logo
२०८१ बैशाख १५ शनिवार



कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

मुख्य समाचार |


कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा


प्रकृति अधिकारी

कोहलपुर (बाँके), भदौ ४ गते । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे परेको थियो ।
दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर नागरिकका तर्फबाट सजगता नअपनाइँदा यो क्रम तत्कालै रोकिने अवस्था देखिँदैन । पछिल्लो समय कडाइका साथ बन्दाबन्दी वा निषेधाज्ञाको उपाय अपनाउन स्थानीय प्रशासन वा पालिकालाई बाध्यात्मक अवस्था सिर्जना हुन पुगेको छ । कानुन उल्लङ्घन गर्नेहरू बढ्न थालेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दिनभरि आफैँ गस्तीमा हिँड्न थाल्नुभएको छ ।

मोरङ बढी प्रभावित
कोरोना सङ्क्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् र तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । मोरङमा कोरोनाका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या एक हजार १४१ पुगिसकेको छ ।
गत वैशाख ५ गतेयता हालसम्म दुई हजार २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये मङ्गलबारसम्म एक हजार १३३ जना उपचारपछि घर फर्किसकेका छन् । यस प्रदेशमा हालसम्म ७० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
उपचारका क्रममा प्रदेश १ बाहिरका चार जनाको मृत्यु भएको छ । प्रदेश १ मा सबैभन्दा बढी विराटनगर महानगरपालिका कोभिड–१९ को जोखिममा परेको छ । महानगरमा अहिलेसम्म ६९१ जना सङ्क्रमित पुगिसकेका छन् । यस महानगरपालिकामा हालसम्म ९३ जना ‘डिस्चार्ज’ भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

दिनदिनै बढ्दै
भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बुधबारसम्म सात हजार ८८३ जना कोरानाबाट सङ्क्रमित छन् । सामाजिक विकास मन्त्रालयका सचिव गोपाल बरालले सबैभन्दा बढी रौतहटमा एक हजार ५०६ जना र सिरहामा सबैभन्दा कम २८० जना सङ्क्रमित रहेको जानकारी दिनुभयो । सो मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले सङ्क्रमितमध्ये तीन हजार ७९० जना निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रदेशमा कोरोनाले ५० जनाको मृत्यु भइसकेको छ । आठवटै जिल्लामा निषेधाज्ञा जारी गरिए पनि त्यसको पूर्ण पालना भएको छैन । प्रदेशका स्वास्थ्य निर्देशक हरिश्चन्द्र साहले सावधानी नअपनाउँदा सङ्क्रमण फैलिन थालेको बताउनुभयो ।

जोखिम बढ्दो
पछिल्लो समय बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो छ । नेपालमा पहिलोपटक सङ्क्रमित पुष्टि भएको र सङ्क्रमणकै कारण ज्यान गुमाउने यसै प्रदेशका थिए । कोरोना सङ्क्रमणबाट बाग्मती प्रदेशमा सोमबार साँझसम्ममा १९ जनाको मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढार्इंले सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाइएको बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढेर भदौ २ गतेसम्म तीन हजार ३६५ पुगेको छ । तीमध्ये निको भएर ७१८ जना घर फर्किएका र दुई हजार ६२८ जना उपचाररत छन् ।

निषेधाज्ञा जारी
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म एक हजार ७६५ पुगेको छ । तीमध्ये सबैभन्दा बढी नवलपरासीपूर्वका ३४१ तथा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक जना छन् । प्रदेशमा एक हजार ५५० जना निको भएर घर फर्किएका छन् । मुस्ताङ र मनाङका सबै सङ्क्रमित तथा म्याग्दीका सङ्क्रमित ४८ जना उपचारपछि घर फर्किएका छन् । कास्कीमा २४६ जना सङ्क्रमितमध्ये १५७ जना घर फर्किसकेका छन् । यस्तै २२५ जना आइसोलेसनमा छन् । तीमध्ये सबैभन्दा बढी कास्कीमा ८७ जना छन् । यहाँ हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

फेरि ब्यँुतियो
झन्डै कोरोनामुक्त अवस्थामा पुग्न थालेको प्रदेश ५ मा पछिल्लो समय पुनः जोखिम उच्च हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. युवराज पौडेलका अनुसार अहिलेसम्म पाँच हजार २०१ सङ्क्रमितमध्ये चार हजार २७६ जना निको भएर घर फर्किसकेका छन् । अहिले कोरोना विशेष अस्पताल र आइसोलेसन केन्द्रहरूमा नौ जनाको उपचार भइरहेको छ । यस प्रदेशका १२ जिल्लामध्ये बाँके, रुपन्देही र दाङ सबैभन्दा जोखिममा छन् ।

दिनहुँ सङ्क्रमित
कर्णाली प्रदेशमा गत जेठ ५ गतेदेखि कोरोना सङ्क्रमण देखिएयता सङ्क्रमित दिनहुँजसो देखा पर्दै गएका छन् । मङ्गलबारसम्म कर्णालीमा सङ्क्रमितको सङ्ख्या दुई हजार ८७ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सबैभन्दा धेरै जेठ महिनामा ९५७ जना सङ्क्रमित फेला परेका थिए । सो महिनामा भारतबाट आउनेहरूको सङ्ख्याले गर्दा बढी देखिएको हो ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी दैलेखमा ९७८ जना रहेको जानकारी दिनुभयो । निकै दुर्गम मानिएको हुम्लामा पाँच जना र डोल्पामा चार जनामा सङ्क्रमण फेला परेको छ । यहाँ कोरोनाको उपचारपछि एक हजार ९३२ जना घर फर्किएका छन् । कोरोनाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको छ ।

निको हुने क्रम
सुदूरपश्चिम प्रदेशमा हालसम्म चार हजार ९०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये महिला एक हजार २२० जना र पुरुष तीन हजार ६८३ छन् । उपचारपछि निको भएर चार हजार २१८ जना घर फर्किएका छन् । कोरोनाले हालसम्म नौ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरूमा कैलाली, बझाङ, बाजुरा र अछामका छन् ।
(प्रदेश १ महेन्द्र विष्ट, प्रदेश २ धर्बेन्द्र झा, बाग्मती प्रदेश राममणि दाहाल, गण्डकी प्रदेश चन्द्रप्रकाश शर्मा, प्रदेश ५ दीपक ज्ञवाली, कर्णाली प्रदेश ललित बसेल र सुदूरपश्चिम प्रदेश प्रकाशविक्रम शाहको सहयोगमा) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?