logo
२०८१ मंसिर ८ शनिवार



धरहराको मुख्य निर्माण सम्पन्न

मुख्य समाचार |


धरहराको मुख्य निर्माण सम्पन्न



भउचप्रसाद यादव

काठमाडौँ, वैशाख ४ गते । गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग राखिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ । साथै त्यहीँ उहाँलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । वैैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको छ भने अर्काे जडानको क्रममा रहेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो ।
सल्लाहकार मानन्धरले भन्नुभयो, ‘‘धरहराको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले रङरोगन, बत्ती जडानलगायतका काम धमाधाम भइरहेका छन् । बाँकी काम केही दिनभित्रै सकिन्छ ।’’त्यसैगरी धरहराको टुप्पोमा राखिने गजुर निर्माण भई त्यसमा अहिले ९५ तोला तीन लाल सुनको लेप लगाउने काम भइरहेको सल्लाहकार मानन्धरले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’को रूपमा रहेको धरहराको निर्माण समयमै सम्पन्न गर्न अहिले ३५० जनशक्ति अहोरात्र खटिरहेका छन् । भुइँतलासहित कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

‘मिन्ट’ र ‘अर्थ क्वेक’ सङ्ग्रहालय निर्माण
विशुद्ध पर्यटकीय स्थलका रूपमा निर्माण गरिने धरहरामा ‘मिन्ट म्युजियम’ र ‘अर्थ क्वेक म्युजियम’ निर्माण गरिएको छ । दोस्रो तलामा यी दुई म्युजियम निर्माण गरिएको छ । धरहराको २०औँ तलामा काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नका लागि ठाउँ निर्माण गरिएको छ ।
निर्माणाधीन धरहराको उचाइ भूसतहदेखि ७९ मिटर अग्लो रहेको छ । धरहराको डायमिटर ‘बेस’मा १४.२ मिटर छ जुन साँघुरिँदै साँघुरिँदै अन्तिम तलामा गएर ५.६ मिटरमा सीमित भएको छ । धरहराको डायमिटर ‘बेस’बाट दुई डिग्रीको स्लोपमा घट्दै गएको छ । धरहराको उचाइ १९९० सालमा आएको भूकम्पभन्दा पहिलेको धरहराको हाराहारीमा रहेको सल्लाहकार मानन्धरले जानकारी दिनुभयो ।

‘नढल्ने धरहरा’ निर्माण
अबको धरहरा नढल्ने धरहरा’को अवधारणा अनुसार निर्माण भइरहेको छ । ‘अर्थक्वेक रेजिलियन्ट स्ट्रक्चर’को सिद्धान्तमा निर्माण भइरहेको धरहरा भूकम्प जसरी आउँछ त्यसरी नै नाच्ने छ, भूकम्पकै ‘फ्रिक्वेन्सी’मा नाच्ने भएकाले भूकम्पले यसलाई प्रभाव पार्न सक्दैन, भूकम्पको समयमा यसमा हुन सक्ने क्षतिबारे पर्याप्त सूचना दिने प्रविधिसमेत जडान गरिने छ । जमिनको सतहदेखि ११ मिटर तल दुई मिटर गहिराइ भएको ‘स्ल्याप’ निर्माण गरिएको छ, जुन ‘स्ल्याप’ २८ देखि ३१ मिटरसम्मका ‘पाइल’हरूमा ‘रेस्ट’ गरिएका छन्, त्यसको माथिबाट मात्र धरहरा निर्माणको काम सुरु गरिएका छन्, यसरी यो धरहरा नढल्ने विश्वास गरिएको छ ।

सञ्चय कोषको दक्षिणी भाग भत्काइयो
धरहरा निर्माणका क्रममा सञ्चयकोष भवनको दक्षिण भागसमेत भत्काइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सञ्चय कोषबीच भएको सहमतिअनुसार भवन भत्काइएको हो । प्राधिकरण र सञ्चय कोषबीच जग्गा साटासाट गरिएको छ । कोषलाई प्राधिकरणले सडकतर्फ केही जमिन दिएको छ भने प्राधिकरणलाई कोषले त्यसको सट्टा भवनको पश्चिम र दक्षिण भागमा जमिन उपलब्ध गराएको छ ।

सुन्धारा पुनः सञ्चालनमा ल्याइने
धरहरा निर्माणका क्रममा केही वर्षदेखि बन्द रहेको सुन्धारालाई सञ्चालनमा ल्याइनेछ । सुन्धारामा पानीको बहावलाई सञ्चालनमा ल्याउनुका साथै अहिले बन्द रहेको सुन्धाराको पानी निकासलाई समेत सुचारु गरिनेछ । सुन्धाराको पानीलाई ताहागली–भोटेबहाल हुँदै टुँडिखेलमा खसाल्ने योजना रहेको छ । अहिलेको सुन्धारामा केही पनि परिवर्तन नगरिने तथा पुराताìिवक महìवलाई ध्यान दिँदै त्यसको मर्मतसम्भार गरिने उहाँले बताउनुभयो ।

धरहराको भग्नावशेष संरक्षण
इतिहासलाई जोगाउने उद्देश्यसहित धरहराको नवनिर्माणसँगै भूकम्पबाट क्षतिग्रस्त धरहराको भग्नावशेष (ठुटो)लाई संरक्षण गरिने जानकारीसमेत उहाँले दिनुभयो । धरहराको अहिलेको टुक्रालाई शिशाले छोपेर जस्ताको त्यस्तै राखिने उहाँले बताउनुभयो । नयाँ धरहरा हेर्न जानेले पुरानो धरहराको समेत अवलोकन गर्नेछन् । उहाँका अनुसार धरहराको ठुटोमाथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ले घेरिनेछ ।

दुईतर्फी लिफ्ट
नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ‘डिजाइन’अनुसार नवनिर्मित धरहरा जमिनमुनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुनेछ । धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एन्ड एसोसिएट्सले तयार पारेको हो ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्रीसमेत हुनेछ । धरहराको १८औँ तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्प्ले प्रदर्शन गरिनेछ । कुल २४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरिएको ‘भ्यु डेक’ निर्माण गरिनेछ, जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरेको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भए पनि २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । भीमसेन थापाले निर्माण गरेको धरहरा ६१.८८ मिटर अर्थात् २०३ फिट अग्लो थियो भने धरहरामा २१३ वटा सिँढी थिए ।
सन् २०२१ डिसेम्बर २५ तारिखसम्म धरहरा निर्माणको अन्तिम म्याद थप गरिएको छ । यस अवधिमा धरहरा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने हुन्छ । निर्धारित समयभन्दा १५ महिना बढी धरहरा निर्माणको म्याद थप भइसकेको छ । अहिलेसम्म धरहरा आयोजनाको कुल भौतिक प्रगति ६० प्रतिशत रहेको छ । अहिलेसम्म धरहरामा एक अर्ब ६७ करोड रुपियाँ खर्च भइसकेको छ । धरहराको कुल बजेट तीन अर्ब आठ करोड रुपियाँ छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनीबीच १३ सेप्टेम्बर २०१८ मा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । जीआई ईटीसी र रमन कन्सट्रक्सन कम्पनी (जेभी)ले धरहरा निर्माणको जिम्मा पाएका छन् । सम्झौता अनुसार सन् २०२० अक्टोबरभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?