logo
२०८१ श्रावण १२ शनिवार



विपद् घटाउने रणनीति

मुख्य समाचार |


विपद् घटाउने रणनीति


चाँदनी हमाल

काठमाडौँ, असार १० गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली यतिबेला बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद् न्यूनीकरण एकीकृत रणनीति कार्यान्वयनमा जुटेको छ ।
असार ५ गते गृहमन्त्रालयको विपद् जोखिम तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी प्रतिकार्य योजना २०७७ पास गरेलगत्तै प्राधिकरण यसको तयारीमा जुटेको हो ।
यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीसमेत चलिरहेकाले विपद् न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न मन्त्रालयसँग सहकार्य गर्दै एकीकृत योजना बनाइएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
विभिन्न मन्त्रालयसँगै प्रदेश, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न गैरसरकारी निकायको भूमिका तय गरेर कामको थालनी गरिएको पोखरेलले जानकारी दिनुभयो । सोही क्रममा कसले, कसरी प्रभावकारी भूमिका खेल्नसक्छ भन्ने विषयमा मङ्गलबार छलफल गरिएको छ ।
“यसपालि मनसुनको विपद्लाई जटिल रूपमा हेरेका छौँ, बाढी, पहिरोलगायत पानीजन्य रोगबाहेक कोरोनाको उच्च स्तरमा पुग्ने बेला रहेकाले संयुक्त रूपमा यसबाट सुरक्षित हुने तयारीमा छौँ,” उहाँले भन्नुभयो । जसका लागि बाढी र कोरोना दुवैको उच्च जोखिममा रहेका जिल्ला कुन हुन् भनेर छनोट गरिएको छ ।
त्यहाँको व्यवस्थापनका लागि छुट्टै तयारी गरिएको छ । उच्च जोखिम, मध्य जोखिम र कम जोखिम भएका जिल्ला विभाजन गरेर व्यवस्थापन गर्ने योजना रहेको पोखरेलले जानकारी दिनुभयो । सीसीएमसीमार्फत कार्ययोजना बनाएर अगाडि बढ्ने तय गरिएको छ । उद्धार गर्दा कसरी सुरक्षित हुने, त्यसपछि कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल गरिएको छ । बढीभन्दा बढी उच्च स्थानलाई प्रयोगमा ल्याएर बाढी र डुबानमा परेकालाई राहत दिने योजना बनेको छ ।
एकीकृत कार्ययोजनाअनुसार मुख्य अभिभारा स्थानीय तहको रहनेछ । त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, रेडक्रससहितको सहकार्यमा विपद् विरुद्धका उद्धार, राहत, पुनस्र्थापनालगायत हरेक कार्यको नेतृत्व गर्नेछन् । थप सहयोगी भूमिका जिल्ला प्रशासन कार्यालयलगायतका जिल्ला स्तरीय निकायले निर्वाह गर्नेछन् । स्वास्थ्यजन्य कार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका धेरै हुनेछ । राहत सामग्री, डुङ्गा, प्रतिकारका अन्य सामग्री, खाद्यपदार्थ, औषधिको लगत राखेर भण्डारण गर्ने र तुरुन्तै परिचालन गर्ने तयारी सुरु भएको छ ।

बढ्न थाल्यो नदीमा बहाव
देशभर मनसुन सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्न थालेको छ । त्यसैका कारण आउनसक्ने प्राकृतिक विपत्तिविरुद्ध जुट्न बाढी पूर्वानुमान महाशाखाले सरोकारवालालाई सचेत गराएको छ । एक साताअघिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
विभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जान सक्ने छ । पानीको राम्रो निकास नभएको तथा तराईका क्षेत्रमा डुबानसहितका प्राकृतिक विपत्ति आउने अनुमान महाशाखाले गरेको छ । यस वर्ष मनसुन जुन १२ मा नेपाल प्रवेश गरेलगत्तै देशैभर मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन र मनसुनलाई दृष्टिगत गरी आवश्यक पूर्वतयारीमा लाग्न मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार बुधबार प्रमुख तथा मझौला नदीमा बहाव बढ्नेछ । तर जल सतह सतर्कता तहभन्दा तलै रहनेछ । बिहीबारबाट कन्काई, कोसी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने जलविज्ञ सुनील पोखरेलले जानकारी दिनुभयो ।
जलसतह सतर्कता तह आसपास हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्भावित विपत्तिको अनुमान गर्दै महाशाखाले सुरक्षित रहन भन्दै विभिन्न नदी तटीय क्षेत्रका एक लाखभन्दा बढी मानिसलाई एसएमएस पठाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?