चाँदनी हमाल
काठमाडौँ, चैत १३ गते । समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको हो ।
नेपालका नदी नालाबाट वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने गर्छ । यसमध्ये करिब १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतका रूपमा पुनर्भरण हुने गर्छ । जलस्रोत नीतिले नेपालमा विद्यमान तथा सीमा क्षेत्रमा रहेका नदीनालाको समेत राष्ट्रिय हितअनुरूप उपयोग गर्ने योजना सरकारले बनाएको छ । अथाह पानीको भण्डारलाई बहुआयामिक उपयोगमा बदलेर देशले विश्वमा समृद्धि र आर्थिक वृद्धिको उचाइ हासिल गर्न सक्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमा उपलब्ध भूमिगत, सतह र हिउँमुनिको पानीका मुख्य स्रोत छन् । तराईमा सबैभन्दा बढी भूमिगत पानीको स्रोत छ । रिचार्ज क्षेत्र छाडेर भूमिगत जलको उपयोग गर्न सके तराईमा खानेपानीको उपभोग र अधिकांश कृषि फाँटलाई हराभरा बनाउन सकिन्छ । जलस्रोत तथा ऊर्जा आयोगले गरेको एक अध्ययन अनुसार नेपालका झण्डै छ हजार नदीनाला छन् । यी नदीनालामध्ये ७४ प्रतिशत नेपाली भूभाग ओगट्ने गर्छ । नेपालमा निरन्तर हिउँ पर्ने क्षेत्रमध्ये पाँच हजार मिटरमाथिका २३ प्रतिशत भूभाग रहेको छ । त्यस्तै तीन हजार २५२ हिमनदीका स्रोत छन् । नेपालमा दुई हजार ३२३ वटा हिमताल रहेका छन् । तिनले ७५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।
बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरका कारण केही क्षेत्रमा पानीको स्रोत घट्दै गएको छ । हिमाली भेगका हिमनदी साँघुरिँदै गएको छ । तल्लो तटीय क्षेत्रमा सुक्खा पर्दै गएको छ । हिमाल पग्लेर बनेको हिम तालको आयतन बढ्दैछ । जसको प्रभावले समुद्रमा बढेको जल सतह र बढ्दो वाष्पीकरण सीधै नेपाल र हिमालमा ठक्कर खाँदा नेपालमा भविष्यमा अतिवृष्टि र अनावृष्टि हुने सम्भावना बढी छ । यी सबै समस्यालाई टेकेर तिनलाई अवसरमा बदल्न सके नेपालको पानी सम्भावनाको खानीका रूपमा परिणत हुनेछ । बाँध बाँधेर पानी सङ्कलन गरी दीर्घकालीन उपयोग गर्न सकिने उहाँ सुझाउनुुहुन्छ । सरकारले विभिन्न परियोजना सञ्चालन गरेर यो बाटोमा अग्रसर छ । यसरी वर्षामा सङ्कलन गरिएको पानी पिउन, उद्योगमा प्रयोग गर्न, सिँचाइ, पर्यटन विस्तारका लागिसमेत पर्याप्त हुनेछ । त्यस्ता बाँध परियोजना बनाउँदा भूकम्पीय जोखिमको मापन गरेर बनाउनुपर्छ । सरकारले अघि सारेको सुनकोसी–मरिण परियोजना जलस्रोत व्यवस्थापन र उपयोगको एउटा उदाहरण भएको ओलीले जानकारी दिनुभयो ।
नेपाल विश्वमै सबैभन्दा राम्रो ताजा पानीको स्रोत भएको देश हो । उहाँ भन्नुहुन्छ, “यहाँ हिमालको पानीसँग सीधै बोतलमा भरे पनि विदेशी मुद्रा कमाउन सक्ने क्षमता छ ।” त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा सगरमाथाको पानीको ब्रान्ड बनाएर विदेश निर्यात गर्ने विषय समावेश गरेको छ ।
सतहमा बग्ने ठूला नदी महाकाली, कर्णाली, कोसी र कालीगण्डकीको अपार पानीलाई विविध उपयोगको बाटोमा अग्रसर गराउन सकिन्छ । बहुआयामिक परियोजना सञ्चालन गरेर तत्काल ४२ हजार आगामी दिनमा समेत गरेर ८३ हजार मेगावाट बिजुली उत्पादन गरी छिमेकी मुलुकलाई निर्यात गर्न सकिन्छ । सोअनुसार तमोर ड्याम परियोजनाले ७६२ मेगावाट बिजुली निकाल्दै सुनसरी र मोरङ क्षेत्रमा सिँचाइ पर्यटन, कृषि, उद्योगसहितका योजनासँगै अघि बढाइरहेको छ ।
सरकारले जलस्रोत तथा ऊर्जा नीति २०७७ ल्याएलगत्तै यस क्षेत्रमा काम अघि बढाएको छ । जलविद्युत्मा गरिने विकासले राष्ट्रिय आर्थिक विकासका लागि आवश्यक ऊर्जाका साथै बङ्गलादेशलगायतका देशमा निकासी गरेर आर्थिक वृद्धि गर्ने योजना सरकारको रहेको जलविज्ञ सुनील पोखरेलले बताउनुभयो ।
नेपालका मुख्य तथा सहायक नदीबाट सात हजार १२५ प्रतिसेकेन्ड घनमिटर पानी बग्ने गरेकोमा पाँच हजार ४८९ प्रतिसेकेन्ड घनमिटर पानी बगेर देशबाट बाहिरिने जल तथा उर्जा आयोगको तथ्याङ्कमा उल्लेख छ ।