चाँदनी हमाल
काठमाडौँ, असार ११ गते । यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।
पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो ।
तर नेपालमा पहिरोको पूर्वसूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य । नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउनुहुन्छ । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उहाँले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याउनुभयो ।
सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्यायो र परियोजनाको प्रमुखका रूपमा अमात्यले जिम्मेवारी पाउनुभयो । चितवनको कविलास गाविसको नौ वडा केन्द्रित परियोजनाले त्यो पहाडी गाउँसँगै नारायणगढ–मुग्लिन सडकमा खस्ने पहिरोको पूर्वानुमान गर्ने लक्ष्य लिएको थियो ।
जापानको अनुभव नेपालको पहाडमा खन्याउँदै सुरु भएको परियोजनाअन्तर्गत प्रविधिजन्य सामग्री र परीक्षणको जिम्मा संस्थाकै थियो । पहिरो जाने प्रकृति थाहा पाउन माटो परीक्षण र वर्षाको मापन गर्नुपर्ने हुन्छ । कविलासको माटो परीक्षण गर्न नेपालमा प्रविधि नहुँदा जापानमा परीक्षण गरेको उहाँ स्मरण गर्नुहुन्छ ।
अर्कोतर्फ त्यस्तो खालको माटोमा कति मिलिलिटरको पानी प¥यो भने माटो चल्छ र झर्छ भन्ने अर्को पूर्वमूल्याङ्कन भने नेपालमै गरियो । सामान्यतया निरन्तर पानी परेमा पहिरो जान्छ भन्ने मान्यता छ ।
यसरी गरिन्थ्यो पूर्वानुमान
कार्ययोजनालाई कम्प्युटरमा प्रोग्रामिङ गरेर सफ्टवेयर निर्माण गरिएको विज्ञ अमात्य बताउनुहुन्छ । त्यसलाई गाविस भवनमा कम्प्युटरसहित सफ्टवेयर स्थापना गरियो । दोस्रो सफ्टवेयर सडक विभागको कार्यालयमा स्थापना गरियो । गाविसको जलउत्पन्न प्रकोप न्यूनीकरण विभागले हेर्ने र सडकको उसैले हेर्नेगरी तय भयो । जसका लागि कविलास र नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा स्वचालित वर्षामापन स्टेसन स्थापना गरियो ।
वर्षात्को खतरालाई ६०, ८० र १४० मिलिमिटरको तीनवटा चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो तहले थोरै सतर्क हुने, दोस्रोले बढ्दैछ र तेस्रोले खतराको घण्टी नै कम्प्युटरमा बजाउन थाल्छ, उहाँले थप्नुभयो । तेस्रो अवस्थामा पहिरो जाने ठाउँमा मानिसलाई अन्यत्र सार्नका लागि पूर्वसूचना दिइन्छ । पहिल्यै कुन ठाउँमा मानिसलाई सुरक्षित राख्न सकिन्छ भनेर नक्साङ्कन गरिए अनुसार सार्नका लागि पहल गरिन्छ ।
सफल भएको परियोजनाको सही परिचालन नहुँदा नेपालमा सुरु भएको पहिरो पूर्वानुमानको काम त्यसै तुहियो । तथापि पहाडी भूभागको वर्चश्व रहेको नेपालमा पहिरो आउनुअघि पूर्वसूचना दिन सकिन्छ भन्ने प्रमाणित भएको अमात्य बताउनुहुन्छ । अहिले हामीसँग प्रविधि छ, पहाडी नक्साको अध्ययन गरेर पूर्वानुमान गर्न सकिन्छ, उहाँले भन्नुभयो । देशको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतसम्मको असर पार्ने क्षति कम गर्न सरकारले पहिरो पूर्वसूचना प्रणाली सक्रिय गराउनुपर्नेमा उहाँको जोड छ ।