logo
२०८१ जेष्ठ १ मंगलवार



अफगानिस्तानबाट नेपालीको उद्वार जारी

एक साताको अवधिमा ७७० जना नेपाली स्वदेश फर्किए

मुख्य समाचार |


अफगानिस्तानबाट नेपालीको उद्वार जारी


चाँदनी हमाल

काठमाडौँ, भदौ ९ गते । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ ।
मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार दुबई उडानबाट ३९, टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ जना नेपाल फर्किएका थिए ।

अफगानिस्तानमा कति नेपाली छन् यकिन तथ्याङ्क कसैसँग छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत पछिल्लो दुई वर्षयता श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपाली नागरिकको सङ्ख्या तीन हजार ९१३ जना रहेको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रबाट अफगानिस्तान पुग्नेको सङ्ख्या पनि ठूलो रहेको बताइन्छ तर यसको तथ्याङ्क कसैसँग छैन ।
श्रम स्वीकृतिको म्याद दुई वर्ष हुने गर्छ । यो तथ्याङ्क २०७८ साउन २९ गतेसम्मको हो । श्रम मन्त्रालयअन्तर्गतका निकायले श्रम स्वीकृति लिनेको मात्र तथ्याङ्क राख्छ । त्यहाँबाट फर्कने वा नवीकरण गर्नेको तथ्याङ्क ऊसँग हुँदैन । परराष्ट्र मन्त्रालयले भने यसअघि अफगानिस्तानमा करिब एक हजार पाँच सय नेपाली रहेको बताएको थियो ।

श्रम मन्त्रालयका अनुसार नेपालबाट विदेशमा काम गर्नका लागि श्रम स्वीकृति दिन थालेयता १४ हजार ५६२ जना नेपाली नागरिकले श्रम स्वीकृति नै लिएर अफगानिस्तान गएको काफ्लेले बताउनुभयो । स्वीकृति लिएर गएका कतिपय यसअघि नै स्वदेश फर्किसकेका छन्, त्यसको तथ्याङ्क हुँदैन ।

अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका लागि गठित अन्तरनिकाय कार्यदलका संयोजक तथा परराष्ट्र मन्त्रालयका हरिश्चन्द्र घिमिरेका अनुसार नेपालीलाई स्वदेश फर्काउन मन्त्रालयले सबै निकायसँग समन्वय र सहकार्य जारी राखेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण दर्ता गराउने व्यवस्था गरिएअनुरूप वेब पोर्टलमा सोमबार साँझसम्म ३६१ जना नेपालीले दर्ता गराएका छन् । हालसम्म सम्पर्कमा आएकामध्ये दुई जनाको राहदानी नभएको पाइएको छ । ती दुई जनालाई यात्रा अनुमति पत्र जारी गरेरै भए पनि स्वदेश फर्काउने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?