logo
२०८१ बैशाख ८ शनिवार



नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत

मुख्य समाचार |


नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत


विश्वास रेग्मी

काठमाडौँ, जेठ २८ गते । कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।
प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले भने चालू आर्थिक वर्षमा नेपालले २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । अर्को वर्ष (सन् २०२१) मा २.१ प्रतिशत पुग्ने अनुमान विश्व बैङ्कले गरेको छ । नेपालको चालू आर्थिक वर्षको प्रक्षेपण कम भए पनि दक्षिण एसियाली देशमा भने दोस्रो ठूलो हो । नेपालभन्दा अगाडि भारत छ, जसले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यद्यपि सन् २०२१ मा भने भारतको वृद्धिदर ३.२ प्रतिशतले ऋणात्मक हुनेछ ।
वृद्धिदरका हिसाबले नेपालपछि बङ्गलादेशको १.६ प्रतिशत र भुटानको १.५ प्रतिशत पुग्ने अनुमान छ । बाँकी सबै दक्षिण एसियाली देशको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण छ । माल्दिभ्सको सबैभन्दा बढी १३ प्रतिशत, अफगानिस्तानको ५.५ प्रतिशत, श्रीलङ्काको ३.२ प्रतिशत र पाकिस्तानको २.६ प्रतिशतले वृद्धिदर ऋणात्मक हुने विश्व बैङ्कको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक र सेवासम्बन्धी गतिविधि ठप्प रहेको, अन्तर्देशीय व्यापार घटेको तथा लकडाउनका कारण उपभोगमा आएको कमीले यस क्षेत्रको वृद्धिदर प्रभावित बनेको विश्व बैङ्कले जनाएको छ । त्यस्तै पर्यटनमा आधारित अर्थतन्त्रका रूपमा रहेका माल्दिभ्स, भुटान, नेपाल र श्रीलङ्काजस्ता देशको वृद्धिदर थप प्रभावित बनेको विश्व बैङ्कको निष्कर्ष छ ।
दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी
कोरोना महामारीका कारण विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो मन्दीमा फसेको प्रतिवेदनमा उल्लेख छ । दोस्रो विश्वयुद्धपछि पनि विश्वले विभिन्न चारवटा मन्दी बेहोरेको भए पनि अहिलेको मन्दी ती सबैभन्दा ठूलो हुने विश्व बैङ्कले जनाएको छ । महामारीका कारण यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदरमा ५.२ प्रतिशतको गिरावट आउने अनुमान छ । यस्तो गिरावटले विश्वका अधिकांश देशको प्रतिव्यक्ति आय सन् १८७० पछिकै सबैभन्दा धेरै घट्ने प्रक्षेपण पनि विश्व बैङ्कको छ । महामारीका कारण विकसित देशको अर्थतन्त्र ७ प्रतिशतले घट्ने र विकासशील मुलुकको अर्थतन्त्रमा २.५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरिएको छ । अमेरिकाको अर्थतन्त्रमा ६.१ प्रतिशतले गिरावट आउँदा युरोपेली अर्थतन्त्र ९.१ प्रतिशतले घट्नसक्ने अनुमान पनि विश्व बैङ्कको छ । विश्वव्यापी व्यापार, पर्यटन, वस्तु निर्यात र बाह्य वित्तीय गतिविधिमा निर्भर अर्थतन्त्रहरू महामारीका कारण सबैभन्दा धेरै प्रभावित बनेको अनुमान गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?