logo
२०८१ श्रावण १२ शनिवार

   नेपाल–भारत निरीक्षण संयन्त्र बैठक   



विकास आयोजनाको कार्यान्वयन सफल

मुख्य समाचार |


विकास आयोजनाको कार्यान्वयन सफल


चाँदनी हमाल

काठमाडौँ, भदौ २ गते । भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ ।
भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास आयोजनाको समीक्षा गर्दै ती आयोजना नेपालमा सफल कार्यान्वयनमा रहेको निष्कर्ष आइतबारको संयुक्त बैठकले निकालेको हो । सोमबार भर्चुअल रूपमा बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गर्नुभएको थियो ।
बैठकले नेपाल–भारतबीच भारतीय सहयोगमा निर्माण भएका र निर्माणाधीन आयोजनाको कार्यान्वयनको गहन समीक्षा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । “नेपालमा कार्यान्वयनमा रहेका धेरै आयोजना सहज रूपमा अगाडि बढेको पाइयो, कुनैमा सानातिना अवरोध छ भने त्यसलाई हटाएर अगाडि बढ्ने समहति भएको छ,” पौडेलले स्पष्ट पार्नुुभयो ।
बैठकमा नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरुण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पदार्थ पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपश्चात् नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत चलिरहेका आयोजनाको कार्यान्वयनको अवस्था बारेमा छलफल भएको थियो । पुनर्निर्माण, सिँंचाइ, विद्युत् र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत चेकपोस्ट, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि र सांस्कृतिक सम्पदा लगायतका कार्यक्रमका बारेमा समीक्षा गरिएको थियो ।
छलफलका क्रममा नेपाल–भारत दुवै पक्षले निर्माणाधीन द्विपक्षीय परियोजनाको छिटो कार्यान्वयनको आवश्यकतालाई जोड दिएका थिए । यस सम्बन्धमा कार्यान्वयनको क्रममा आएका समस्या र अवरोधलाई समयमै सम्बोधन गर्न आवश्यक कदम चाल्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।
द्विपक्षीय आयोजनाको कार्यान्वयनको निरीक्षण गर्न र समयमै सम्पन्न गर्न आवश्यक कदम चाल्न नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्नु भएपछि नेपाल–भारत निरीक्षण संयन्त्र स्थापना भएको थियो । यस बैठकमा चालूू आयोजनाको कार्यान्वयनका सम्बन्धमा छलफल हुने गर्छ । संयन्त्रको बैठक वर्षको दुई पटक बस्ने गर्छ । जस अनुसार संयन्त्रको नवाँैं बैठक पारस्परिक सहमतिमा तय भएको मितिमा हुने मन्त्रालयले जनाएको छ ।
सन् १९९० को उत्तराद्र्धदेखि नेपाल र भारतबीच जनस्तरको विकासका लागि आर्थिक तथा विकासको साझेदारी केन्द्रित हुन थालेको हो । जस अनुसार साना विकासका परियोजना र ठूला विकासका परियोजनामा विभाजित गरेर नेपालको विकासको साझेदार भारत बन्दै आएको छ । विदेशी विकास साझेदारका रूपमा भारत नेपालको पहिलो साझेदार रहँदै आएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीलाई पहिलो प्राथमिकता भन्ने नीति अङ्गीकार गर्नु भएसँगै नेपालको विकासमा नयाँ विकासको साझेदारी उच्च दिशामा अग्रसर बनेको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको सौहार्दता बढ्दै गर्दा सीमापार कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, पारवहन, कृषि तथा सुरक्षा क्षेत्रमा भारतले थप सहयोग उपलब्ध गराउँदै आएको छ ।
नेपाल र भारतबीचको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण सम्पन्न भयो । हुलाकी सडक, वीरगञ्ज र विराटनगरमा सुरक्षा चेकपोस्टको निर्माण भयो । जनकपुर–जयनगर रेल्वे परियोजना सम्पन्न हुँदै गर्दा बर्दिवाससम्म थप विस्तारको काम भयो । अर्को विराटनगर जोगवनी क्रस बोर्डर रेल्वे परियोजनामा काम भइरहेको छ । पछिल्लो समय रक्सौल–काठमाडौँ रेल्वे परियोजनासँगै नेपालको समुद्रमा पहुँच पु¥याउन भारतसँगको थप छलफल चलिरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?