logo
२०७९ श्रावण २७ शुक्रवार

   केशर महलको प्रयोगमा लापरबाही   



६० करोड खर्चेर पुनर्निर्माण गरिँदै

खुला |


६० करोड खर्चेर पुनर्निर्माण गरिँदै


काठमाडौँ, माघ २७ गते । विगतमा सरकारी निकायहरूले केशर महलको प्रयोग लापरबाही ढङ्गले गरेको पाइएको छ । कोठाभित्रका भित्तामा निरन्तरको पानीले लेउ जमेको छ, कुनै भ-याङ सद्दे छैन । भुइँमा ओछ्याइएका काठ पनि सग्ला छैनन् । छत (फल्ससिलिङ) बिग्रिएका छन् ।

पुनर्निर्माणका क्रममा गारो र भित्तामा निकै खराबी फेला परेको प्राविधिकले बताएका छन् । प्राविधिकका अनुसार केशर शमशेरका पालाका बिजुलीबत्तीका सामग्री एउटा पनि सग्लो पाइएन । भित्ता र कोठाभित्रका डिजाइनयुक्त खम्बामा कुँदिएका कला टुटफुट अवस्थामा रहेका छन् ।

पुनर्निर्माणको परामर्शदाता कम्पनी जेएसए–पीडीए–एसडब्लूएन–जेभीका आवासीय इन्जिनियर आकाशकुमार शाहले भन्नुभयो, “नियमित मर्मत सम्भार गरिएको देखिएन । यत्रो भवनको प्रयोगमा लापरबाही देखियो । ”
६० करोड रुपियाँ खर्च गरेर केशर महलको पुनर्निर्माण गरिँदैछ । इन्जिनियरहरूका अनुसार भवनलाई नियमित सम्भार गरिएको भए २०७२ सालको भूकम्पले धेरै क्षति गर्ने थिएन भने पुनर्निर्माण गर्दा धेरै सामग्री फेर्नुपर्ने अवस्था पनि हुँदैनथ्यो । यसले गर्दा पुनर्निर्माण खर्च घट्न सक्थ्यो ।

विगतमा केशर पुस्तकालयबाहेक शिक्षा मन्त्रालय र त्यस मातहतका केही निकाय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग आदि लामो समयसम्म त्यहाँ रहेका थिए । भूकम्पपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय रहेका थिए । केशर महलका दलिन र भुइँमा अधिकांशतः सल्लाको काठ प्रयोग भएको पाइएको छ । ती प्रायः मक्किइसकेकाले सालको नयाँ काठ प्रयोग गरिँदैछ । पुराना काठलाई अस्थायी टहरोमा भण्डारण गरिएको छ ।

चित्रकला जोगाउन चुनौती
केशर महलको कोठाका भित्तामा कोरिएका चित्रकला संरक्षण गर्नु उत्तिकै चुनौती छ । १० अवतारको भित्ते चित्रकला पनि छ । पुनर्निर्माणका क्रममा हरेक कोठामा रहेका भित्ते चित्रकला जोगाउन निकै सजगता अपनाइएको छ । पुनर्निर्माणको जिम्मा लिएको कम्पनी जेडसीजीआई–खानी–जेभीका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले विशेष प्रविधिको प्रयोग गरी त्यस्ता चित्रकलालाई भित्ताबाट उप्काइ पुनर्निर्माणपछि पुनः साबिककै स्थानमा राखिने बताउँदै भन्नुभयो, “भित्ताका प्रत्येक वृत्तको पनि फोटो खिचिएको छ । हरेक भित्ता र संरचना साबिकको भन्दा फरक हुनेछैन । ” नेपाली कलाकारको खोजी गरी बिग्रिएका कलाकृति मर्मत गरिँदैछ ।

छत (फल्ससिलिङ)मा प्रयोग गरिएका धातु २५ प्रतिशत जति काम लाग्दैनन् । ती बेलायतबाट झिकाइएका थिए । हरेक कोठाका फल्ससिलिङमा प्रयोग गरिएका कलाकृतियुक्त धातु फरक फरक किसिमका छन् । काम नलाग्ने धातुका प्लेटलाई नेपाली कालिगढलाई तयार गर्न लगाइएको छ । काठको दलिनमा प्रयोग गरिएका आइबिम (फलाम) पनि बेलायतबाटै झिकाइएका थिए । तीमध्ये कतिपय अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् र तिनको सट्टा नयाँ परिवर्तन गरिँदैछ । “भवन बलियो बनाउन कुनै पनि सम्झौता गरिएको छैन” उहाँले भन्नुभयो, “पुनर्निर्माणअघि अनुमान गरिएको भन्दा बढी नै वस्तु फेर्नुपर्ने देखिएको छ । ”

गत मङ्सिर २८ गते पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले अब छ महिनाभित्र सो कार्य सम्पन्न गर्ने प्रतिबद्धता शिक्षामन्त्रीसमक्ष गरेको छ । अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ । केशर महलका गारो औसतमा दुईदेखि तीन फिटसम्म चौडा छन् । विगतमा छानामा परम्परागत पातला आकारका इँटा प्रयोग गरिएकोमा भार कम गर्न अब इँटाको प्रयोग गरिने छैन । भित्तामा नटबोल्टले मोटा फलामे पातालाई कसेर त्यसमाथि फलामे जाली राखी सुर्कीले प्लास्टर गर्न थालिएको छ । त्यहीँको पुराना इँटालाई नै मेसिनले टुक्रा बनाएर सुर्की तयार गर्ने गरिएको छ । केशर महल निर्माण गर्दा प्रयोग गरिएका बिजुलीका सामग्री सुरक्षित छैनन् ।

चारैतिर सुरुङ !
केशर महल पुनर्निर्माण गर्दा त्यसको तल्लो तलामा हवास फेला परेको छ । तल्लो तलाको हरेक कुनामा हवास बनाइएको छ । टाउको झुकाएर मानिस प्रवेश गर्न सक्ने भए पनि यसको उचाइ र चौडाइ निकै साँघुरो छ ।
परामर्शदाता इन्जिनियर शाहले राणाकालीन भवनमा यस्ता हवास बनाइने गरिएको बताउनुभयो । भुइँको चिसो नआओस् भनेर छिँडीको तलामुनि खाली ठाउँ राख्ने गरिन्छ र यसलाई हवास भन्ने गरिन्छ । पुनर्निर्माणका क्रममा हवासभित्र पनि सरसफाइ गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?