logo
२०८१ जेष्ठ ३ बिहीवार



मुलुकको विकास साझा सङ्कल्प

मुख्य समाचार |


मुलुकको विकास साझा सङ्कल्प


भउचप्रसाद यादव

काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले तीन हजार सिट क्षमताको सुविधा सम्पन्न मुलुककै सबभन्दा ठूलो सो सम्मेलन केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार भर्चुअल उद्घाटन गर्नुुभयो ।
कोरोनाका कारण मानिसहरूको ज्यान गइरहेकोमा चिन्ता र दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको अभियानमा सरिक हुन सबैसँग आग्रहसमेत गर्नुभयो । कोभिडविरुद्धको नीति र सरकारको काम सही रहेको बताउँदै उहाँले मानिसको ज्यान बचाउने कुरालाई सबभन्दा महìवको विषय बनाएर सरकार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
सम्मेलन केन्द्रको पूर्वाधारबारे उहाँले भन्नुभयो, ‘‘हामीले फेरि एउटा नयाँ सफलता प्राप्त गरेका छौँ । हाम्रो उपलब्धिको थप एउटा नयाँ सिँढी थपेका छौँ । विकास र आधुनिकताको बाटोमा फेरि एक कदम अगाडि बढेका छौँ ।’’
मुलुकलाई विकासको गतिमा अगाडि बढाउने हाम्रो साझा सङ्कल्पका कारण विकासका कामहरू भइरहेको चर्चा गर्दै उहाँले कोभिड–१९ विरुद्धको हाम्रो लडाइँ सँगसँगै हाम्रा विकास निर्माणका साथै आर्थिक क्रियाकलाप र आपूर्ति व्यवस्थासहित सामाजिक जनजीवनलाई गतिशील राख्ने प्रयास अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।
मुलुककै सबभन्दा बढी क्षमता भएको यस सभाहलले मुलुकको आङ्कक्षालाई प्रतिविम्बित गरेको बताउँदै उहाँले जसरी उदाउँदो सूर्य उदाउँदै जान्छ त्यसरी नै हाम्रो अर्थतन्त्र र विकास उदाउँदै जान्छ भन्नुभयो ।
‘‘अबको केही दिनभित्रमा नै लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको सभाहल उद्घाटन हुने र यस वर्षको बुद्धजयन्ती सोही सभाहलमा हुने,’’ बताउँदै उहाँले धेरै जिल्लामा दुई हजार क्षमताका सभाहल निर्माण भएको जानकारी दिनुभयो  । ‘‘हामीले हाम्रो देश विकास गर्नुछ, तीव्र गतिमा गर्नुछ’’ भन्नुहुँदै विकासप्रति सकरात्मक भावनाले सहयोग गर्न र अगाडि बढ्न सबैसँग उहाँले आग्रहसमेत गर्नुभयो ।
कुनै पनि महामारीको पूर्वतयारी हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘एक हजार अस्पतालको क्षमता छ भने महामारीले एकैचोटि दशौँ हजार मानिसलाई सङ्क्रमित बनाइदिन सक्छ, त्यसैले अस्पतालको क्षमताभन्दा बाहिर गएर सडक पेटीको प्रयोग, पाल टाङ्नुपर्ने लगायतका कैयौँ प्रकारका समस्याहरूको सामान गर्नुपर्ने हुन सक्छ । तर यस्ता समस्या आउन नदिन हामी तीव्रताका साथ कोसिस गरिरहेको छौँ ।’’ कोरोनाको उपचारको क्रममा विकसित मुलुकहरूले समेत यस्ता समस्याको सामाना गर्नुपरेको चर्चा समेत उहाँले गर्नुभयो ।
सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले ठूला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सभासम्मेलन तथा प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको नीति अन्तर्गत काठमाडौँ उपत्यकामा तीन हजार तथा पाँच हजार क्षमताको र सातवटै प्रदेशमा कम्तीमा एक एकवटा सुविधा सम्पन्न सभाहल निर्माण भइरहेको बताउनुभयो ।
गोदावरीमा निर्माण सम्पन्न भएको सो सभाहल पच्चीस रोपनी क्षेत्रफल र ६० हजार वर्गफिटमा फैलिएको छ । कुल लागत ६५ करोड ८१ लाख ६५ हजार ४५९ रुपियाँमा सो सभाहल निर्माण भएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?