logo
२०७९ श्रावण २७ शुक्रवार



मक्किन्छन्, पुनः प्रयोग हुँदैनन् पाङ्ग्रा र धमा

एक ट्रक काठबाट चारवटा पाङ्ग्रा तयार हुन्छन् । ललितपुरसम्म काठ ल्याइपु-याउँदा करिब पाँच लाख रुपियाँ खर्च लाग्ने गरेको छ ।

मुख्य समाचार |


मक्किन्छन्, पुनः प्रयोग हुँदैनन् पाङ्ग्रा र धमा


ललितपुर, फागुन ५ गते । रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षाैंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।

रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले तयार गर्ने परम्परा छ । वाराही नाइके दिलकुमार वाराहीले पुराना पाङ्ग्रा अब काम नलाग्ने भन्दै थप्नुभयो, “त्यसलाई राख्न स्थान अभाव भइरहेको छ । ती व्यवस्थित गरिदिनू भनेर गुठी संस्थानमा निवेदन दिएका थियौँ तर निवेदनको वास्ता गरिएन ।”

पाङ्ग्रा राख्ने स्थान अभाव छ । पुराना पाङ्ग्राले स्थान ओगटेपछि जावलाखेलको टहरोमा हाल प्रयोगयोग्य रहेका चारवटा पाङ्ग्रालाई जेनतेन कोचेर राखिएको छ । टहरो पूरै बन्द नभएकाले परेको पानी पाङ्ग्रासम्म पुग्ने गरेको छ । पुराना केही पाङ्ग्रा टहराबाहिर पनि त्यत्तिकै फ्याँकिएको छ ।

पाङ्ग्राका लागि आवश्यक पर्ने सानदान जातको काठ बाराको अमलेखगञ्जबाट ल्याइने गरिएको छ । रथलाई थाम्न सक्ने र गुडाउँदा नफुट्ने हुँदा त्यस जातको काठ प्रयोग गर्ने गरिएको छ । सानदानको काठ अब दुर्लभ हुँदै गएको छ । काठ ललितपुरमा भिœयाउन नाप जाँचदेखि वन कार्यालयको अनुमतिसम्मका प्रक्रिया पूरा गर्न कम्तीमा डेढ महिना लाग्ने गरेको छ । एक ट्रक काठबाट चारवटा पाङ्ग्रा तयार हुन्छ र ललितपुरसम्म ल्याइपु-याउँदा करिब पाँच लाख रुपियाँ खर्च लाग्ने गरेको छ ।

गुठी संस्थानको ललितपुर शाखाका अनुसार कटान गर्ने रुख टुङ्गो लागेपछि रुख पूजा गरिन्छ र चारवटा भेडाको बली दिइन्छ । रुख कटान गरी टुक्रा पारेपछि थप चारवटा भेडा बली दिइन्छ । त्यसपछि बोलक्षमा पूजा, पोचा, विश्वकर्मा आदि पूजा गरिन्छ र पाङ्ग्रा तयार गर्दासम्म २८ वटा भेडा बली दिने परम्परा छ ।

बाराही नाइके दिलकुमारले एउटा पाङ्ग्रा तयार गर्न दुई महिना लाग्ने गरेको बताउँदै भन्नुभयो, “२०७३ सालमा बनाइएको पाङ्ग्रालाई सुरक्षित रूपमा राख्न सके २०८२ सालसम्म प्रयोग गर्न सकिन्थ्यो भन्ने लागेको छ । त्यसैले टहराभित्रका सबै पाङ्ग्रा हटाइदिएर प्रयोगमा रहेको मात्र पाङ्ग्रा त्यहाँ राखिदिए हुन्थ्यो ।”

पाङ्ग्रा प्रायः चारदेखि पाँच वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ । २०७२ सालमा १२ वर्षे रथयात्राका अवसरमा ललितपुरको बुङ्मतीमा नयाँ पाङ्ग्रा निर्माण गरिएको थियो । १२ वर्षे रथ यात्राका बेला रथका सबै सामग्री नयाँ प्रयोग गर्ने चलन छ । त्यहाँबाट जात्रा चलाउनुपर्ने भएकाले सो एकै वर्षमा बिग्रियो । २०७३ सालमा निर्माण गरिएको पाङ्ग्रा अहिलेसम्म सुरक्षित छ र यति लामो समयसम्म कमै प्रयोगमा रहने गरेको छ ।

संस्थानको ललितपुर शाखा प्रमुख हरि सुवेदीले पाङ्ग्रा निर्माण गर्दा कानुनी व्यवधानलगायतका निकै झन्झट बेहोर्नुपर्ने भएकाले जगेडामा पुराना पाङ्ग्रा पनि राख्नुपरेको बताउँदै भन्नुभयो, “रथजात्राका बेला पाङ्ग्रा भाँचिएर धोका दिन सक्ने भएकाले जगेडा राखिएको हो । त्यसैले नष्ट नगरेका हौँ ।” यस वर्ष नयाँ धमा तयार गरिनेछ । त्यसका लागि नुवाकोटको जङ्गलमा गएर रुखको पूजा गरिएको छ । अब छिटै ल्याइने बताइएको छ । पाङ्ग्रा तयार गर्दा प्रतिपाङ्ग्रा करिब दुई लाख रुपियाँ लाग्छ । रातो मच्छिन्द्रनाथको रथजात्राका लागि बर्सेनि करिब ५० लाख रुपियाँ लाग्ने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?