logo
२०८१ बैशाख २६ बुधवार



सङ्कटको साथी राष्ट्रिय ध्वजावाहक

मुख्य समाचार |


सङ्कटको साथी राष्ट्रिय ध्वजावाहक


विश्वास रेग्मी

काठमाडौँ,  असार १८ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारीले निम्त्याएको सङ्कटको समयमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपाल वायुसेवा निगमले पर्यटक उद्धार, मेडिकल उडान तथा स्वाब सङ्कलन लगायतका कार्यमा आफूलाई केन्द्रित गरेको छ ।
कोरोना नियन्त्रणका क्रममा औपचारिक बन्दाबन्दीको तीन महिना पूरा भइसक्दा निगमले ९० भन्दा बढी यस्ता उडान गरेर सङ्कटमा निगमको आवश्यकता पुष्टि गरेको छ । नेपालभित्रै फसेका विदेशी पर्यटकलाई आन्तरिक उडानमार्फत उद्धार गरेर काठमाडौँसम्म ल्याउने कामदेखि कोभिड–१९ को स्वाब सङ्कलनका लागि मेडिकल उद्धार उडानमा समेत निगमले आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । पछिल्लोपटक निगमले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने उद्धार उडानमा पनि सक्रियता देखाएको छ । निगमका अनुसार २५ देशमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण उडान यसबीचमा भएको छ । त्यति मात्र होइन, देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई पनि आवश्यकता अनुरूप सञ्चालन गरेर निगमले उडान सहजताका लागि काम ग¥यो ।
सङ्कटको समयमा भएका केही उडानहरूले निगमलाई भविष्यमा गन्तव्य विस्तारका लागि अवसर थपिदिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे बताउनुहुन्छ । “यसबीचमा निगमले अस्टे«लियामा गरेको उडानले भविष्यमा त्यहाँ उडान गर्ने निगमको योजनालाई थप सजिलो भएको छ,” उहाँले भन्नुभयो । निगमको जहाजले चैत १९ गते अस्टे«लियाली यात्रुलाई लिएर ब्रिसबेन उडान गरेको थियो । अस्टे«लियाको यो उडान निगम इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै लामो उडान दूरी हो, जुन करिब १२ घण्टाको थियो ।

महामारीले थप चुनौती
सङ्कटमा निगमले उद्धारदेखि मेडिकल सामग्री आपूर्तिका लागि उडान गरे पनि कोभिड–१९ का कारण निगम थप चुनौतीपूर्ण अवस्थामा धकेलिएको छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित बनेपछि त्यसको प्रत्यक्ष असर निगमले आफ्ना उडानहरूमा व्यहोर्नुपर्नेछ । यसले निगमको गन्तव्य विस्तार योजनालाई प्रभावित बनाउने नै छ भने सञ्चालन खर्च जुटाउन निगमलाई समस्या पर्ने देखिन्छ ।
त्यति मात्र होइन, दुईवटा न्यारोबडी जहाज र दुईवटा वाइडबडी जहाज खरिदका लागि लिएको करिब ३४ अर्ब रुपियाँ ऋणको नियमित किस्ता तिर्न सक्ने सामथ्र्य निगमको हुने छैन । थप जहाज खरिद गरेर उडान सङ्ख्या बढाउने निगमको योजनामा तत्काल यसले ‘बे्रक’ लगाएको छ । भूमिस्थ सेवा उपलब्ध गराएबापत निगमले गर्ने आम्दानी व्यापक खुम्चिएको छ । यद्यपि परिस्थितिको आँकलन गर्दै त्यसै अनुसार योजना निर्माण गर्दै निगमलाई ‘सर्भाइभ’ गराउने रणनीति नै अहिलेको प्रमुख प्राथमिकता बनेको घिमिरेको भनाइ छ । निगमलाई कम्पनीका रूपमा परिणत गर्ने विषय पनि महामारीले ओझेलमा पारेको छ ।

६२आँैं वर्षमा निगम
निगम बुधबार ६२औँं वर्षमा प्रवेश गरेको छ । २०१५ असार १७ गते नेपाल वायुसेवा निगमका रूपमा स्थापना भएको निगमले अहिले विदेशका विभिन्न नौ स्थानमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यस्तै थप नौवटा गन्तव्यमा उडानको योजना बनाइरहेको निगमले जनाएको छ । हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज छन् । अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएको बोइङ कम्पनीको बी ७५७ जहाज लिलाम बिक्रीका लागि राखिएको छ । आन्तरिकतर्फ दुईवटा एमए ६०, चारवटा वाई १२ र तीनवटा ट्विनअटर जहाज छन् ।

खर्च कटौतीमा लागेका छौँ

सुशील घिमिरे
कार्यकारी अध्यक्ष
नेपाल वायुसेवा निगम

कोरोना सङ्क्रमणका कारण समग्र उड्डयन क्षेत्र प्रभावित छ । निगम पनि यसबाट पर छैन । यो परिस्थितिमा निगमलाई ‘सर्भाइभ’ गराउनु नै सबैभन्दा ठूलो कुरा हो । अहिलेसम्म तलब खुवाउन सकिएको छ । अझै दुई÷तीन महिना समस्या नहोला तर सम्भव भएसम्म अन्य खर्च कटौतीमा लागिसकेका छौँ । कार्यालयका लागि आवश्यक कार्पेट, फर्निचरदेखि अन्य खर्च बन्द भइसकेको छ । एक दर्जन पाइलटमध्ये पाँच जना मात्र प्रयोग गरिरहेका छौँ । पाइलटलाई दिँदै आएको आठ÷नौ हजार डलर तलब घटाए पाँच हजार डलर मात्र दिएका छौँ । करारका कर्मचारीलाई २० दिनको मात्र तलब दिएका छौँ ।
नयाँ किसिमका खर्च हुने ठाउँ राखेका छैनौँ तर परिस्थिति यस्तै रहे भविष्यमा चुनौती भने पक्कै छ । जहाज थप गर्न अर्थ मन्त्रालयसँग कुरा गरिरहेका छौँ । त्यस्तै ऋण बापतको किस्ताका लागि पनि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । यद्यपि निगमले आफ्नो जिम्मेवारी निर्वाह गर्न हर प्रयास गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?