भउचप्रसाद यादव
काठमाडौँ, भदौ १६ गते । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले जामको दीर्घकालीन समाधान गर्न सरकारले यस क्षेत्रमा ‘अण्डरपास तथा फ्लाइओभर’ निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ ।
‘‘अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ, त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिनेछ’’ उहाँले थप्नुभयो, ‘‘कात्तिकभित्र ठेक्का प्रक्रिया सम्पन्न हुनेछ र त्यसको छ महिनाभित्र विस्तारका सबै कार्य सम्पन्न हुनेछ ।’’
उक्त सडक विस्तारका लागि अब कुनै पनि बाधा अवरोध नरहेको स्पष्ट पार्दै उहाँले विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का साथै जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो । यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
तार भूमिगत गरिने
सो सडकखण्डलाई राजधानीकै नमुना सडकका रूपमा विस्तार गरिने दाबी गरिएको छ । डिभिजन प्रमुख नेपालीले सडक विस्तारसँगै कोटेश्वरदेखि मनहरा खोलासम्म पर्ने बिजुली र टेलिफोन लगायतका तार भूमिगत गर्ने योजना छ । प्रमुख नेपालीले थप्नुभयो, ‘‘सडक विस्तार र तारहरू भूमिगत गर्ने कार्य सँगसँगै अगाडि बढाइनेछ, यसका लागि नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग सहमतिसमेत भइसकेको छ ।’’