logo
२०८१ श्रावण १२ शनिवार



म्यानमार र यूएईबाट १९५ जना फर्के

प्राथमिकताका आधारमा विदेशबाट नेपाली ल्याउन सुरु

मुख्य समाचार |


म्यानमार र यूएईबाट १९५ जना फर्के


चाँदनी हमाल

काठमाडौँ, जेठ २४ गते । विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार कार्य शुक्रबारदेखि सुरु भएको छ । कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी रूपमा चर्किरहेका बेला विभिन्न देशमा अप्ठेरोमा परेका नेपाली नागरिकलाई सरकारले प्राथमिकताका आधारमा उद्धार गरी स्वदेश फर्काउने क्रम सुरु गरेको हो ।
उद्धारको पहिलो चरणमा शुक्रबार १९५ जना नेपाली नागरिक नेपाल फर्किएका छन् । जसमध्ये २६ जना म्यानमारबाट र यूएईबाट १६९ जना नेपाली स्वदेश फर्केका हुन् । यूएईमा मृत्युवरण गरेका एक नेपालीको शव पनि सोही जहाजमार्फत ल्याइएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार, नेपाली फिर्ता ल्याउने प्रक्रियामा दुवैतर्फ कुरा मिलेकाले उडान समय परिवर्तन गरेर भए पनि नेपाली नागरिकको उद्धार गरिएको हो । यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि शुक्रबार बिहानको उडान स्थगित भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एयर अरेबियाको एबीवाई–१७५१ नम्बरको फ्लाइटको जहाज दिउँसो करिब दुई बजे नेपालतर्फ उडेको थियो । यूएईको जहाज नेपाली नागरिक लिएर बेलुका ५.३८ बजे नेपालको भूमिमा उत्रेको थियो ।
यूएईबाट आएका नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पु¥याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । यूएईबाट आएकामध्ये प्रदेश १ का ४६, प्रदेश २ का २३, बाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना छन् । एक बालकको भने प्रदेश खुलाइएको छैन ।

म्यानमारबाट २६ आए
यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक शुक्रबार बिहान नेपाल फर्केका थिए । म्यानमारबाट बिहान ८.३८ बजे उडेको जहाजबाट बिहान १०.५१ बजे काठमाडौँमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता कर्णले बताउनुभयो ।
एमएएच–००३ नम्बरको फ्लाइटको फोकर ७० नामको म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत नेपाली स्वदेश फर्केका हुन् । म्यानमारबाट आएकामध्ये बाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका चार, प्रदेश १ का चार र प्रदेश ५ का एक जना रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । ४१ जना म्यानमारका नागरिक र दुई जना नेपाली नागरिक लिएर सो जहाज फर्केको थियो । म्यानमारबाट आएका एक जनाबाहेक सबै आ–आफ्नो घर फकेका छन् ।

करिब २५ हजार नेपालीको उद्धार गरिने
सरकारले भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोेजेकालाई पहिलो प्राथमिकतामा राखेको छ ।
सरकारले जेठ १२ गते विदेशमा अप्ठेरोमा नेपाली स्वदेश ल्याउन विभिन्न समितिलाई निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार फर्कन चाहनेमध्ये आउनैपर्ने अवस्थाका २५ हजार जना नेपालीलाई स्वदेश फिर्ता ल्याउन पहल भइरहेको छ ।
परराष्ट्र प्रवक्ता भरतराज पौडेलका अनुसार विभिन्न देशबाट नेपाली नागरिक स्वदेश ल्याउन विदेशस्थित राजदूतावास र कूटनीतिक नियोगसँग सहकार्य भइरहेको छ ।

होल्डिङ सेन्टरमा व्यवस्थापन
एयरपोर्टबाट होल्डिङ सेन्टरसम्म लगेर राख्ने जिम्मा भने नेपाली सेनाको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार होल्डिङ सेन्टरको तयारी पूरा छ । एयरपोर्टबाटै प्रदेश अनुसार विभाजन गरी छुट्टाछुट्टै बसमा होल्डिङ सेन्टर लैजाने व्यवस्था गरिएको छ । काठमाडौँमा स्काइडोर पार्टी प्यालेस सुकेधारा, कुण्डलिनी पार्टी प्यालेस बसुन्धरा र यति पार्टी प्यालेस बसुन्धरालाई होल्डिङ सेन्टर तय गरिएको हो । योबाहेक बढी मानिस भएको खण्डमा रिजर्भमा मिराकल पार्टी प्यालेस सुकेधारा पनि छ । काठमाडौँमा हजार जना मानिस अट्ने होल्डिङ सेन्टर व्यवस्था गरिएको छ ।
त्यसैगरी, भक्तपुरमा पनि एक हजार जना विदेशबाट आएका मानिस राखिने होल्डिङ स्थानको व्यवस्था गरिएको छ । त्यहाँ प्रदेश १ र प्रदेश २ घर भएका मानिस बस्ने छन् । इम्पिरियल पार्टी प्यालेस सूर्यविनायक र हेरिटेज पार्टी प्यालेस ठिमीमा एयरपोर्टबाट पिकअप गरेर मानिस पु¥याइने छ ।
त्यस्तै, ललितपुरमा नौ सय जना विदेशबाट फर्किएका नेपाली राख्ने योजना छ । त्यहाँ प्रदेश ६ र ७ का मानिस राखिने छ । डिलाइट पार्टी भेन्यु महालक्ष्मीस्थान र मण्डला पार्टी भेन्यु खरिबोट ग्वार्को र सिद्धार्थ कलेज धोबीघाटलाई होल्डिङ सेन्टर तय गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?