logo
२०८१ जेष्ठ २ बुधवार



मुस्कानलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान

मुख्य समाचार |


मुस्कानलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान


चाँदनी हमाल

काठमाडौँ, फागुन २६ गते । नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गर्नुभएको हो । त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक फरक कथा रहेको बताउनुभयो ।
तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उहाँले सुनाउनुभयो । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
सो पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “एसिड आक्रमणको पीडालाई सङ्घर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।” तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गर्नुभयो ।
नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको जानकारी दिनुभयो । पीडितलाई स्वास्थ्य उपचारदेखि उनीहरूको पुनस्र्थापनाको व्यवस्था कानुनमा गरिएको जानकारी उहाँले दिनुभयो । नेपाल सरकार कानुनको पूर्णपालनामार्फत जघन्य अपराधको नियन्त्रणमा क्रियाशील रहेको भन्दै मुस्कानको सफलताले हौसला मिलेको सुनाउनुभयो ।
अमेरिकी विदेशसचिव एन्टोनी ब्लिकनले महिला भएकै कारण उनीहरूले कामका क्रममा र अन्य गतिविधिका क्रममा विभिन्न खालको विभेद भोग्नु नपरोस् भनेर आफ्नो पीडालाई दबाउँदै हिम्मत देखाउने महिला र किशोरीलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कानको सफलताप्रति खुसी व्यक्त गर्दै अमेरिकी सरकारलाई सम्मानका लागि धन्यवाद दिनुभयो । उहाँले नेपाल सरकारले तेजाब आक्रमणविरुद्ध ल्याएको अध्यादेशलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्कानको साहसको सराहना गर्दै नेपालकी छोरीले अमेरिकी सरकारबाट सम्मान पाउनु गर्वको कुरा रहेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेजाब आक्रमणमा परेर पनि साहस देखाउने मुस्कान खातुनको प्रयासले अन्य महिला र किशोरीलाई प्रेरणा दिएको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले यस सम्मानले नेपाल र नेपाली जनता सम्मानित भएको महसुस भएको जानकारी गराउनुभयो ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले १४ वर्षको किशोर वयमा तेजाब आक्रमणमा पर्नुभएकी मुस्कान खातुनको त्यसपछिको लडाइँ निकै सङ्घर्षपूर्ण रहेको औँल्याउनुभयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले ल्याएको तेजाब आक्रमणविरुद्धको अध्यादेशले सकारात्मक प्रभाव पारेको बताउनुभयो । महान्यायाधिवक्ता अग्नि खरेलले मुस्कानको कदर गर्दै सरकारले ल्याएको अध्यादेशको पालना गर्ने उल्लेख गर्नुभयो ।
पुरस्कृत मुस्कान खातुनले यति पीडाका बाबजुद पनि तीन करोड नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगका कारण यो सम्मान पाउने अवसर मिलेको सुनाउनुभयो । यही सम्मानमार्फत नेपाललाई विश्वभर चिनाउन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
सबै बालबालिका र महिलामा हुने हिंसाविरुद्धको आवाज बन्ने सपना रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता अपराधविरुद्ध लुकेर बस्ने हैन अगाडि बढ्न चाहन्छु, मेरो गल्ती छ र सानो कोठामा लुकेर बस्नु ।” यस्ता घटनाले आफ्नो अनुहारमा सानो दाग होला तर यसले जीवनको सपना र ओठको मुस्कान खोस्न नसक्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?