logo
२०८१ बैशाख ८ शनिवार



पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’

मुख्य समाचार |


पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’


विश्वास रेग्मी

काठमाडौँ, जेठ २९ गते । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।

“लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,” टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन् । यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ ।

९८४ र ९८६ बाट बढीमा टेलिकमले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । गत मङ्सिरमै प्रिपेडतर्फको दुई करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको छ ।

“अपरेटर कोडबाट सिर्जना हुने नम्बरको क्याप पूरा भएपछि अहिले रिसाइकल गर्दै निष्क्रिय सिमकार्डलाई पुनः सक्रिय बनाइरहेका छौँ,” अधिकारीले भन्नुभयो । प्राधिकरणको निर्देशनबमोजिम नै पुराना निष्क्रिय सिमकार्डलाई रिसाइकल गरिएको उहाँको दाबी छ । पुरानो नम्बरको चाहना गर्ने प्रयोगकर्तालाई पनि यसले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोग नभएका सिमकार्ड स्वतः निष्क्रिय गर्नुपर्ने निर्णय गरेको थियो । सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले त्यस्तो निर्णय गरेको थियो । यद्यपि सिमकार्ड निष्क्रिय गराउँदा आफ्ना प्रयोगकर्ताको सङ्ख्या घट्ने भयले सेवा प्रदायकले प्राधिकरणको उक्त निर्णय भने लागू गरेका छैनन् । थप सिमकार्ड नम्बर सिर्जना हुनसक्ने स्थिति नरहेपछि नेपाल टेलिकमले पहिलोपटक ठूलो सङ्ख्यामा निष्क्रिय सिमकार्ड प्रयोगमा ल्याउने काम सुरु गरेको हो ।

टेलिकमको यो कदमले कम्पनीको ग्राहक सङ्ख्या भने स्वात्तै घटेको छ । प्राधिकरणले सार्वजनिक गरेको चैत महिनासम्मको एमआईएस प्रतिवेदनअनुसार टेलिकमले मङ्सिरयता ४२ लाखभन्दा बढी प्रयोगकर्ताको सङ्ख्या गुमाउनुपरेको छ । यद्यपि टेलिकमले उक्त तथ्याङ्क पूर्ण रूपमा सही नभएको दाबी गरिरहेको छ ।

“सिमकार्ड रिसाइकल गर्दा १५ देखि २० लाखसम्म सङ्ख्या घटेको हो,” प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो, “तर एमआईएसमै देखाइएको बराबर भने होइन । ” प्राधिकरणका अनुसार गत मङ्सिरमा टेलिकमका दुई करोड १४ लाख ५३ हजार जीएसएम मोबाइल प्रयोगकर्ता रहेकामा चैतसम्म आइपुग्दा एक करोड ७१ लाख ३९ हजार पुगेको छ । एनसेलका भने एक करोड ६९ लाख ६१ मोबाइल प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले आफ्ना ग्राहक आधार २१ लाख पुर्याएको छ ।

सेवा प्रदायकहरूले सिमकार्ड रिसाइकल गर्दा ग्राहक आधारमा धक्का पुग्नसक्ने दूरसञ्चारविज्ञ आनन्दराज खनाल बताउनुहुन्छ । यद्यपि छ महिनाभन्दा लामो समय प्रयोग नगरे सिमकार्ड निष्क्रिय गर्नुपर्ने व्यवस्था रहेकाले रिसाइकल गरेर पनि कम्पनीले नम्बर सिर्जना गर्नसक्ने उहाँले बताउनुभयो ।

प्राधिकरणले २०७० मा नम्बरिङ योजना तयार गर्दा एउटा अपरेटर कोडबाट बढीमा एक करोड नम्बर सिर्जना हुनसक्ने र त्यो नेपाली बजारका लागि पर्याप्त हुने अनुमान गरिएको उहाँले बताउनुभयो । “अहिलेजस्तो यति धेरै सङ्ख्यामा ग्राहक सङ्ख्या बढ्नसक्छ भन्ने अनुमान त्यतिबेला गरिएको थिएन,” उहाँले भन्नुभयो ।

के हो मोबाइल नम्बरिङ ?
सम्बन्धित देशमा कस्तो मोबाइल नम्बर प्रयोगमा ल्याउने भन्ने तरिका नै मोबाइल नम्बरिङ हो । नेपालमा नियामक दूरसञ्चार प्राधिकरणले विश्वव्यापी प्रचलनमै रहेजस्तो १० अङ्कको मोबाइल नम्बरिङ व्यवस्था लागू गरेको छ । जसअनुसार ९ अङ्कबाट सुरु हुने नम्बरलाई मोबाइल कोड तय गरिएको छ ।

त्यसपछिका दुई अङ्क अपरेटर कोड मानिन्छन् । जस्तो, नेपाल टेलिकमका मोबाइल नम्बर ९ पछि ८४ अथवा ८६ बाट सुरु हुन्छन्, त्यो अपरेटर कोड हो । एनसेलको अपरेटर कोड ८० र ८१ हो । स्मार्ट टेलिकमको ८८ हो । अपरेटर कोडपछि रहने सातवटा अङ्क ग्राहकको आफ्नो मोबाइल नम्बर हो ।

प्राधिकरणले उपलब्ध गराएको अपरेटर कोडअनुसार स्मार्ट टेलिकमले एक करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । त्यस्तै दुईवटा अपरेटर कोड प्राप्त गरेको एनसेलले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । यो एनसेलको पोस्टपेडबाहेकको नम्बर हो । नम्बर अति महत्त्वपूर्ण र सीमित स्रोत मात्र भएकाले प्राधिकरणले निष्क्रिय सिमकार्डको प्रयोगलाई महत्तव दिएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?