logo
२०८० चैत्र १६ शुक्रवार



निगमलाई किस्ता तिर्नै सकस : किस्तालाई ‘इक्विटी’मा बदल्न सरकारसँग प्रस्ताव

मुख्य समाचार |


निगमलाई किस्ता तिर्नै सकस :  किस्तालाई ‘इक्विटी’मा बदल्न सरकारसँग प्रस्ताव


विश्वास रेग्मी

काठमाडौँ, साउन २४ गते । कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।
पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई÷तीनवटा किस्ता समयमै तिर्न नसकिने अवस्थाबाट समेत ध्वजावाहक गुज्रिएको छ ।
उडान नहुँदा किस्ता तिर्नै समस्या भएपछि निगमले अर्थ मन्त्रालयसमक्ष पाँचवटा जति किस्ता भुक्तान गरिदिनसमेत प्रस्ताव गरेको छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने किस्ता सरकारले लिएर त्यसबाट निगममा स्वामित्व बढाओस् भन्ने ढङ्गबाट मन्त्रालयमा प्रस्ताव लगिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताउनुभयो ।
सरकारले केही किस्ता तिरिदिए त्यसपछि आफ्नै आम्दानीबाट तिर्नसक्ने अवस्था रहने उहाँले बताउनुभयो । तत्कालका लागि हाम्रा ‘डिफल्ट’ किस्ताहरू चाहिँ नेपाल सरकारले आफ्नो हिस्सामा लिएर आफ्नो ‘इक्विटी’ निगममा बढाओस् भन्ने चाहेको हो, उहाँले भन्नुभयो ।
जहाज खरिदसहित सरकार तथा अन्य निकायबाट समेत गरेर निगमले ३७ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । यसमध्ये ठूलो रकम जहाज खरिदकै छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका एयर बस कम्पनीका दुई थान न्यारोबडी (ए ३२०) जहाज र पछिल्लोपटक थपिएका एयर बसकै दुई थान वाइडबडी जहाज (ए ३३०) गरी निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब ३४ अर्ब रुपियाँ ऋण लिएको थियो ।
न्यारोबडी जहाजका लागि निगमले सञ्चय कोषबाट वार्षिक १०.५० प्रतिशत ब्याज दरमा आठ अर्ब ८७ करोड १६ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले न्यारोबडी जहाजको वार्षिक ब्याज दायित्व मात्रै ९३ करोड १५ लाख रुपियाँ हुन आउँछ । सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता ११ करोड रुपियाँ न्यारोबडीकै ऋणबापत बुझाउनुपर्ने दायित्व निगमको छ ।
वाइडबडी जहाजका लागि सञ्चय कोषसँगै १०.५० प्रतिशत ब्याजमा निगमले ११ अर्ब ९९ करोड ६१ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले वार्षिक ब्याज नै एक अर्ब २५ करोड रुपियाँ हुन आउँछ । त्यस्तै अर्को वाइडबडी जहाजका लागि नागरिक लगानी कोषसँग वार्षिक १०.५० प्रतिशत ब्याजमा १२ अर्ब रुपियाँ ऋण लिएको थियो जसको वार्षिक ब्याज एक अर्ब २६ करोड रुपियाँ हुन आउँछ ।
यी दुवै वाइडबडी जहाजको सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता करिब २१ करोड रुपियाँ हुन आउँछ तर निगमले त्रैमासिक रूपमा किस्ता बुझाउँदै आएको छ ।
निगमले पछिल्लोपटक गत पुसमा वाइडबडीको किस्ताबापत ६६ करोड ५५ लाख ९९ हजार र न्यारोबडीको ३४ करोड ८५ लाख रुपियाँ गरी एक अर्ब एक करोड ४१ लाख रुपियाँ किस्ता भुक्तान
गरेको थियो । निगमको समग्र ऋणबापत वार्षिक साढे तीन अर्ब रुपियाँभन्दा बढी ब्याज दायित्व रहेको अवस्था छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?