logo
२०८१ बैशाख ११ मंगलवार



धुजाधुजा हुँदै पुराना अखबार

मुख्य समाचार |


धुजाधुजा हुँदै पुराना अखबार


काठमाडौँ, फागुन ३० गते । स्क्यानर मेसिन बिग्रिएपछि वर्षाैंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ । सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महìव प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।

प्रवक्ताको समेत जिम्मेवारी पाउनुभएका काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले भन्नुभयो, “स्क्यानर बिग्रिएको पाँच वर्ष भयो । त्यसपछि स्क्यानको काम ठप्प भयो । पत्रपत्रिकालाई डिजिटाइज गर्न नपाउँदा भण्डार गर्नुपरेको हो ।” त्यहाँ गोरखापत्रलगायत उपत्यकाबाट प्रकाशन हुने सबै दैनिक अखबारका साथै साप्ताहिक पत्रिका पनि राखिएका छन् ।

प्रेस काउन्सिलले २०३१ देखि २०७० सालसम्मको गोरखापत्रका हरेक अङ्कलाई डिजिटाइज गरेको छ । त्यस्तै २०६२ सालसम्मका साप्ताहिक पत्रिका डिजिटाइज गरिएको छ । त्यसयताका कुनै पनि पत्रिकाको डिजिटाइज हुनसकेको छैन । त्यो कोठामा डिजिटाइज गर्न नभ्याइएका निकै पुराना पत्रपत्रिका पनि राखिएका छन् ।

प्रवक्ता खनालले नयाँ स्क्यानर मेसिन ल्याउन दुई वर्षअघि टेन्डर भएको तर बीचमा कोभिड–१९ का कारण सो प्रक्रिया अवरुद्ध भएको बताउनुभयो । “७५ लाख रुपियाँ खर्च गरेर स्क्यानर मेसिन झिकाउँदै थियौँ तर कोभिड–१९ का कारण टेन्डरको समय सकिएकाले रद्द गर्नुप-यो,” उहाँले भन्नुभयो ।

त्यस बेला काउन्सिलका पदाधिकारीले स्क्यानर मेसिनका एक उत्पादक कम्पनीलाई दिन सोही अनुरूपको स्पेसिफिकेसन मागेको तर अर्काे कम्पनीले त्योभन्दा राम्रो मेसिन कम मूल्यमा दिने भनी टेन्डर हालेपछि कुरा बिग्रिन पुगेको थियो । काउन्सिलका पदाधिकारीको गलत नियत थाहा आएपछि सूचना विभागका तत्कालीन महानिर्देशकको निर्देशनमा टेन्डर प्रक्रिया रद्द गर्नुपरेको कुरा काउन्सिलका एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा बताए ।

काउन्सिलका प्रवक्ता खनालले पुनः टेन्डर आह्वान गर्न छलफल सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण स्क्यानर मेसिनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको बताउँदै भन्नुभयो, “त्यो मेसिनको बजार भाउ बढेको छ । त्यसैले स्टिमेट बढ्ने देखिएको छ ।” काउन्सिलमा डिजिटाइज गरेका अखबारका डिजिटल कपी किन्न पाउने व्यवस्था छ ।

प्रेस काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापनाको कार्यलाई निकै अगाडि बढाएको छ । सङ्ग्रहालय भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न प्रक्रिया अगाडि बढाइएको छ । काउन्सिलका प्रवक्ता खनालले प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको र अन्तिम प्रतिवेदन तयार हुन बाँकी रहेको जानकारी दिँदै डीपीआर अध्ययनका लागि २० लाख रुपियाँ लाग्ने बताउनुभयो । सङ्ग्रहालय स्थापनाका लागि बीउ पुँजीका रूपमा नेपाल सरकारले १० लाख रुपियाँ उपलब्ध गराएको र चालू आर्थिक वर्षमा पाँच लाख रुपियाँ विनियोजन भएको छ । गत वर्ष प्राप्त रकमले सङ्ग्रहालयमा आवश्यक पर्ने सङ्कलित सामग्री राख्न अस्थायी टहरो निर्माण गरिएको थियो ।

मुद्रण विभागबाट छपाइसम्बन्धी पुराना केही मेसिन ल्याइएको छ । त्यस्तै पुराना कम्प्युटर, प्रिन्टर, टाइप राइटर जस्ता सामग्री पनि सङ्कलन भइसकेको छ । पुराना ब्लक, छपाइमा प्रयोग हुने अक्षर लगायतका सामग्रीको पनि जोहो गरिएको छ । गोरखापत्रले पनि न्युज म्युजियम (न्युजियम) स्थापना गर्न गत वर्षदेखि पुराना सामग्री सङ्कलन गरिरहेको छ । न्युजियमको अवधारणा भएका सङ्ग्रहालय विश्वमा केही मुलुकमा मात्र छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?