याइ छ भन्नुभयो । बजेटको प्रभावकारी कार्यान्वयन हुनसके आजका दिनको चुनौती समाधान गर्न समर्थ हुन सकिने उहाँले बताउनुभयो । बजेटको आकार गत वर्षको तुलनामा चार प्रतिशतले कम रहेको र यसले आजको यथार्थलाई स्वीकार गरेको उहाँको भनाइ थियो ।
पूर्व प्रधानमन्त्री तथा सङ्घीय समाजवादीका सांसद डा. बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र १३.६ प्रतिशतले खुम्चने अनुमान भइरहँदा बजेटमा समष्टिगत आर्थिक सूचकाङ्क सन्तोषजनक छन् भन्नु गलत छ भन्नुभयो । बजेट परिस्थितिको मूल्याङ्कन गरेरभन्दा पनि परम्परागत ढङ्गले नै आएको उहाँको भनाइ छ । यसैगरी उहाँले हामीलाई जेटको गतिमा उड्नु छ तर कछुवाको तालमा सुधारको कुरा आएको छ भन्नुभयो ।
नेपाली काँगे्रसका सांसद प्रकाशमान सिंहले कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव आकलनभन्दा बढी हुन्छ भन्ने कुरामा बजेटले बेवास्ता गरेको बताउनुभयो । त्यस्तै खर्च व्यहोर्ने स्रोत प्राप्त गर्न मुस्किल हुने उहाँको बुझाइ छ  ।
सांसद सुरेन्द्र पाण्डेले बजेट विगत वर्षको तुलनामा अझ खुम्चिएर आएको, राजस्वमा आउन सक्ने गिरावट र खर्चलाई ध्या(नमा राखेरै आएकाले महìवाकाङ्क्षी नभएको
बताउनुभयो । यद्यपि बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न थुप्रै चुनौती रहेको उहाँले बताउनुभयो ।
चालू खर्चमा राजस्व परिचालन बाहेक ऋण खर्च नहुने गरी तयारी गर्नुपर्ने उहाँको सुझाव थियो । यद्यपि आर्थिक वृद्धिको लक्ष्य बढी भए पनि आशा जगाउने हिसाबले काम गर्न सकिने उहाँले बताउनुभयो ।
सांसद डा. मीनेन्द्र रिजालले सङ्कट समाधान गर्ने कल्पनाशील क्षमता बजेटमा नदेखिएको
बताउनुभयो । उहाँले बजेट संयम त देखिएको छ, कोरोनाका कारण शिथिल अर्थतन्त्रका बारेमा भने उल्लेख छैन भन्नुभयो । सङ्क्रमणको प्रभाव कति रहन्छ भन्ने यकिन नभएकाले तत्काल तीन÷चार महिनाको योजना ल्याउने र राष्ट्रिय सहमतिका आधारमा पूरक अनुमान ल्याउनु उपयुक्त हुने उहाँको सुझाव थियो । यसैगरी उहाँले सुरुमा बजेटको आकार ठिकै लागेको थियो तर संशोधित अनुमान हेर्दा लक्ष्य धेरै देखिए । आर्थिक वृद्धिदर सात प्रतिशत भनिएको छ त्यो सम्भव छैन भन्नुभयो ।
सांसद राजेन्द्र महतोले बजेटबाट जनता उत्साहित हुने अवस्था नदेखिएको बताउनुभयो । कोरोनाबाट थप आक्रान्त हुन सक्ने अवस्थामा जनताको स्वास्थ्यको रक्षा गर्ने विषय बजेटले नसमेटेको उहाँको भनाइ छ । सांसद पम्फा भुसालले कोरोनाको महामारीका बीच आएको बजेट आकारमा सानो भएकाले यथार्थपरक रहेको बताउनुभयो । उहाँले खर्च कटौतीको पक्ष सकारात्मक छ, स्वास्थ्यमा ठूलो बजेट छुट्याइएको छ जुन राम्रो छ । राहतका कार्यक्रम, तत्काल सङ्कट, रोजगारी सिर्जना गर्ने कुरा पनि राम्रा नै छन् तर कार्यान्वयनमै चुनौती छन् भन्नुभयो ।
सांसद मातृकाप्रसाद यादवले आम्दानी कम भएको अवस्थामा बजेटमा बढी खर्च राखिएको बताउनुभयो । सांसद भरतकुमार शाहले बजेटले जनताको दैनिक समस्यामा ध्यान नदिएको र बजारमा माग बढाउने कार्यक्रम नराखिएको बताउनुभयो । सांसद कृष्णप्रसाद दाहालले कोरोनाका कारण संसारकै अर्थतन्त्र खुम्चिएको अवस्थामा वास्तविकताका आधारमा विगतको तुलनामा बजेट खुम्चिएको बताउनुभयो ।
सांसद विनोदकुमार चौधरीले बजेट आकलनको आधार बढी आशावादी भएको बताउनुभयो । उहाँले १० महिना बजार अर्थतन्त्र चलायमान हुँदा करिब ८ खर्ब राजस्व उठ्ने लक्ष्य थियो, साउनबाटै प्रिकोभिडको स्थिति आयो भने पनि बजेटको लक्ष्य अनुसार करिब १० खर्ब राजस्व उठ्न सम्भव छैन भन्नुभयो ।
बजेट प्रस्ताव उपर सांसद बालकृष्ण खाँड, दुुर्गा पौडेल, सूर्यप्रसाद पाठक, पे्रम सुवाल, खगराज अधिकारी, उमेश श्रेष्ठ, किसान श्रेष्ठ, मानबहादुर विश्वकर्मा, सुरेशचन्द्र दास, विरोध खतिवडा, रामकुमारी चौधरी, थममाया थापा, यज्ञबहादुर बोगटी, पुष्पा भुसाल गौतम लगायतले बजेट प्रस्ताव उपर आफ्नो धारणा राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?